२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नयाँ वर्षको स्वागतमा पर्यटकीय तथा धार्मिक स्थलहरुमा भीड

माधब अर्याल

पाल्पा — नयाँ वर्षको स्वागतमा पाल्पाका पर्यटकीय तथा धार्मिकस्थलमा भीड लागेको छ । जिल्लाका पर्यटकीय स्थल तेल्घा, रम्भादेवी, बंशगोपाल पार्क, तालपोखरा, कौडेलेक, रानीमहल र श्रीनगरडाँडामा नयाँ वर्षको स्वागतमा भीड लागेको हो । श्रीनगरडाँडामा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकले भरिभराउ भएको स्थानीय बासिन्दा तिलक थापाले बताए । 

नयाँ वर्षको स्वागतमा पर्यटकीय तथा धार्मिक स्थलहरुमा भीड

‘अघिल्लो वर्षमा भन्दा यसवर्ष अधिक भीड रहेको छ,’ उनले भने, ‘घुम्ने संस्कृतिको विकास भएको हो कि भन्ने लागेको छ ।’ नयाँ वर्षको पहिलो दिन शनिबार बिहानैदेखि श्रीनगरडाडाँमा मानिसको चहलपहल बढेको उनले बताए । नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक आएका हुन् । परिवार, समुह, नवजोडी श्रीनगरमा आएको तानसेनका अर्जुन न्यौपानेले बताए । नयाँ वर्ष मनाउन विभिन्न कार्यक्रम गर्ने, पिकनिक खाने र घुम्न आउनेहरुले श्रीनगरको रौनक बेग्लै बनाएको उनले बताए ।

‘आन्तरिक पर्यटकको घुँइचो लागेको छ,’ उनले भने । श्रीनगरडाँडा पुग्नेले पानीको समस्या बेहोर्नु परेको गुनासो राखे । पसल राखेकाले किनेर खान पाइएको बताए । यहाँ धेरै वर्षदेखि नियमित आउनेहरुको बढी भीड लाग्छ । पहाडी जिल्लामा प्रकृतिको सुन्दरता भएरपनि यसलाई जोगाउनेतर्फ ध्यान नगएको यहाँ आएकी स्याङजा गल्याङका ठाकुर बस्यालले बताए ।

उनका अनुसार श्रीनगरडाँडा व्यवस्थित नहुँदा पनि यसरी आएको देख्दा खुसी लागेको छ । प्रकृतिले दिएको सुन्दर उपहारको रुपमा श्रीनगरडांडालाई लिने गरिन्छ । आन्तरिक पर्यटकको घुँइचो हुँदाहुदै पनि श्रीनगरमा खानेपानीको अभाव, पिकनिक स्पट नहुनु समस्या छन् ।

श्रीनगरडाडाबाट सुर्योदय हेर्न विहान ४ बजे देखि नै यहाँ भिड लागेको थियो । वडा १ ले सिंढीलाई सिंगारेको छ । विभिन्न रंग पोतेर सुन्दर बनाएको वडाध्यक्ष सुनिल बस्यालले बताए । यहाँ आउने पर्यटकलाई टुरिष्ट गाइडको अभाव, पर्यटन सूचना केन्द्र नहुँदा समस्या छ । जिल्लाका साथै छिमेकी गुल्मी, अर्घाखाँची, स्याङ्गजा, रुपन्देही, नवलपरासीबाट नयाँ वर्ष मनाउन आएको उनले बताए ।

अर्को पर्यटकीय क्षेत्र रानीमहलमा पनि भीड लागेको छ । बिहानैदेखि पर्यटकको चहलपहल बढेको स्थानीय सुरेश पाण्डेयले बताए । ‘रानीमहलमा नयाँ वर्षको अघिल्लो दिनदेखि नै आन्तरिक पर्यटकको भीड अत्यधिक भयो,’ उनले भने । रानीमहलमा नयाँ वर्ष मनाउन पुग्नेको अधिक भीड लागेको त्यहाँ पुगेका दीपक पाण्डेय क्षेत्रीले बताए ।

तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा मन्दिरमा नयाँ वर्षको पहिलो दिन बिहानैदेखि भीड लागेको छ । पाल्पाको ऐतिहासिक एवं धार्मिकस्थल भैरवस्थान मन्दिरमा शनिबार सर्वसाधारणको घुँइचो लाग्यो । नयाँ वर्षको पहिलो दिन पाल्पाकै भगवती मन्दिर, प्रभास, रम्भा देवी लगायतका मन्दिरमा समेत बिहानैदेखि दर्शन गर्नेको भीड लाग्यो । रूरू क्षेत्र रिडीमा नुहाउने र ऋषिकेशव दर्शन गर्नेको भीड लागेको थियो ।

जिल्लाको कालीगण्डकी नदी अन्तर्गत राम्दी, रामपुर भुजातको सिद्धबाबा, सीता कुण्ड, तालपोखरा लगायतका स्थानमा पनि भीड लागेको छ । जिल्लाकै कौडेलेक, गुफाचौर, रिमिघा लेकमा पनि बिहानैदेखि नयाँ वर्ष मनाउन पुगेका छन् ।

प्रकाशित : वैशाख १, २०८१ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?