१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

इन्भेस्ट गण्डकी परियोजना सञ्चालन गर्छौं : आर्थिक मामिलामन्त्री चुमान

कास्की — गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले इन्भेस्ट गण्डकी परियोजना सञ्चालन गर्ने बताएका छन् । आइतबार आर्थिक मामिला मन्त्रीको पदबहाली गर्दै यस्तो निर्णय गरेका हुन् । चैत २५ मा बिनाविभागीय मन्त्री बनेका चुमानले शनिबारमात्रै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । इन्भेस्ट परियोजनाले आगामी वर्ष आर्थिक सम्मेलन गर्नेछ ।

इन्भेस्ट गण्डकी परियोजना सञ्चालन गर्छौं : आर्थिक मामिलामन्त्री चुमान

परियोजनाको अवधारणापत्र तयारी गर्न आर्थिक मामिला मन्त्रालयका सचिवको नेतृत्वमा ७ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । परियोजनामा पर्यटन, कृषि, औद्योगिक पूर्वाधार र जलविद्युत् गरेर ४ वटा प्राथमिकताका क्षेत्र तोकेर योजना निर्माण गरिने अर्थमन्त्री चुमानले बताए ।

इन्भेस्ट गण्डकी परियोजनालाई पब्लिक प्राईभेट पार्टनरसीप (पीपीपी) मोडलमा र निजी लगानी गरेर दुवै मोडलमा लगानीकर्ता आकर्षित गरिने मन्त्री चुमानले बताए । ईन्भेस्ट गण्डकी परियोजनामा समेटिएका योजनालाई सोकेसमा राखेर लगानी सम्मेलन गर्ने तयारी गरिएको उनको भनाइ छ ।

मन्त्री चुमानको अर्को निर्णय बजेट लेखन समिति रहेको छ । आगामी वर्षको बजेट निर्माणका लागि अहिलेबाट नै थालनी गर्नुपर्ने भन्दै उनले समिति बनाउने बताएका छन् । अर्थ मन्त्री चुमानले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च चित्तबुझ्दो नरहेको बताए ।

बजेट खर्च गर्ने परम्परागत परिपाटी पनि आगामी आर्थिक वर्षमा सुधार गरेर लैजानुपर्ने उनको भनाइ थियो । विगतदेखि नै खर्च गर्ने क्षमता कमजोर रहेकाले त्यसलाई सुधार गरेर खर्च गर्ने क्षमता बढाउने उनले बताए । त्यसका लागि कर्मचारीको कार्यशैली बदल्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : वैशाख ९, २०८१ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?