२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

मुगुको सोरु गाउँपालिकामा खाद्यान्न संकट 

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका भीई गाउँकी बाँचली नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर आइतबार सोरुकोट आएकी छन् । बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उनी एक प्याकेट खाद्यान्न लिन सोरुकोट खाद्य डिपो पुग्न बाध्य भएकी हुन् । घरमा खाने अनाज सकिएपछि चार घण्टा हिँडेर सोरुकोट खाद्यान्न लिन आएकी बाँचलीले भनिन् ‘गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन ।’ 

मुगुको सोरु गाउँपालिकामा खाद्यान्न संकट 

उनी मात्रै नभई ८ गाउँका स्थानीय खाद्यान्न खोज्दै सोरुकोट डिपोमा आएका छन् । सोरुकोट डिपोमा पनि पर्याप्त चामल नहुँदा लाइनमा बसेर पनि स्थानीयले चामल पाउन सकेका छैनन् । ‘भोकभोकै पैंतला दुखाएर सोरुकोट डिपोमा खाद्यान्न लिन आयौं’ भीई गाउँकी डल्ली डागरले दुखेसो पोख्दै भनिन् ‘एक प्याकेट चामल पाउन सास्ती भयो ।’

हिजोआज सोरु गाउँपालिकाभर खाद्यान्न अभाव चुलिएको छ । गत असोजको बाढी पहिरोले गहुँ, जौंको उत्पादन नष्ट हुँदा स्थानीयलाई अनिकालले पिरोलेको छ । ज्यालादारी गरी कमाएको पैसा बोकेर स्थानीय अनाज खरिद गर्न खाद्य डिपोदेखि ब्यापारीको दैलो चहार्न थालेका छन् । केही स्थानीयले खेतबारीमा पाकेको गहुँ, जौंबाटै गर्जो टार्न थालेका छन् ।

सोरुकोट खाद्य डिपोमा पनि पर्याप्त चामल नभएकाले गाउँघरमा भोकमरी फैलिएको सोरु गाउँपालिका–३ का वडाअध्यक्ष सिंहबहादुर धामीले बताए । सोरुकोट खाद्य डिपोमा वार्षिक खाद्यान्न कोटा नै १ हजार ५ सय क्विन्टल भएकोले पालिकाको वडा १ देखि ११ सम्मका स्थानीयलाई भोकमरी परेको बेला अनुदानको चामल पाउन मुश्किल हुने गरेको छ ।सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिडेटका प्रमुख पुस्कर भामले बताए । आउने आर्थिक वर्षबाट वृद्धि गर्न माग गरिएको उनले बताए ।


प्रकाशित : जेष्ठ २८, २०८० १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?