कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४११

विद्युत् प्राधिकरणले लाइन काट्न थालेकोमा रुपन्देहीका २३ उद्योग सञ्चालकको विरोध

माधव ढुंगाना

भैरहवा — डेडिकेटेड र ट्रंकलाइन बक्यौता भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काट्न थालेपछि रुपन्देहीका २३ वटा उद्योगले विरोध जनाएका छन् । यस खालको विद्युत्‌को माग नै नगरिएको भन्दै उनीहरूले सरकारको यो कदम अन्यायपूर्ण र गैरकानुनी भएको बताएका छन् । 

विद्युत् प्राधिकरणले लाइन काट्न थालेकोमा रुपन्देहीका २३ उद्योग सञ्चालकको विरोध

आइतबार सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा गरेको पत्रकार सम्मेलनमा सहभागी व्यवसायीले यस खालको विद्युत् उपभोग गरेको भए प्रमाणसहित भुक्तानीको दाबी गर्न प्राधिकरणलाई आग्रह गरे ।

व्यवसायीले रुपन्देहीमा देखिएको यो विवाद र समस्या समाधानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन् । यदि व्यवसायीको मागलाई बेवास्ता गरी प्राधिकरणले एकतर्फी र जबरजस्ती लाइन काटेमा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति तथा अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले रुपन्देहीमा कुनै पनि उद्योगले डेडिकेटेड र ट्रंकलाइनको माग नै नगरेको बताए ।

‘यस बारेमा यथार्थ पत्ता लगाई समस्याको निकासका लागि सरकारीस्तरबाट उच्चस्तरीय छानबिन समितिको गठन गरियोस्,’ अग्रवालले भने, ‘समितिले कुन–कुन उद्योगले डेडिकेटेड र ट्रंकलाइन विद्युत्‌को माग गरेका थिए ? यस विषयमा छानबिन गरेर छिनोफानो लगाओस् ।’

अर्घाखाँची सिमेन्ट उद्योगबाट १ अर्ब ३० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको दाबी प्राधिकरणले गरेको छ । यो विवादमा परेका भैरहवा बुटवल करिडोरका अन्य २२ वटा उद्योगबाट प्राधिकरणले ४२ करोड रुपैयाँ विद्युत्‌ महसुल बक्यौता देखाउँदै आएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघले व्यवसायीको वास्तविक समस्या नबुझेर समाधानका लागि पहल नभए आन्दोलनमा जाने चेतावनी दिएको छ । संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले यस विषयमा संघको तर्फबाट पहिला प्रधानमन्त्रीसमक्ष डेलिगेसन जाने र समाधान नभए २३ वटै उद्योग बन्द गरेर आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

प्रकाशित : पुस ८, २०८० २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?