२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

धावक मिरा राई रारामा

राजबहादुर शाही

मुगु — प्रसिद्ध म्याराथन धावक मिरा राईले पर्यटकीय गन्तव्य मुगुको रारामा पहिलो पटक पाइला टेकेकी छन् । अन्तराल मिडिया एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार रारा हुटुमा आयोजना गरेको रारा समिटमा भाग लिन आएकी राईले रारा ताल पुगेकी हुन् ।

धावक मिरा राई रारामा

उनी बेलुका राराताल हुटुदेखि दौडिँदै मुर्माकोट रोम रिसोर्ट पुग्छिन् भने बिहान रिसोर्टबाट दौडिएर राराताल पुग्ने गरेकी छन् ।

'अग्लो ठाउँमा अवस्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण राराले मेरो मन छोयो,' मिराले भनिन्, 'अब रारालाई म्याराथन क्षेत्रमा अघि बढाउने सोच छ ।' बुधबार राराको किनारमा मिराले मुगुका ५० जनाभन्दा बढी युवायुवतीलाई म्याराथन विषयमा प्रशिक्षण दिएकी छन् । उकाली*ओरालीमा कसरी दौडिने भन्नेबारे मिराले यहाँका युवायुवतीलाई प्रशिक्षण दिँदै ताल वरपर दौडिन सिकाइन् ।

रारा समिटमा मुगुका सांसद ऐनबहादुर शाही, जिल्ला समन्वय समिति प्रमुख मञ्जनबहादुर कार्कीसहित सोरु, खत्याड, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथरारा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष सहभागी थिए । रारा समिटमा राराको विकास सम्भावना र चुनौती विषयमा बहस गरिएको आयोजक संस्थाका अध्यक्ष जयनारायण शाहले जनाए । आगामी असोजमा रारामा आयोजना गरिने अन्तर्राष्ट्रिय म्याराथनलाई लक्षित गरी अहिले रारा समिट गरिएको उनको भनाइ छ ।

रारा समिटले राराको पर्यटकीय प्रवर्द्धनमा टेवा पुग्ने सम्भावना देखिएको सांसद ऐनबहादुर शाहीले बताए । उनले भने, 'प्रसिद्ध म्याराथन धावक मिराको रारामा आगमनले हामीलाई खुसी तुल्याएको छ ।' रारालाई म्याराथनमा परिचित गराउने मिराको ठूलो भूमिका रहेको सांसदको भनाइ छ ।

कार्यक्रममा कर्णालीमा खेलकुदको सम्भावना र चुनौती विषयमा सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीसँग बहस गरिएको थियो ।

प्रकाशित : जेष्ठ ३२, २०८० १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?