कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मुगुमा गुच्ची च्याउ टिप्न चटारो

मुगु — सोरु गाउँपालिका–४ कि रत्नसोभा शाहीलाई यति बेला गुच्ची च्याउ टिप्न चटारो छ । उनी बिहानै च्याउ टिप्न जंगलतिर जाने र साँझ परेपछि घर फर्किने गरेकी छन् । च्याउबाट पैसा कमाउने लोभले रत्नशोभा घरधन्दा देखि खेतीपातीको काम छोडेर यतिबेला जंगल धाइरहेकी छन् । चैत दोश्रो सातादेखि च्याउ टिप्न सुरु गरेकी उनले आधा केजी पुर्‍याउन थालिसकेकी छन् ।  

मुगुमा गुच्ची च्याउ टिप्न चटारो

गत वर्षको भन्दा अहिले खडेरीले मनग्य च्याउ नपाइने रत्नशोभाको भनाई छ । वर्षा हुन थालेपछि जंगलमा च्याउ पाइने उनले सुनाइन् । यो वर्ष च्याउ टिपेर ३० हजार रुपैयाँ कमाउने उनको लक्ष्य छ । छायाँनाथ रारा नगरपालिका–७ कि लक्ष्मीदेवी बम जंगलमा गाईबाख्रा चराउँदै गुच्ची च्याउ संकलन गरिरहेकी छन् । 'च्याउ टिप्न सुरु गरेको दुई साता भयो । दैनिक २० देखि ३० दाना च्याउ टिपिरहेकी छु,' उनले भनिन्, 'सँगै बाख्रा पनि चराइरहेकी छु ।'

जंगलमा गुच्ची च्याउ उम्रिएपछि गाउँका अधिकांश मानिसहरु जंगल धाइरहेका छन् । सिजनमा गुच्ची च्याउ प्रति किलो १४ हजार देखि १७ हजार सम्म मुल्य पर्छ । सोरु गाउँपालिकाको नेर र ताँजा गाउँको लेकाली जंगल गुच्ची च्याउको भण्डार नै मानिने गरेको छ । नेर र ताँजा गाउँका करिव २ सय ५० घरधुरीले गुच्ची च्याउ टिपेरै ५० देखि ७० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

दुई पैसा जोहो हुने र वर्षाको घर खर्च चल्ने आशाले सोरु गाउँपालिकाको नेर, फोतु, नार्थपु, भीई, धैनकोट, कालै, रारा बस्तीका बासिन्दा डेढ महिना सम्म गुच्ची च्याउ टिप्न जंगलतर्फ धाउने गरेका छन् । मुगुम कार्मारोङ गाउँपालिकाको चितै, डोल्फू, पुवा, किम्री, माग्री, पापु, चिमाथ लगायत बस्तीका स्थानीयलाई पनि यति बेला गुच्ची च्याउ टिप्न चटारो छ । कोही रित्तै त कोही भेडाबाख्रासहित च्याउ टिप्न जंगल जाने गरेका छन् ।

कार्मारोङ गाउँपालिकाको चितै गाउँका जंगलमा अत्याधिक गुच्ची च्याउ पाउने गाउका छिटोल तामाङले बताए । निगालो, पिपल, उन्यू बढी भएको जंगलमा प्रसस्तै गुच्ची च्याउ पाइने गरेको उनको भनाइ छ ।

राति वर्षा भएर भोलिपल्ट आकाश खुलेको दिनमा झन् च्याउ पाइने हुँदा वर्षात् भएको दिनमा घरको ढोका नै बन्द गरेर स्थानीय च्याउ टिप्न जाने गरेका छन् । समुद्री सतहदेखि २८ सय मिटर उचाइमा चैत महिनामा गुच्ची च्याउ उम्रिने र २८ सय देखि ३५ सय मिटर उचाइमा जेठ महिनामा च्याउ उम्रिने गरेको नेपाल जडिबुटी ब्यासायी संघका जिल्ला अध्यक्ष मेलबहादुर शाहीले बताए ।

यहाँ संकलित गुच्ची च्याउ नेपालगञ्ज, काठमाडौ र तिब्बतसम्म पुग्ने गरेको छ ।

प्रकाशित : चैत्र २९, २०८० १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?