टिमुर उत्पादन आधा घट्यो- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिमुर उत्पादन आधा घट्यो

कान्तिपुर संवाददाता

सल्यान — टिमुरको व्यवसायिक खेती गर्दै आइरहेका बन्गाडकुपिण्डे नगरपालिका–९ सेराका पूर्णबहादुर बुढाथोकीले झन्डै २० रोपनी जग्गामा टिमुरका करीव १ हजार बोट लगाएका छन् । जसमध्ये ८ सय बोटले उत्पादन दिन्छन् । गत वर्ष उनले साढे १२ क्विन्टल टिमुर बिक्री गरी झण्डै ५ लाख रुपैयाँ आम्दानी गरे ।

गत वर्ष उनको बारीबाटै ४ हजार रुपैयाँ प्रतिक्विन्टल टिमुर बिक्री भएको थियो । उनको बारीमा अहिले बढीमा ३ क्विन्टल मात्र टिमुर उत्पादन भएको छ । बन्गाडकुपिण्डे नगरपालिका–१२ निगालचुलाका डिल्लीबहादुर घर्तीले पनि आफ्नो पाखो बारीमा झण्डै ४ सय टिमुरका बोट लगाएका छन् । गत वर्ष उनले साढे ७ क्विन्टल टिमुर बिक्री गरी ३ लाख रुपैयाँ आम्दानी गरे । यो वर्ष उनको बारीबाट एक क्विन्टल पनि टिमुर उत्पादन भएन । ‘यो वर्ष टिमुर नै फलेन, टिमुर नफलेपछि जीविकोपार्जनमै समस्या हुने देखियो,’ उनले भने, ‘यही व्यवसायबाटै ६ जनाको वर्षभरिको खर्चको जोहो हुन्थ्यो, २ छोरालाई दाङमा पढाइरहेको थिए ।’ उनले अन्नबाली मासेर टिमुर उत्पादनमा लागे पनि यो वर्ष उत्पादन नहुँदा परिवार कसरी पाल्ने भन्ने चिन्ता लागेको बताए ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष टिमुर उत्पादन झण्डै ५० प्रतिशत घटेपछि जिल्लाका किसानलाई जीविकोपार्जनमा समस्या भएको छ । जिल्लाका १ सय ८ किसानले फार्म दर्ता गरेरै व्यावसायिक रुपमा टिमुर खेती गर्दै आइरहेको कार्यालयको तथ्यांक छ । पर्याप्त वर्षा नहुँदा र ढुसी रोगका कारण टिमुर उत्पादन घटेको कार्यालयका प्राविधिक रोशन शर्माले बताए । उनका अनुसार फल फल्ने बेलामा वर्षा नभएको र फलेका फल पाक्ने समयमा अत्यधिक वर्षा भएका कारण ढुसीको प्रकोप देखिएको हो ।

बारीमा लगाएको करिब १ सय बोटमा उत्पादन नै नभएपछि यो वर्ष मसलाको रुपमा प्रयोग गर्ने टिमुरसमेत नभएको सिद्धकुमाख गाउँपालिकाको माझखर्कका नेत्रबहादुर बस्नेतले बताए । उनले पनि टिमुरबाट गत वर्ष १ लाख रुपैयाँ आम्दानी गरेका थिए । ‘अलिअलि टिमुर फलेको थियो, सबै चराले खाईसके,’ उनले भने, ‘टिमुर बिक्री गरेको रकमबाट नुन, तेल र चामलको खर्च जुट्थ्यो, यसपालि त घरखर्च चलाउनै मुस्किल हुने देखियो ।’

यो वर्ष जिल्लाका सामुदायिक वनहरूमा उत्पादन हुने टिमुरको उत्पादनसमेत घटेको डिभिजन वन कार्यालयका प्राविधिक विजय पुलामीले बताए । उनका अनुसार अहिले जिल्लाभरि उत्पादन भएको टिमुरको परिणामबारे तथ्यांक संकलन भइरहेको छ । गत वर्ष ५ सय मेट्रिक टन टिमुर उत्पादन भएको थियो । त्यसमध्ये करिब २ सय मेट्रिक टन विभिन्न सामुदायिक वनमा उत्पादन भएको र ३ सय मेट्रिक टन टिमुर किसानले उत्पादन गरेको उनले जानकारी दिए । उनले यो वर्ष करिब ४० देखि ५० प्रतिशत उत्पादनमा घटेको अनुमान गरे । जिल्लामा टिमुरबाट बर्षेनि १६ देखि २० करोड रुपैयाँ भित्रिने गरेको उनको भनाइ छ । उनका अनुसार सल्यानमा उत्पादित टिमुर नेपालका प्रमुख सहरसहित भारत र फ्रान्समा समेत जाने गरेको छ ।

प्रकाशित : माघ २२, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

स्वरूप फेर्दै अमरगढी

डीआर पन्त

डडेलधुरा — वर्षौंदेखि साँघुरो रहेको डडेलधुरा बागबजारको सडक चौडा गर्ने काम सुरु हुन थालेको छ । बागबजारदेखि बगरपाटासम्मको आधा किलोमिटर सडकमा पर्ने भवन हटाउन लगत लिने काम सम्पन्न भएको छ । सडकमा पर्ने भवनको मुआब्जाका लागि सरकारले पहिलो चरणमा २५ करोड बजेट छुट्याएको छ । यसैगरी नगरभित्रका विभिन्न गाउँमा जाने सडकहरू धमाधम कालोपत्रे हुने काम जारी छ ।

बजारको फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्थापन भएको छ । आधुनिक बसपार्क निर्माणका लागि पर्यावरणीय प्रभाव मूल्यांकनको काम पनि सुरु भएको नगरपालिका कार्यालयले जनाएको छ । नगरभित्रका पर्यटकीय गन्तव्यको विकासका लागि गुरु योजना बनेको छ । लामो समयपछि सुदूरपश्चिमप प्रदेशका ९ वटै जिल्लाको केन्द्रमा रहेको डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिकाले आफ्नो स्वरूप फेर्न थालेको हो ।

कुनै समय बझाङ, बैतडी, दार्चुलाको पूर्वी भेगका बासिन्दाको तराई झर्ने प्रमुख पैदलमार्गका रूपमा प्रयोग हुने अमरगढी नगरपालिका पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको ट्रान्जिट प्वाइन्टका रूपमा विकसित हुन थालेको छ । तराईदेखि सडक यातायात जोडिएपछि बिस्तारै सहरीकरण हुन थालेको अमरगढी नगरपालिकाको अहिलेसम्म गरिसक्नुपर्ने धेरै काम गर्न सकेको छैन ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड, साइपाल हिमाल, बडिमालिका र रामारोशनलगायतका क्षेत्रको प्रवेशद्वारका रूपमा डडेलधुराको अमरगढी नगरपालिक हाल आएर पर्यटकीय गन्तव्यका रूपमा विकसित हुन थालेको हो । ‘सुदूर पहाडका ‘पर्यटकीय गन्तव्यको प्रवेशद्वार मात्र होइन पहाडी जिल्लाप्रवेश गर्ने प्रमुखद्वार पनि अमरगढी नै हो,’ स्थानीय होटल व्यवसायी दीपक महरा भन्छन्, ‘धेरै अगाडि भइसक्नुपर्ने पूर्वाधार विकासका काम ढिलो भए पनि सुरु हुन थालेका छन् । बजारको व्यवस्थापनसमेत नगर क्षेत्र र आसपासमा रहेका प्रमुख पर्यटकीय गन्तव्यको विकासमा पनि नगरपालिकाले ध्यान पुर्‍याउन आवश्यक रहेको छ ।’

तराईदेखि १ सय १६ किलोमिटर दूरीमा रहेको अमरगढी हालका वर्षमा नगरपालिका बाह्य तथा आन्तरिक पर्यटकका लागि गर्मीयाममा प्रमुख गन्तव्य हुन थालेको छ । छिमेकी भारतीय सीमावर्ती प्रदेशबाट पनि गर्मीको समयमा डडेलधुरा आउने पर्यटकहरूको संख्या बढ्दै जान थालेको पनि महराले बताए ।

दशकौंअघि विश्वसम्पदा सूचीमा सूचीकृत उग्रतारा मन्दिर, नेपाल एकीकरण र नेपाल अंग्रेज युद्धको जीवित सामरिक अमरगढी किल्ला, २० किलोमिटर नजिक नेपाली भाषाको उद्गमस्थल अजयमेरु कोट यहाँ छन् । ११ वटा हिमालको दृश्यावलोकन गर्न सकिने कश्या टाकुरा, ३ किलोमिटर दूरीमा रहेको प्रसिद्ध घटालथान मन्दिर, प्राचीन रावलतोली गुफादेखि महाभारत पर्वत शृंखलाभित्र पर्यापर्यटनका थुप्रै पर्यटकीय सम्भावना अमरगढी नगरपलिकामा छन् ।

‘नगरपालिकाको समग्र पर्यटकीय सम्भावनाको विकासका लागि गुरुयोजना निर्माण भएको छ,’ अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीले भने, ‘पहिलो प्राथमिकतामा बजार व्यवस्थापन, बसपार्क निर्माण, सडक चौडा गर्ने काम र फोहोर व्यवस्थापनको स्थायी समाधानको काम सुरु भएको छ ।’ उनका अनुसार सडक चौडा गर्ने कामका लागि सबैभन्दा ठूलो समस्या क्षतिपूर्तिको मुआब्जा रहेको थियो । ‘त्यसका लागि संघीय सरकारले बजेट समेत निकासा गरिसकेका कारण केही महिनाभित्रै सडक चौडा गर्ने काम सुरु हुन्छ,’ उनले भने । बसपार्क निर्माणका लागि नगरपालिकाको डकले भन्ने ठाउँमा काम सुरु भइसकेको पनि नगरप्रमुख जोशीले जानकारी दिए ।

दोस्रो चरणमा अमरगढी किल्लाको विकास, ११ वटा हिमालको दृश्यावलोकन गर्न सकिने कश्या टाकुरामा भौतिक पूर्वाधार निर्माण, प्रसिद्ध घटाल थान क्षेत्रमा आधुनिक बाँधसँगै ताल निर्माणको योजना छ । अमरगढी किल्लादेखि अजयमेरु कोटसम्म सहज रूपमा पुग्न सकिने गरी सडक निर्माण, सिटी हल निर्माण, बजारका विभिन्न क्षेत्रमा सार्वजनिक शौचालयको निर्माण, नगर क्षेत्रमा आधुनिक खेल मैदान निर्माण जस्ता कार्यक्रम नगरपालिकाले तयार गरेको प्रमुख जोशीले बताए ।

सडक विस्तारदेखि अन्य विकास निर्माणका काममा वर्षौंदेखि समाधान हुन नसकेका जटिल समस्या समाधान गर्न सर्वपक्षीय सहमति जुटाउनुपर्ने प्रमुख चुनौती रहेको पनि प्रमुख जोशीको भनाइ छ । पर्यटकीय सम्भावना मात्र नभई पश्चिम सेती र पञ्चेश्वर जस्ता ठूला विद्युत् परियोजना निर्माण सुरु हुने हो भने अमरगढी पहाडी जिल्लाको व्यस्त सहरी क्षेत्रका रूपमा विकसित हुन सक्ने सम्भावना छ । त्यसैअनुरूप ३० वर्षपछिसम्मको सम्भावनालाई हेरी विकासको गुरुयोजना बनाइनुपर्ने विज्ञहरूले अमरगढी नगरपालिकालाई सुझाव दिएका छन् ।

डडेलधुरा सदरमुकामदेखि डेढ घण्टाको दूरीमा रहेको पाटनसम्म सडकको स्तर सुधार गर्न सके डडेलधुरा पुग्न हवाईमार्गको सहज पहुँच हुन सक्छ । पछिल्लो समय मेडिकल कलेजको स्थापनाका लागि काम सुरु भएपछि अमरगढी प्रदेशका ७ वटा पहाडी जिल्लाका लागि मेडिकल हवका रूपमा पनि विकसित हुने देखिएको छ ।

दशकअघिको तुलनामा अहिले अमरगढीमा सुविधासम्पन्न थुप्रै होटल निर्माण भएका छन् । दुईवटा आधुनिक रिसोर्ट र मध्यम खालका दुई दर्जन बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् । हाल खानेपानीको प्रमुख समस्या पनि समाधान भएको छ । गतवर्ष झन्डै ४० करोड बढीको लगानीमा अमरगढीमा निर्माण भएको खानेपानी आयोजनाको थप विस्तार जारी छ ।

प्रकाशित : माघ २२, २०७९ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×