१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

एउटै शैक्षिक क्यालेन्डरले शिक्षक-विद्यार्थीलाई सहज

भर्नासँगै विद्यार्थीका हातमा पुस्तक

सुर्खेत — कालीकोटको तिलागुफा–९ चिल्खायास्थित शिवालय माध्यमिक विद्यालयमा ४ वर्षअघिसम्म कात्तिकमा वार्षिक परीक्षा सकिन्थ्यो, फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो । यो वर्ष भने चैत पहिलो साता वार्षिक परीक्षा सकिएपछि झन्डै ३ साता विद्यालय बन्द भयो । आइतबारदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु गरिएको छ ।

एउटै शैक्षिक क्यालेन्डरले शिक्षक-विद्यार्थीलाई सहज

नगरपालिकाको शैक्षिक क्यालेन्डरअनुसार भात्तडीस्थित सरस्वती आधारभूत विद्यालय पनि आइतबारदेखि खुलेको छ । अत्यधिक हिमपातका कारण यी दुवै ठाउँमा कोरोना महामारी अघिसम्म कात्तिकदेखि माघसम्म बिदा दिइन्थ्यो । कर्णालीका हिमाली जिल्ला मुगु, डोल्पा र कालीकोटमा झन्डै एक दशकयता फागुनदेखि कात्तिकसम्म शैक्षिक सत्र सञ्चालन हुने गर्थ्यो ।

‘अत्यधिक चिसो हुने भएकाले सरकारले विशेष व्यवस्था गरी शैक्षिक क्यालेन्डर बनाएको थियो,’ कालीकोटस्थित तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले भने, ‘कोरोना महामारीपछिका ४ वर्षयता शैक्षिक क्यालेन्डर नै परिवर्तन गर्नुपर्‍यो ।’

यस वर्ष सबै स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । ‘गत वर्षसम्म हामीले सबै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन सकेका थिएनौं, त्यसमा पर्याप्त किताब नछापिनु, स्थानीय तहले समयमै रकम निकासा नदिनु, व्यवसायीले समयमै ढुवानी नगर्नु र विद्यालयले समयमै पाठ्यपुस्तक खरिद नगर्नुजस्ता समस्या थिए,’ केन्द्रका प्रादेशिक प्रमुख भैरवबाबु पन्तले भने, ‘चैत दोस्रो सातादेखि नै आवश्यक तयारी थालेका थियौं, २ सातामै सबै विद्यालयमा किताब पुगेको छ ।’

उनका अनुसार कक्षा ५ देखि १० सम्मका पुस्तक वितरणका लागि केन्द्रले झन्डै २५ हजार पाठ्यपुस्तक वितरणको लक्ष्य लिएको थियो । केन्द्रले प्रदेशभरि पाठ्यपुस्तक वितरण गर्न ८९ वटा पुस्तक पसललाई सूचीकृत गरेको थियो ।

हुम्लामा भने केही स्थानीय तहले फागुनदेखि नै पठनपाठन सुरु गरे पनि एकीकृत रूपमै वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्न खोजिएको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका प्रमुख भीमबहादुर कार्कीले बताए । ‘हाम्रोतर्फबाट पाठ्यपुस्तक, छात्रवृत्तिलगायत अन्य प्रशासनिक काम वैशाखलाई नै आधार मानेर गरिएका छन्,’ उनले भने, ‘बढी चिसो हुने ठाउँका पालिकाहरूले भने आफैं शैक्षिक क्यालेन्डर निर्माण गर्न खोजेको देखियो ।’

कालीकोटस्थित आधारभूत विद्यालय महाबैका शिक्षक कमल शाहीले शैक्षिक क्यालेन्डर परिवर्तन हुँदा सुरुमा केही समस्या देखिए पनि अहिले पठनपाठन सहज भइरहेको बताए ।

‘कोरोना महामारी नभएको भए फागुनबाटै पढाइ सुरु हुन्थ्यो तर अहिले वैशाखदेखि एउटै क्यालेन्डर हुँदा छिमेकी दैलेख, सुर्खेतलगायत जिल्लाका शिक्षकहरूसँग शैक्षिक क्रियाकलाप समन्वयात्मक ढंगले सञ्चालन गर्न सहज भएको छ,’ उनले भने, ‘यता विद्यालय खुल्दा अरू जिल्लामा बन्द र उता बन्द हुँदा यता पठनपाठन हुँदा शिक्षक र विद्यार्थीबीच आवश्यक समन्वय हुन पनि समस्या थियो ।’

उनका अनुसार कालीकोटको महाबै र दैलेखको महाबु गाउँपालिका छिमेकी भएकाले एक पालिकाका विद्यार्थी अर्को पालिकामा पनि अध्ययन गरिरहेका छन् । एकीकृत रूपमा शैक्षिक सत्र सञ्चालन गर्दा विभिन्न शैक्षिक र प्रशासनिक समस्या पनि हल भएको शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निमित्त निर्देशक दीपा हमालले बताइन् ।

‘फरक हावापानी हुँदा पनि शैक्षिक क्यालेन्डर फरक थियो,’ उनले भनिन्, ‘अब भने एकआपसका जिल्लाको शैक्षिक क्रियाकलाप एकीकृत रूपमा सञ्चालन गर्न, पाठ्यपुस्तकको व्यवस्थापन गर्न, शिक्षकको प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गर्न सजिलो भएको छ ।’ उनका अनुसार आइतबारदेखि नै सबै जिल्लामा भर्ना अभियान सञ्चालन गरिएका छन् ।

प्रकाशित : वैशाख ३, २०८१ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?