२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

लुटपाट गरी सामूहिक बलात्कार प्रयासको आरोपमा तीन युवक पक्राउ

दुर्गालाल केसी

दाङ — तुलसीपुरमा एक महिलालाई लुटपाट गरी सामूहिक बलात्कार प्रयास गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१२ टरीगाउँ नजिकै बुधबार बेलुका ३२ वर्षीया महिलालाई सामूहिक बलात्कार प्रयास गरेको आरोपमा तुलसीपुर–६ का २२ वर्षीय दुर्गा केसी, तुलसीपुर–१२ का १९ वर्षीय अभिषेक चौधरी र २० वर्षीय तिलक परियार पक्राउ परेका हुन् ।

उनीहरुले महिलाको साथबाट एक तोलाको सुनको सिक्री, एक थान मोबाइल र ९ हजार रुपयाँ नगदसमेत लुटेको प्रहरीको अनुसन्धानमा खुलेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीका अनुसार एक आफन्त पुरुषसँग तुलसीपुर–१२ जसपुरस्थित वैद्यसँग हातको उपचार गर्न गएकी ती महिला घर फर्किँदै गर्दा बाटोमा तीन युवकको घेराउमा परेकी थिइन् ।

बाटो छेउको जंगलमा बसेर खाजा खान थालेको समयमा तीन जना युवाले महिलासँग भएका पुरुषलाई आक्रमण गरेर नियन्त्रणमा लिएका थिए । त्यसपछि महिलालाई केही टाढा लगेर बलात्कारको प्रयास गरेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

महिलाले निरन्तर प्रतिकार गरेपछि युवाहरु लुटपाट गरी भागेको केसीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई शुक्रबार डाँकाचोरी र बलात्कार प्रयास मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक केसीले बताए ।

प्रकाशित : श्रावण १२, २०८० १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?