१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

नरहरिनाथमा पढाइ मेला

तुलाराम पाण्डे

कालीकोट — नरहरिनाथ गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारकालागि पहिलो पटक पालिकास्तरीय पढाइ मेला संचालन गरेको छ ।

नरहरिनाथमा पढाइ मेला

शनिबार गाउँपालिकाको केन्द्र कुमालगाउँमा आयोजित पढाइ मेलामा शिक्षक, अभिभावक र बालबालिकाले निर्माण गरेको स्थानीय शैक्षिक सामग्री मात्र प्रर्दशनीमा राखेनन्, कुन सामग्रीबाट कसरी बालबालिकालाई सहजै सिकाउन सकिन्छ एक अर्कालाई अवलोकन विधिबाट सिकाए पनि ।

विद्यालयबाट शिक्षक अभिभावकसँगै मेलामा गएका विद्यार्थी मध्ये कसैले निर्माण गरेका विज्ञान, प्रविधिका सामग्री देखाए त कसैले चित्र कोरे, मन परेको कथा कविताका किताब पढे, गीतगजल, देउडा, दोहोरी नाचगान गरेर रमाए । स्थानीय रमा माविमा कक्षा ३ मा पढ्ने ८ वर्षीया अनिता विश्वकर्माले आफूले बनाएको योगी नरहरिनाथको चित्र धेरैले मन पराएको सुनाइन् ।

सार्वजनिक शिक्षामा सरकारी लगानी प्रशस्तै भए पनि सिकाई उपलब्धी कमजोर रहेको अवस्थामा सुधार ल्याउन नरहरिनाथ गाउँपालिकाले अभिभावकको संलग्नतामा घरघरमा पढाइ कुना, विद्यालयमा अतिरिक्त कक्षा संचालन, शिक्षक, अभिभावक र विद्यार्थी बीच मासिक अर्न्तक्रिया र अन्तर विद्यालयमा पढाइ मेलाको आयोजना गरेको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दुर्गालाल न्यौपानेले बताए ।

‘पढाइ मेलालार्ई सिक्ने र सिकाउने माध्यमकोरुपमा लिएका छौं,’ उनले भने, ‘पढाइ मेलाले विद्यालय बीच प्रतिष्पर्धासहित एकअर्कोबाट सिक्ने सिकाउने काम भयो ।’ उनले बालबालिकामा स्थानीय सामग्रीसँग परिचित गराउँदै पठन संस्कृतिको विकास गर्न र अन्तर विद्यालयमा पढाइमा प्रयोग हुने सामग्रीबारे शिक्षकबीच अनुभव आदान प्रदान भएको सुनाए ।

५ वर्षअघि शिक्षाविद् विद्यानाथ कोइरालाको सहजीकरणमा पालिकाको शिक्षा योजना निर्माण गरेको गाउँपालिकाले बालबालिकाको सिकाई उपलब्धी सुधार्न पढाइ मेला आयोजना गरेको उपाध्यक्ष कमलकुमार शाहले बताए ।

६ मावि र १३ आधारभूत गरी १९ विद्यालय सहभागी स्टलमा सवै आर्कषक र सिकाई सामग्रीले भरिभराउ थिए । मेलामा सहभागी भएका माविमध्ये नन्दादेवी मावि कोटवाडा प्रथम, शान्ति मावि माल्कोट द्वितीय र विश्वकुना मावि गोठी तृतीय भए भने आधारभूत तहमा चौथीकोट आवि पहिलो, शान्ति आवि सुन्दरपानी लालु दोस्राे र जनजागृति आवि भाटगाउँ तेस्राे भए ।

पढाइ मेला शिक्षकहरुलाई स्थानीय शैक्षिक सामग्री निर्माण र प्रयोगमा केन्द्रित भएको नन्दादेवी मावि कोटवाडाका शिक्षक हिरामणि सिम्खाडाले बताए । उनले विद्यालयले भाषा, विज्ञान र प्रविधि, गणितीय सीप र स्थानीय पाठ्यक्रमका आधारमा सामग्री निर्माण गरेर मेलामा प्रदर्शन गरिएकाे बताए ।

प्रकाशित : माघ २८, २०८० १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?