कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४११

थाइल्यान्डको चिकित्सक टोलीद्वारा ३२ जनाको निःशुल्क शल्यक्रिया

माधव ढुंगाना

भैरहवा — बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका ३२ जना आर्थिक विपन्न बिरामीको नि:शुल्क घुँडाको शल्यक्रिया तथा प्रत्यारोपण गरिएको छ ।

थाइल्यान्डको चिकित्सक टोलीद्वारा ३२ जनाको निःशुल्क शल्यक्रिया

थाइल्यान्डको सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचको नेतृत्वमा तीन दिनअघि भैरहवा आएको चिकित्सक टोलीले आइतबारदेखि मंगलबारसम्म बिरामीका शल्यक्रिया तथा घुँडा प्रत्यारोपण गरेको हो । शल्यक्रिया तथा उपचारमा सिद्धार्थगर सिटी अस्पतालका चिकित्सक पनि थाइल्यान्डको टोलीसँग संलग्न थिए ।

सिद्धार्थनगर सिटी अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलका अनुसार शल्यक्रिया गरिएका बिरामी लुम्बिनी, भैरहवा, कपिलवस्तु, पाल्पा र काठमाडौंका रहेको बताए । ‘बुद्ध जन्मेपछि सात पाइला हिँडेको भनिने पबित्र लुम्बिनी क्षेत्रका बासिन्दा खुट्टाको समस्याले हिँड्डुल गर्न नसक्ने अवस्थामा हुनुहुँदैन भन्ने मान्यताले यो उपचार शिविर आयोजना गरिएको हो.’ पौडेलले भने, ‘शल्यक्रिया गरिने बिरामीको पहिचानका लागि गत जुलाइमा लुम्बिनीको थाइ पीस हार्मोनी सेन्टरमा स्वास्थ्य शिविर आयोजना गरी ८ सय बिरामीको स्वास्थ्य जाँच गरी छनौट गरिएको थियो ।’

पौडेलका अनुसार, शल्यक्रियाका लागि १२ जना चिकित्सक, १३ जना नर्स तथा मेडिकल टिम र १५ जना थप सहयोगी गरेर ४५ जनाको टिम आएको थियो । उपचारका लागि एक ट्रकभन्दा धेरै विभिन्न सामान तथा उपकरण ल्याएको थियो । शल्यक्रियाका लागि आवश्यक विभिन्न उपकरण र भौतिक पूर्वाधार मापदण्ड रहेको अस्पताल खोजी गर्नेक्रममा सिद्धार्थनगर सिटी अस्पताल रोजाइमा परेको हो ।

घुँडाको समस्याले विगत दश वर्षदेखि हिँड्डुल गर्न नसकेका रुपन्देहीको गैंडहवा–५ का ७० वर्षीय प्रशन्न यादव उक्त शिविरमा घुँडाको शल्यक्रिया गरेपछि धेरै खुशी छन् । ‘आर्थिक अभावले उपचार गराउन सकेको थिइनँ,’ यादवले भने, ‘अहिले कत्ति पनि पैसा खर्च नगरिकन शल्यक्रिया भयो ।’

प्रकाशित : आश्विन १६, २०८० १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?