२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

हातहतियार ३५ दिनभित्र नवीकरण गर्न लमजुङ प्रशासनको आग्रह

आश गुरुङ

लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङले हातहतियार लिएर नवीकरण नगरेकालाई ३५ दिन भित्र नवीकरण गर्न अनुरोध गरेको छ ।

हातहतियार ३५ दिनभित्र नवीकरण गर्न लमजुङ प्रशासनको आग्रह

विभिन्न व्यक्ति तथा संस्थाहरुले हातहतियार राख्नको लागि अनुमति लिने तर, नवीकरण गरेको अभिलेख नभेटिएकाले तोकिएको समयभित्र नवीकरण गर्न प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले नवीकरण नगरिएका हातहतियार स्वतः अबैध हुने भएकाले अबैध हातहतियार राख्नेलाई मुद्दा लाग्ने बताए । उनले कार्यालयमा आएर आफूसंग भएका हातहतियार नवीकरण गर्न सकिने बताए ।

प्रशासनका अनुसार इजाजतपत्र लिएका तर ५ वर्षभन्दा बढी समयदेखि नवीकरण म्याद गुजार्नेको हकमा भने नवीकरण नहुने भएको छ । ती हातहतियारहरु स्वतः अबैध भइसकेकाले त्यस्ता हातहतियार प्रशासन कार्यालयमा बुझाउन अनुरोध गरिएको छ । ५ वर्षसम्म नवीकरण नगरेका हातहतियार बुझाउन पनि प्रशासनले ३५ दिनभित्र बुझाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुङले आइतबारदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरिएको र तोकिएको समयभित्र नवीकरण नभएमा वा बुझाउनुपर्ने हातहतियार नबुझाएमा कानुनबमोजिम कारबाही गरिने बताए ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार १ हजार बढी नागरिकले विभिन्न समयमा हातहतियार राख्ने अनमुति लिएका छन् । यीमध्ये २ सय ४५ वटामात्रै नवीकरण छन् । ७ सय ४६ वटा हातहतियार नवीकरण नभएको अवस्थामा रहेको प्रशासनले जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०८१ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?