१० वर्षदेखि पुल अलपत्र, ठेकेदारलाई साढे ८ करोड जरिवाना- कर्णाली - कान्तिपुर समाचार

१० वर्षदेखि पुल अलपत्र, ठेकेदारलाई साढे ८ करोड जरिवाना

हरिहरसिंह राठौर

जाजरकोट — मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण गर्ने जिम्मा लिएको कम्पनीले १० बर्षसम्म पनि पुल निर्माण नगरेपछि सरकारले साढे ८ करोड रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय दैलेखले पुल निर्माणको जिम्मा लिएको वाईपी कन्स्ट्रक्सन प्रालिलाई जरिवाना गर्दै ठेक्का तोडेको हो ।

निर्देशनालयका अनुसार कन्स्ट्रक्सनले जाजरकोटको भेरी नगरपालिकास्थित कुदुबाट पश्चिम रुकुमको चौरजहारी नगरपालिका जोड्ने भेरी नदीमा पुल निर्माणको जिम्मा लिएको थियो । तर उसले दुवैतर्फ सामान्य पिलर मात्रै खडा गरी निर्माण कार्य अलपत्र पारेको। निर्देशनालयले जनाएको छ । पटकपटक लिखित ताकेता गर्दा पनि निर्माण कार्य गर्न अटेर गरेपछि गत मंसिर २९ गतेको विभागीय निर्णय अनुसार ठेक्का सम्झौता रद्ध गरिएको हो । कम्पनीले २०६९ सालमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सार्वजनिक खरिद नियमावली–२०६३ अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीहरु बाटै उक्त योजनाको रकम असुल उपर गर्ने व्यवस्था रहेको छ । सोही नियमावली अनुसार उक्त ठेक्काको जम्मा रकम ८ करोड ५७ लाख ९५ हजार ६ सय २६ रुपैयाँ जरिवाना गरिएको निर्देशनालयका डिभिजन प्रमुख इन्जिनियर युवराज पोखरेलले बताए । उनका अनुसार निर्माण व्यवसायीले पेश्कीको ब्याज, अतिरिक्त रकम र क्षतिपूर्तिवापतको रकम तिर्नुपर्ने भएको हो ।

निर्माण व्यवसायीले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र नेपाल सरकारको राजश्व खातामा रकम जम्मा गर्नुपर्ने आयोजनाले जनाएको छ । ‘अब नयाँ लागत स्टमेट तयार हुँदैछ, कति रकममा पुल बन्छ ? सबै रकम सोही निर्माण कम्पनीले तिर्नुपर्ने प्रावधान छ,’ डिभिजन प्रमुख पोखरेलले भने, ‘जरिवाना र लागत रकम तिर्न आनाकानी गरे सरकारी बाँकीसरह जायजेथा (अचल सम्पती) बाट समेत असुल उपर गर्ने कानुनी प्रावधान छ ।’

पुलका दुई वटा पिलर मात्र हालेर निर्माण कम्पनीले काम अलपत्र छोडेको पारेको हो । ३ बर्षमा काम सम्पन्न गर्ने गरी १८ करोड स्टमेटको यो ठेक्का वाईपी कन्ट्रक्सनका प्रोपराइटर राजु श्रेष्ठले सम्झौता गरेका थिए । पुल नबन्दा सडक आयोजनाको स्तरोन्नति र कालोपत्रेको कामसमेत प्रभावित भएको आयोजनाले जनाएको छ ।

प्रकाशित : माघ १२, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्

होटलको ‘हब’ बन्दै नेपालगञ्ज

व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायमा १२ अर्बभन्दा बढी लगानी भएको छ
रुपा गहतराज

नेपालगन्ज — पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हबको रुपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बत मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटलमा लगानी बढेको हो ।

होटल व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायमा १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउने क्रम जारी छ ।

होटल व्यवसायी संघका अनुसार जिल्लाभरि साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा छन् । जसमा पाँच हजार कोठा छन् भने एकै पटक १० हजार जना सम्मलाई राख्न सकिने क्षमता छ । जिल्लामा पछिल्लो समय ठूलो लगानीमा तारे होटल खोल्ने क्रम पनि बढेको छ । बाँकेमा हालसम्म दुई वटा पाँचतारे होटल खुलिसकेका छन् भने दुई वटा चारतारे होटल छन् । बाँकी तीनतारे र अन्य सुविधासम्पन्न पर्यटकस्तरीय होटल छन् ।

पछिल्लो समय भारतीय पर्यटकलाई नेपालगञ्ज हुँदै मानसरोवर जान सजिलो हुने भएपछि ती पर्यटकलाई लक्षित गरी पर्यटकस्तरीय सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको हो । मानसरोबर मात्र नभएर नेपालगञ्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको व्यवसायी बताउँछन् ।

होटलको संख्या बढ्दै जाँदा व्यवसायी होटल स्तरोन्नतिका साथै थप सेवा विस्तारमा लागेको सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक केशव न्यौपानेले बताए । आफूहरूले पनि दुई हजार जना क्षमताको ब्यांक्वेट हल बनाइसकेको बताउँदै नेपालगञ्ज र कोहलपुर बजारका दृश्यावलोकन गर्न मिल्ने गरी होटलको आठ तलामा ‘रुफटप रेस्टुराँ’ सञ्चालन गरिरहेको उनको भनाइ छ ।

पर्यटनको सम्भावना

बाँकेमा पर्यटन व्यवसायको ठूलो सम्भावना छ । यहाँका पर्यटकीय स्थलहरूको उचित संरक्षण सम्बर्द्धन हुन सकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्छ । पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिर, बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, विभिन्न ताल तलैया, वाटरपार्क, गाभर उपत्यका होमस्टेमा विभिन्न समुदायका संस्कृति, प्रांगारिक कृषि प्रणाली, जैविक पार्कलगायत पर्यटक बहलाउने थुप्रै मनमोहक दृश्यहरू छन् ।

जसलाई संरक्षण र सम्वर्द्धन गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने जिल्लाको समृद्धिको आधार तय गर्न पर्यटन क्षेत्रले टेवा दिने देखिन्छ । जिल्लामा धार्मिक पर्यटनको समेत ठूलो सम्भावना छ । यहाँ बागेश्वरी मन्दिर, जुगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बाजस्ता विभिन्न धर्म संस्कृतिका आस्थाका केन्द्रहरू रहेको धर्मगरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए ।

त्यस्तै, अन्य पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ विहार, वाटरपार्क आदि पर्यटकका लागि गन्तव्यस्थल हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछन् । पछिल्लो समय पर्यटक आकर्षित गर्न यहाँ निजी क्षेत्रको लगानी बढ्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यको भनाइ छ । पर्यटक आकर्षित गर्न यहाँका विभिन्न स्थानमा डेढ अर्ब लगानीमा तीनवटा वाटरपार्क सञ्चालनमा छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बाले गाउँमा मानसरोवर एम्युजमेन्ट पार्क एन्ड रिसोर्टले ‘नेपालगञ्ज थ्रिलर जोन’ वाटर पार्क निर्माण गरेको सञ्चालक मिश्रले बताए । त्यस्तै, राँझा विमानस्थल नजिकै ‘वन्डरल्यान्ड वाटर पार्क’ निर्माण भएको छ भने अर्को कोहलपुरको हवलदारपुरमा मानसरोवर होलिडे इनमार्फत् वाटर पार्क र मनोरञ्जन केन्द्र निर्माण भएको छ ।

व्यवसायीहरु नेपालगञ्जमा पर्यटकको बसाइँ लम्ब्याउन पर्यटकीयस्थलमा लगानी बढाउन जरुरी भएको बताउँछन् ।

प्रकाशित : माघ १२, २०७९ १९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×