कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छतमा ४० लाखको सोलार, तर मोबाइलको टर्च बालेर पूजा गर्नुपर्छ

कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा हजारौं धर्मालम्बीहरु उज्यालो भविष्यको कामना गर्दै पूजा आराधाना गर्छन् । तर त्यही क्षेत्र लामो समयदेखि अन्धकारमा छ ।
डीबी बुढा

जुम्ला — जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा ४० लाख रुपैयाँको सौर्य उर्जा जडान गरिए पनि मन्दिरभित्र अँध्यारोमै पूजा गर्नुपर्ने बाध्यता छ । पूजारीले मोबाइलको टर्च बालेर मन्दिरमा पूजा चलाइरहनु परेको छ । मन्दिरमा हजारौं धर्मालम्बीहरु उज्यालो भविष्यको कामना गर्दै पूजा आराधाना गर्छन् । त्यही क्षेत्र लामो समयदेखि अन्धकारमा छ ।

छतमा ४० लाखको सोलार, तर मोबाइलको टर्च बालेर पूजा गर्नुपर्छ

‘मन्दिरको छतमा लाखौंको सोलार जोडेको देखिन्छ तर मन्दिरभित्र टर्च बालेर पूजा गर्नु परिरहेको छ । यो जतिको दुःख लाग्ने कुरा के होला ?’ मन्दिरका पूजारी रमेश न्यौपानेले भने ।

गत जेठ महिनामा कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालयले डिभिजन वन कार्यालय हुँदै मन्दिरमा सौर्य उर्जा जडानको लागि रकम पठाएको थियो । वन कार्यालयले ठेकेदार मार्फत सौर्य उर्जा जडान गर्‍यो तर सौर्य उर्जा जोडेको दिनदेखि नै यहाँ बिजुली बलेको छैन । सिस्टममा कहाँ, कहिले कसरी खराबी आइपुग्यो निगरानीसमेत गरेको देखिँदैन ।

चन्दननाथ मन्दिरका पूजारी रमेश न्यौपानेले भने ‘आठ महिनादेखि अँध्यरोमै पूजा चलाइरहेको छु । रातिमा अँध्यारोमा पूजा गर्न निकै कठिन छ । मोबाइलमा चार्ज हुँदा मोबाइलको टर्च बाल्छु । चार्ज गर्न सकिएन भने मन्दिरमा बालिएको दियोको भरमा पूजा चल्छ । यो भन्दा बिडम्वना के हुन सक्छ ?'

मन्दिरमा उज्यालोको व्यवस्था नहुँदा मोबाइलको टर्च बालेर भए पनि जेनतेन पूजा चलाउनुको विकल्प नरहेको पूजारी न्यौपानेको गुनासो छ ।

मन्दिरले भने मासिक तीन हजार बिजुली महसुल तिर्दै आएको राष्ट्रिय प्रसारणलाइन समेत जडान गरेको छ । जोडले हाबा चल्दा, आकाश गडगडाउँदा बिजुली निभ्छ । महिनामा अधिकांश दिन बिजुली आइरहेको छैन ।

मन्दिरमा राति २ बजेदेखि नै चहलपहल सुरु हुन्छ । ३ बजेदेखि पूजापाठ सुरु गर्नुपर्छ । तर त्यही बेलामा बत्ती नहुने गरेको भन्दै स्थानीयहरूले गुनासो गरेका छन् । 'जतिबेला बत्ती आवश्यक पर्ने हो त्यही बेला बत्ती बल्दैन भने देखावटी रुपमा जडान भएको लाखौं मूल्यको बिजुली के काम ?' पूजारी न्यौपानेले प्रश्न सोधे ।

चन्दननाथ भैरवनाथ गुठी समितिको कार्यालयका प्रमुख रत्नप्रसाद आचार्यका अनुसार गत जेठ महिनामा मात्र ४० लाख रुपैयाँ बराबरको सौर्य उर्जा जडान भए पनि काम गरेको छैन । न गुठी समितिमा वारेन्टी कार्ड नै दिइएको छ, न त कुनै ग्यारेण्टी । उनले भने,‘जोडेको दिनदेखि यति ठूलो रकमले जोडिएको सौर्य उर्जाले काम नगर्नु भनेको पटक्कै राम्रो होइन । ’

बिजुली नहुँदा मन्दिरमा जोडिएका सबै विद्युतीय उपकरण बन्द छन् । गुठी समितिले राखेका प्राविधिक चक्रबहादुर महतले इन्भटरले पनि काम नगर्दा बिजुली बाल्न नसकिएको बताए । उनका अनुसार इन्भटर बिग्रेको भन्दै मर्मत गरेर समेत ल्याइयो । तर बिजुली बल्न सकेको छैन ।

गुठी समितिले पटकपटक सौर्य उर्जा सञ्चालनका बारेमा डिभिजन वन कार्यालय जुम्लालाई पत्राचार गरेको छ । तर वन कार्यालयबाट कुनै प्रतिक्रिया आउन सकेको छैन । बिजुली नहुँदा सीसी क्यामरा सञ्चालनमा छैनन् । मन्दिरको प्रभावकारी सुरक्षाको लागि भन्दै राखिएको सीसी क्यामरा नै बन्द हुँदा असुरक्षा बढ्दै गएको गुठी समितिले जनाएको छ । प्रमुख आचार्यका अनुसार ८ वटा सीसी क्यामरा, एक ल्यापटप, डेक्सटप र फोटोकपी मेसिन पनि बिजुली अभावकै कारण सञ्चालनमा आएका छैनन् । जसकारण दैनिक कामकाज समेत प्रभावित बनेको छ ।

मन्दिरमा सुरक्षाका लागि चाहिने उपकरण सबै छन् । प्रहरी पनि खटाइएको छ तर विद्युतीय उपकरण चलाउने बिजुली नहुँदा समस्या देखिएको बताइन्छ । बिजुली नहुँदा जोसुकै पनि जुनसुकै समयमा मन्दिर प्रवेश गर्नसक्ने देखिन्छ ।

गुठी समितिले भने मन्दिरमा बिजुली नहुँदा हुने क्षतिको सम्पूर्ण जिम्मेवार वन कार्यालय र ठेकेदार हुनुपर्ने तर्क गरेको छ । बिजुली नभएको मौका छोप्दै २०७३ मंसिर ११ गते राति चन्दननाथ मन्दिरको मुख्य मूर्तिसहित २८ वटा मूर्ति चोरी भएका थिए । अहिलेसम्म पूरातात्विक महत्त्वका दुई मूर्ति भेटिएका छैनन् ।

एक सय टहराको लागि बालिने भनिएको सौर्य उर्जा नबलेपछि मुख्य मन्दिर अन्धकार छ । टुकीमारा या टर्च बालेर पूजाआजा चलाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । सोलारको रेखदेखका लागि भन्दै चक्रबहादुर महतलाई गुठी समितिले प्राविधिक कर्मचारीका रुपमा राखेको छ । उनको तलब मासिक ८ हजार तोकिएको छ । तर बिजुली नबल्दा प्राविधिक कर्मचारीलाई तबल खुवाउने काम मात्रै भएको स्थानीयको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी तथा मन्दिरका संरक्षण मुकेशकुमार केसरीले भने आफूलाई मन्दिरमा बिजुली बले नबलेको कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने,‘४० लाख खर्च गराएर जडान भएको सौर्य उर्जा बाल्न तत्काल निर्देशन दिन्छु । मन्दिरमा बिजुली बालिनुपर्छ । झलमल्ल उज्यालोमा पूजारीले पूजापाठ गर्न पाउनुपर्छ । तत्काल म पहल गरिहाल्छु । ’

गुठी समितिका प्रवक्ता जीतबहादुर महतका अनुसार बिजुली आएको बेला सोलार बन्द गर्ने र बिजुली नआएको बेला सौर्य उर्जाको प्रयोग गर्ने व्यवस्था मिलाइएको थियो । तर इन्भटर बिग्रँदा समस्या आएको उनले बताए । उनका अनुसार डिभिजन वन कार्यालयले तत्काल अर्को इन्भटर किनेर राख्ने जनाएको छ

प्रकाशित : माघ १५, २०७९ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?