८९ वर्षीयाले पाइन् घरमै नागरिकता 

वसन्तप्रताप सिंह

बझाङ — जिल्लामा एक वृद्धाले जीवनको उत्तरार्द्धमा नागरिकता पाएकी छन् । मष्टा गाउँपालिका-३, भातेखोलाकी ८९ वर्षीया गिठीदेवी जोशीले शुक्रबारमात्रै नागरिकता पाएकी छन् । उनलाई बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घरमै पुगेर नागरिकता दिएका हुन् ।

८९ वर्षीयाले पाइन् घरमै नागरिकता 

वि.सं १९९१ सालमा जन्मिएकी गिठीदेवीको नागरिकता नभएको र नागरिकता बनाउनका लागि सदरमुकाम आउन सक्ने अवस्था नरहेको जानकारी पाएपछि सीडीओ पाण्डेले घरमै गएर नागरिकता दिएको बताए । नागरिकताको महत्व र सरकारले दिने सेवाबारे अनभिज्ञ रहेकी उनी नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता लगायतका सुविधाबाट बञ्चित हुँदै आएकी थिइन् ।

‘वृद्धा अशक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने थाहा पाएपछि हामीले उहाँका छोरामार्फत आवश्यक प्रक्रिया पुर्‍याएर नागरिकता दिएका हौं,' सीडीओ पाण्डेले भने, ‘नागरिकता नभएकै कारण उहाँ सामाजिक सुरक्षा भक्तालगायत सुविधाबाट पनि वञ्चित भएको थाहा पाएपछि घरमै पुगेर नागरिकता दिएको हुँ ।' आमाको नागरिकता नभएको भनेर उनका ६१ वर्षीय छोरा गौरीलाल जोशीले जिल्ला प्रशाशन कार्यालयलाई जानकारी गराएको पाण्डेले बताए ।

जीवनको उत्तरार्द्धमा भए पनि नागरिकता पाएकोमा गिठीदेवीले खुसी व्यक्त गरिन् । ‘म सँगका धेरै मरिहाले बाँचेकाहरु सबैका नागरिकता छन् । भत्ता पनि पाइरहेका छन् । मेरो मात्रै नागरिकता थिएन,' उनले भनिन्, ‘आफै गएर बनाउँ भने हिँड्न सक्दैन । यो पाला त सीडीओ घरमै आएर नागरिकता दिए । अब सुविधा हुने भयो ।' उनले अब यही नागरिकताको आधारमा सामाजिक सुरक्षा भत्ताको परिचयपत्र बनाउने भन्दै बुढेसकालमा भए पनि सरकारको सुविधा पाउन लागेकोमा धेरै खुसी लागेको बताइन् ।

आमाको अवस्था बुझेर घरमै आएर नागरिकता प्रदान गरिदिएकोमा उनका छोरा गौरीलालले पनि सीडीओ पाण्डेलाई धन्यवाद दिए ।

प्रकाशित : श्रावण २७, २०८० १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?