१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

डढेलो गाउँमा सल्किँदा चार घर जले, निभाउनेक्रममा जलेर एक जनाको मृत्यु

महेश केसी

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–३ निपाने गाउँ नजिकैको जंगलमा आगलागी हुँदा स्थानीय ७० वर्षीया बुदी कामीको ज्यान गएको छ । जंगलमा लागेको आगो घरतर्फ आएपछि निभाउन खोज्दा जलेर उनको ज्यान गएको हो । 

डढेलो गाउँमा सल्किँदा चार घर जले, निभाउनेक्रममा जलेर एक जनाको मृत्यु

गाउँ नजिकैको जंगलमा आज दिउँसोबाट लागेको आगो आफ्नो घरतर्फ आएपछि निभाउन प्रयास गर्दा कामीको ज्यान गएको गाउँपालिका अध्यक्ष जनककुमार वाठाले जानकारी दिए । आगलागीका कारण गाउँका चारवटा घरमा पनि पूर्ण क्षति पुगेको छ ।

मृतक बुदी कामीका साथै अन्य युवराज विक, अनन्त विक र धनबहादुर बाहोराको घर समेत जलेर नष्ट भएका अध्यक्ष बाठाले जानकारी दिए ।

‘आगो लाग्ने क्रम अहिले पनि जारी छ । मानवीय र अन्य क्षति हुन नदिन के गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणको प्रयास गरिरहेका छौं ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले पनि यो घटनाको पुष्टि गर्दै घटनास्थालमा प्रहरी खटाएको र स्थानीय समेतको सक्रियतामा आगो निभाउने र थप क्षति हुन नदिने प्रयास भइरहेको बताए ।

खडेरी याममा आगलागीका कारण रुकुम पश्चिमका विभिन्न वन–पाखाहरुमा ठूलो क्षति भएको छ ।

प्रकाशित : वैशाख ९, २०८१ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?