२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कँडेल २६ वर्षपछि शासकीय भूमिकामा

२०५५ सालमा छोटो समय संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका कँडेललाई २६ वर्षपछि कर्णालीको बागडोर समाल्ने अवसर
ज्योति कटुवाल

सुर्खेत — कर्णालीको चौंथो मुख्यमन्त्री बनेका यामलाल कँडेलका लागि संसदीय जिम्मेवारी नयाँ होइन । प्रतिनिधिसभा र प्रदेशसभामा समेत गरी उनी चारपटक सांसद भए । तर राज्यको कार्यकारी भूमिकामा भने उनले कमै मौका पाए । 

कँडेल २६ वर्षपछि शासकीय भूमिकामा

२०५५ सालमा छोटो समय संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका कँडेललाई २६ वर्षपछि कर्णाली प्रदेशको बागडोर समाल्ने अवसर प्राप्त भएको छ । यस हिसाबले २६ वर्षपछि उनको शासकीय क्षमताको परीक्षण हुँदैछ । चौंथो पटकको प्रयासमा शासकीय जिम्मेवारी पाएका उनकाअघि चुनौतीका चाङ छन् ।

उनी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगरको नगर प्रमुख निर्वाचित भएका थिए । तर, उनले दुई वर्षमै राजीनामा दिएर मध्यावधिको निर्वाचन लडे, र संसद् छिरे । तर सांसद भएपछि भने उनले फेरि नगर प्रमुखकोजस्तो कार्यकारी भूमिकामा रहेर काम गर्ने मौका पाएनन् । कर्णाली प्रदेश स्थापना भएपछि पनि ६ वर्षसम्म मुख्यमन्त्री बन्ने लाइनमा रहेर बल्ल उनी मुख्यमन्त्री बनेका छन् ।

उनले बुधबार कर्णालीको चौँथो मुख्यमन्त्रीकारुपमा शपथ लिए, र कार्यभार सम्हाले । २०७४ सालमा पहिलो दल बनेको एमाले अहिले प्रदेशमा तेस्रो दल छ । पहिलो प्रदेशसभा चुनावमा २० सिटसहित सबैभन्दा ठूलो दल भएकाले कँडेलले तत्कालीन एमाले-माओवादी गठबन्धनमा मुख्यमन्त्री दाबी गरेका थिए । तर, गठबन्धनमा कर्णाली माओवादी केन्द्रको भागमा परेपछि उनको प्रयास असफल भएको थियो ।

२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि आलोपालोबाट मुख्यमन्ती बन्ने आशामा थिए कँडेल । तर त्यो बेला सफल हुन पाएन । यस्तै २०७७ असोज २४ गते माधवकुमार नेपालले साथ छोड्दा उनले फेरि मौका गुमाए, त्यो बेला कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बने ।

२०७८ बैशाखमा कांग्रेसका मुख्यमन्त्री शाहीलाई अल्पमतमा पारेर चौँथोपटक मुख्यमन्त्री बन्न हौसिएका कँडेल एमालेका प्रकाश ज्वालासहितका चार जना सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि फेरि एकपटक पछि परे । मुख्यमन्त्री बन्ने होडमा उनले २०७९ को चुनाव केन्द्रमा नलडी प्रदेशमै उम्मेदवार भए । तर, माओवादी र कांग्रेसको गठबन्धनमा नेकपा एमाले भने कमजोर नतिजा आयो ।

चुनावपछि कांग्रेस-माओवादी केन्द्रको गठबन्धन टुटेपछि कँडेल फेरि मुख्यमन्त्री बन्ने दौडमा होमिए । तर त्यसबेला फेरि कर्णाली माओवादीकै भागमा पर्‍यो । उनले मौकै पाएनन् । पाँचौँपटक भने उनी एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका छन् ।

बुधबार पदभार ग्रहण गर्दै मुख्यमन्त्री कँडेलले निर्णय ठूला गरेर जनतालाई भ्रममा नराख्ने योजनाका साथ आफु मुख्यमन्त्रीको पदग्रहण गरेको बताए । ‘यतिका वर्ष सरकारले गरेका कामहरु राम्रोसँग हेरेको छु कसरी गर्ने, कस्ता काम गर्ने भन्ने विषयमा राम्रो ज्ञान छ,' उनले भने, ‘आश्वासन बाँड्नु भन्दा थोरै काम गर्ने तर जनताले चाहेका काम गर्ने सोच बनाएको छु ।’

प्रकाशित : चैत्र २९, २०८० १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?