कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलित ज्ञान उत्सव : समुदायका मुद्दालाई प्राथमिकता दिन जोड

सन्जु पौडेल

लुम्बिनी — मुलुकमा आमसञ्चारका माध्यममा विविधता देखिए पनि मूलधारका मिडियाले दलित समुदायका मुद्दालाई प्राथमिकता दिन नसकेको सरोकारवाला र सम्बन्धित समुदायका व्यक्तिले औंल्याएका छन् ।

दलित ज्ञान उत्सव : समुदायका मुद्दालाई प्राथमिकता दिन जोड

बुधबार रुपन्देहीको तिलोत्तमामा आयोजित ‘दलित ज्ञान महोत्सव’ अन्तर्गत ‘नेपाली मिडियामा दलित’ शीर्षक बहसका वक्ता र सहभागीले अहिले पनि दलित समुदायसित सम्बन्धित समाचार घटना प्रधान मात्र भएको बताए । दलित समुदायले भोगिरहेका समस्या केन्द्रित भएर सञ्चारकर्मीले मुद्दा उठान गर्न नसकिरहेको वक्ताको भनाई थियो । ‘दलित समुदायले समाजका प्रत्येक क्षेत्रमा बिभेद र अन्याय भोग्नु परिरहेको छ,’ पत्रकार जनकराज सापकोटाले भने,‘हामी अझै घटना प्रधान समाचार मात्र लेखिरहेका छौं, घटना लेख्छौं त्यसको फलोअप गर्दैनौं ।’ दलित समुदायलाई पीडित तुल्याउने विषयवस्तु र विभेद भोग्न बाध्य पार्ने समुदाय र व्यक्तिका बारेमा लेख्नबाट चुकिरहेको उनले बताए । ‘समाजका हरेक क्षेत्रमा दलित समुदायका व्यक्तिले मात्रै किन विभेद खेप्नु परिरहेको छ,’ उनले भने, ‘हामीले विभेदको कारण खोज्ने पत्रकारिता गर्नुपर्छ, जसमा हामी प्रवेश गरेकै छैनौं ।’

पत्रकारितामार्फत राज्यका विभेदकारी नीतिनियम परिवर्तन गर्न सकिने जनाउँदै उनले निरन्तर निगरानी गर्न सञ्चारकर्मीसित अनुरोध गरे । दलितका पीडा त्यही समुदायका सञ्चारकर्मीले अनुभूति गरेर लेख्न सक्ने सापकोटाले उल्लेख गरे । ‘मूलधारका सञ्चारमाध्यममा दलित समुदायका पत्रकारको संख्या कमी हुनुमा आर्थिक सुरक्षा पनि एउटा कारण हो,’ उनले भने, ‘पत्रकारितामा मनग्ये कमाई नभएकाले हन्डर खप्न सक्ने मात्रै टिक्छन्, यस्तोमा आफ्नो समुदायका मुद्दा उठानका लागि आँट चाहिन्छ, त्यसका लागि तयार हुनुस् ।’

सञ्चारकर्मी रुपा गहतराजले पहिलेको तुलनामा सञ्चारमाध्यममा दलित समुदायका समस्या, पीडा र सफलताका कथा प्रकाशन भइरहेको बताइन् । दलित समुदायबाट प्रतिनिधित्व गर्ने धेरै सञ्चारकर्मी नरहेको अवस्थामा अन्य समुदायका पत्रकारलाई समेत आफ्ना मुद्दामा संवेदनशील तुल्याएर लेख्न प्रेरित गर्नुपर्ने बताइन् । ‘दलितका मुद्दा दलितले मात्र लेख्नुपर्छ भन्ने छैन,’ उनले भनिन्, ‘हाम्रो संख्या कम भएको अवस्थामा अन्य समुदायका पत्रकारलाई मुद्दा लेख्न विषयवस्तु बुझाउने र यसको गम्भीरताप्रति संवेदनशील तुल्याउन सक्नुपर्छ ।’ उनले समाजमा विभेद र उत्पिडन भोगेको व्यक्तिले नै यस्ता समस्या अनुभूति गरेर लेख्न सक्ने भएकाले सञ्चारमाध्यममा दलित समुदायका सञ्चारकर्मीको संख्या बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

बहसका अर्का वक्ता पत्रकार माधव नेपालले आफू हुर्किएको परिवेश फरक रहेकाले ढिलो मात्रै दलित समुदायका मुद्दा बुझ्न सकेको बताए । ‘सुरुवातमा दलित समुदायसित सरोकार राखने कतिपय शब्दको प्रयोग गर्न पनि जानेको थिइन,’ उनले भने, ‘त्यस्ता शब्दको प्रयोगले समुदायमा पार्ने असरबारे दलित अगुवाबाटै सिके ।’

अहिले सञ्चारमाध्यमको अवस्था खस्किदै गएको उल्लेख गर्दै आगामी दिनमा दलित समुदायबाट मिडियामा प्रतिनिधित्व गर्ने व्यक्तिले मूलधारसँगै सामाजिक सञ्जाल र इन्टरनेटलाई सशक्तिकरणको माध्यम बनाउनु पर्नेमा जोड दिए । सत्रको पत्रकार बिनोद परियारले सहजीकरण गरेका थिए ।

दलित रिडर्स तथा तिलोत्तमा नगरपालिकाको संयुक्त आयोजनामा बुधबार सुरु भएको उत्सव तीन दिन सञ्चालन हुनेछ । पहिलो दिन दलित ज्ञान, सीपएवं श्रम सम्बन्धी छलफल तथा जातीय विभेदका विभिन्न शीर्षकमा अन्तरक्रिया गरिएको थियो । पहिलो दिन दलित उद्यम, ज्ञानको जातशास्त्र, नेपाली मिडियामा दलित, समाज सिंगार्नेहरु, कला साहित्यमा जातीय चेत, नेपालको शिक्षा र दलित, दलित जनप्रतिनिधिका सपना र सकसलगायत विषयमा बहस गरिएको थियो । दलित उद्यम शीर्षक बहसमा मानवशास्त्री सुरेश ढकालले मानवजातिको विकासमा दलित समुदायले गरेको योगदान ऐतिहाँसिक भएको बताए । उनले दलितका सीपबाट आर्जेको विकासलाई नेपालका अन्यजातिले भुल्न नहुने अभिव्यक्ति राखे । त्यस्तै लेखक सन्जयकुमार पासीले मधेसी दलितको अवस्था तेस्रो दर्जामा राख्ने समाजमा दलित शिक्षा बारेको अज्ञानता चिर्न जरुरी रहेको औंल्याए । दलित शिक्षाले नै समाजलाई चलायमान गराएको इतिहास सम्झनलायक रहेको उनको भनाई छ । अध्येता जेबी विश्वकर्माले ज्ञान हरेक समुदायकालागि बराबर हुनुपर्ने भनाई राखे ।

यसअघि उत्सवको उद्घाटनमा बोल्दै नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिका जातीय विभेद अन्त्य गर्नेतर्फ अघि बढिरहेको बताए । उनले नगरपालिकाले दलित रणनीति निर्माण गरी पालिकाभित्र सामुदायिक सहिष्णुता कायम गर्न लागिपरेको बताए । तिलोत्तमाका नगरउपप्रमुख जगेश्वरदेवी चौधरीले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान दिने यस्ता कार्यक्रमलाई निरन्तरता दिएर सामाजिक समावेशीकरणमा सहकार्य गर्दै दलित समुअदायलाई अवसरमा प्राथमिकता दिने गरी नगरपालिकाले भूमिका निर्वाह गर्ने बताइन् ।

कार्यक्रममा दलित रिडर्सका अध्यक्ष रुक्मणि नेपालीले दलित आन्दोलनको नयाँ ईतिहास कोर्दै जात ब्यवस्थाले निर्माण गरेको सामाजिक विभेद अन्त्य गर्न कार्यक्रम गरिएको बताइन् । उनले दलितसँग पनि ज्ञान हुन्छ र भन्ने समाजलाई प्रतिशोध स्वरुप दलित श्रम, सीप र उद्यमको उदाहरण समाजमा पस्किन समेत उत्सवले सघाउने जनाइन् । उनले यस्तो उत्सव देशमै पहिलोपटक हुन गइरहेकाले हरेक प्रदेशबाट आउने वक्ता तथा सहभागीले दलित र गैरदलित बीच राखिने असमान व्यवहारलाई हटाउन सघाउने विश्वास लिइएको बताइन् । कार्यक्रममा मुलुकका विभिन्न स्थानबाट दलित अधिकारकर्मीहरु, मानवअधिकारकर्मी सञ्चारकर्मी तथा जनप्रतिनिधि गरी चार सय जना भन्दा बढीको सहभागिता छ ।

प्रकाशित : चैत्र १४, २०८० २२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?