१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

सहकारीपीडितले सोमबार पोखरामा दबाब र्‍याली गर्ने

दीपक परियार

पोखरा — पोखराका सहकारीपीडित बचतकर्ताले सोमबार पोखरामा बृहत् दबाब र्‍याली प्रदर्शन गर्ने भएका छन् । सहकारी बचतपीडित संघर्ष समिति कास्कीले पहिलो चरणको दबाब कार्यक्रमअन्तर्गत र्‍याली गर्ने भएको हो । 

सहकारीपीडितले सोमबार पोखरामा दबाब र्‍याली गर्ने

समितिका संयोजक किरण श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै कास्कीका सम्पूर्ण सहकारीपीडित बचतकर्तालाई दबाब र्‍यालीमा सहभागी हुन आह्वान गरेका छन् । जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट बिहान १० बजे सुरु हुने र्‍याली पोखरा महानगरपालिकाको कार्यालय न्युरोड हुँदै जिल्ला प्रशासन कार्यालय सहिदचोक पुग्ने छ । संघर्ष समितिले जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाउने छ ।

संयोजक श्रेष्ठले अदालतमा मुद्दा परेका कास्कीका ६ सहकारीका पीडित बचतकर्तासहित समस्यामा रहेका अन्य सहकारीका बचतकर्ता पनि र्‍यालीमा सहभागी हुने बताए । सर्वसाधारणको बचत अपचलन गर्ने सूर्यदर्शन, इमेज, मित्र मिलन, बलिदानी, शिवशिखर र विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता संघर्ष समितिमा आबद्ध छन् । बचतकर्ताको वैशाख ५ मा भएको भेलाले श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो । भेलाले विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।

यसअघि यी सहकारीका बचतकर्ताले छुट्टाछुट्टै संघर्ष समिति बनाएर आन्दोलित हुँदै आएका थिए । ‘अहिले अदालतमा मुद्दा परेका सहकारीमात्रै ६ वटा हुन्, समस्यामा परेका सहकारी दर्जनौं छन्,’ संयोजक श्रेष्ठले भने, ‘राज्यका सबै निकायमा अनुरोध, ज्ञापनपत्र, दबाब दिँदा पनि हाम्रो समस्या समाधान गर्न उदासिन देखिएकोले थप दबाब सिर्जना गर्न संघर्षका कार्यक्रम ल्याउनुपरेको हो ।’ र्‍यालीपछि अन्य संघर्षका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।

प्रकाशित : वैशाख ९, २०८१ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?