जुम्लामा बाढीले पुलमा क्षति, आवतजावत ठप्प


जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुम्रामाडिचौरको हिमा नदी माथिको ट्रस पुल बाढीले क्षति पुर्याउँदा आवतजावत ठप्प भएको छ । पुल बगाएपछि निकै समस्या भएको स्थानीयले बताएका छन् ।


पुल नहुँदा बुम्र, धुनौली र सिफ्टीका स्थानीय नराम्ररी प्रभावित बनेको वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार तीन वर्ष पहिले पुल बनेको थियो ।
अहिले घाँस, दाउरा, स्याउला ल्याउन र गाईवस्तु चराउन निकै कठिन भएको छ । खेतीयोग्य जमिनमा पनि त्यही पुल तरेर जानुपर्ने भएकोले समस्या भएको स्थानीय खड्ग कठायतले दुखेसो पोखे ।
नजिकै पुल नभएकोले तत्काल पुल बनाउन पहल गर्न स्थानीयले माग गरेका छन् । पुल भएको स्थानबाट पाँच सय मिटर र दुई सय मिटरको फरकमा पुल भएपनि प्रभावित गाउँहरुलाईं पायक पर्दैन ।
वडाध्यक्ष भण्डारीले पुल तत्काल पुनर्निर्माण गर्न सकिने अवस्था नरहेको बताउँछन् । उनले भने, ‘पुल तत्काल बनाउन सकिने अवस्था रहेन । तर विकल्पका विषयमा वडापालिका र गाउँपालिकामा छलफल भइरहेको छ ।’
बाढी पहिरोले पुलको साथै पशुचौपायहरु समेत बगाएको छ । स्थानीय सौराम बुढाको तीन वटा गोरु, एक वटा भेडा, १० वटा कुखुरा बगाएको छ । खड्क कठायत, धनलाल बुढा र सौराम बुढाको खानेपानीको पाइप, ट्यांकी पनि बाढी पहिरोले बगाएको वडाध्यक्ष भण्डारीले बताए ।
घटनास्थलमा पुगेर प्रहरीले क्षतिको मुचुल्का बनाएर सरोकारवाला निकायमा पठाइसकेको जनाएको छ ।
प्रकाशित : भाद्र ३१, २०८० ०९:१३