२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

दर्ताबिनै खुलेका पसलबाट औषधि बिक्री

प्रकाश बराल

बागलुङ — बिनादर्ता दुई वर्षदेखि औषधि पसल संचालनमा आएको सूचना जिल्ला प्रशासन कार्यालय बागलुङमा आयो । त्यसपछि कार्यालयले औषधि व्यवस्था विभाग, नगरपालिका र स्वास्थ्य कार्यालयका प्रतिनिधि बोलायो । उनीहरुको संयुक्त अनुगमन टोली शुक्रबार बिहान बागलुङ नगरपालिका २ को जिपपार्क पुग्यो ।

दर्ताबिनै खुलेका पसलबाट औषधि बिक्री

टोली आएको थाहा पाउनेबित्तिकै जिपपार्कस्थित धौलाश्री मेडिकल संचालन गरिरहेका दिलीप यादव आत्तिए । कोठाभित्र रहेका चार जना सेवाग्राहीलाई थुनेर सटर लगाइ भाग्ने प्रयास गरे । तत्कालै प्रहरीले उनलाई समात्यो र सटर खोल्न लगायो । सटरभित्रका सेवाग्राही अन्योलमा थिए । यो पसल उनको नाममा दर्ता थिएन । दर्तामात्र हैन, उनले गैरकानुनी औषधि बिक्री गरिरहेका थिए ।

स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य अधिकृत लक्ष्मी शर्माका अनुसार यादवले औषधि व्यवस्था विभागमा दर्ता नभएका र बेच्नै नपाइने औषधिसमेत बेचेको भेटियो । लागूऔषधमा गनिएका औषधि पनि बिनादर्ता र रजिष्टर नबनाइ बेचेका थिए । ‘ती औषधिभित्र लुकाएर गैरकानुनी ड्रग बेचेका थिए,’ शर्माले भनिन्, ‘नार्कोटिक औषधि बेच्ने हो भने अनुमति लिएर रजिस्टर खडा गर्नुपर्छ ।’

हरेक महिना ती औषधि कति मात्रामा कसलाई बेचेको समेत प्रतिवेदन बुझाउनुपर्ने प्रावधान रहेको उनले बताइन् । कतिपय औषधि अस्पतालको फार्मेसीमा मात्रै राख्न पाउने कानुनी व्यवस्था छ । तर यादवले ती औषधि पनि जथाभावी बेचेको भेटिएको हो । त्यसपछि प्रशासनले उनको सटर बन्द गराएको छ । आइतबारसम्ममा आवश्यक कागजात लिएर प्रशासनमा हाजिर हुन चेतावनीसमेत दिइएको छ । अन्यथा कानुनबमोजिम उनीविरुद्ध मुद्दा चल्नेछ ।


त्यस्तै धौलागिरि अस्पताल अगाडि संचालित बुद्ध डेन्टलमा अनुगमन पुग्दा एक जना सहयोगीबाहेक कोही भेटिएन । तर यहाँ दाँतको सर्जरीसमेत गरिने गरी प्रचार गरेको भेटियो । यो डेन्टल पनि दर्तासमेत नभएको र गैरकानुनी रुपमा औषधि चलाउने गरेको पाएपछि प्रशासनले सटर बन्द गरेको छ ।

पछिल्लो समय एक जनाको नाममा दर्ता गरी अर्कोले औषधि पसल चलाउने, प्रमाणपत्र नभएको व्यक्तिले औषधि बिक्री गर्ने, इजाजतबिना क्लिनिक संचालन गर्ने, खुला स्थानमा एक्स-रे मेसिन राखेर चलाउने, मेसिन चलाउने लाइसेन्स नभएका व्यक्तिले जथाभावी उपचार गर्ने र मेसिनहरु मानव शरीरमा प्रयोग गर्नेजस्ता घटना भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । त्यस्ता गैरकानुनी काम भएका सबैको रेकर्ड राखेर आवश्यक ल्याब परीक्षण र सम्बन्धित विभागको अनुमतिसमेत लिएर कारबाही प्रक्रिया अगाडि बढाउन लागेको उनले बताए । ‘औषधि पसल, क्लिनिकजस्ता व्यवसायको नाउँमा मानव स्वास्थ्यमा गम्भीर खेलबाड भएको देखियो,’ बरालले भने, ‘तत्काल यो विषयमा कारबाही अगाडि बढाइन्छ ।’

कानुनी प्रक्रियाअनुसार कतिपय पसल तथा क्लिनिक बन्द गर्ने, गैरकानुनी औषधि बिक्री गर्नेलाई सोही बमोजिमको कारबाही थालिने उनले जानकारी दिए । साथै अनुमति नै नलिएका स्थानमा विशेषज्ञ सेवा भन्ने बोर्ड राखेर बिरामी जाँच गरेको महँगो शुल्कसमेत लिएका मेडिकललाई पनि कारबाहीको दायरामा ल्याउने बरालले बताए ।

प्रकाशित : वैशाख ८, २०८१ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?