२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

खानेपानीमन्त्रीको सय दिन : दुई योजना र एउटा सिँचाइ भवन उद्घाटन

गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै भनिन्- 'जनतालाई नभेटी योजनामा धाउने समय मसँग भएन’
प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले दुईवटा खानेपानी योजना र एउटा सिँचाइ भवन मात्र उद्घाटन गरेको बताएकी छन् ।

खानेपानीमन्त्रीको सय दिन : दुई योजना र एउटा सिँचाइ भवन उद्घाटन

बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालको एक सय दिनको उपलब्धि सार्वजानिक गर्दै मन्त्री तिवारीले यस अवधिमा जनतासँगै रहेको हुँदा योजनाको शिलान्यास र उद्घाटमा समय नभएको बताएकी हुन् ।

सञ्चारकर्मीले एक सयको अवधिभर कति योजना शिलान्यास र उद्घाटन गर्नुभयो भन्दै सोधेको प्रश्नमा उनले भनिन्, ‘प्रदेश सरकारसँग जनताको अपेक्षा ठूलो हुन्छ । मन्त्रीसँगै गुनासो राख्छु भन्दै जनताहरू मन्त्रालय भेट्न आउँछन् । जनतालाई भेट नगरी योजना भन्दै धाउने समय मसँग भएन ।’

मन्त्रीले जनताका दुःख सुने मात्र पनि उनीहरुलाई राहात मिले जस्तो अनुभूति हुने भएकाले अधिकांश समय मन्त्रालयमा नै बिताउने गरेको उनले सुनाइन् । ‘बजेट अभावका कारण पनि विगतका योजना अलपत्र छन्,’ उनले भनिन् ।

मन्त्री तिवारीले अघिल्लो आर्थिक वर्षमा मन्त्रीको सम्पत्ति विवरण सार्वजानिक गर्न समय नभएको भन्दै चालु आर्थिक वर्षको ६० दिनभित्रै सम्पत्ति विवरण सार्वजानिक गरिने बताएकी छन् । उनले आफ्नो कार्यकालमा सम्झनयोग्य दुई वटा कार्य सुनाइन् । खानेपानी असुविधा भएको ठाउँमा लिफ्टिङको व्यवस्था गर्न बजेट छुट्याएको र खानेपानीको स्रोत नै नभएको कुश्माको पाङमा मुहान खोजी गरी लिफ्टिङ खानेपानीको योजना अगाडि बढाइएको नै मुख्य उपलब्धि उनले मानेकी छन् ।

मन्त्रालयले विद्युत महशुलमा करिब २ करोड रकम अनुदान दिएको छ । जसबाट ९ हजार २ सय ४० लिफ्टिङ खानेपानी योजना बनेका छन् । साथै एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

यस अवधिमा १७ हजार ३ सय ४८ घरधुरीमा निजी धारा जडान भइसकेको र त्यसबाट ९० हजार दुई सय जनसंख्या लाभान्वित भएको मन्त्रालयका सचिव सन्तोष कैनीले जानकारी दिए । खानेपानी आयोजनको तथ्यांक संकलन गरी व्यवस्थित अभिलेखीकरण गर्न गण्डकी प्रदेश खानेपानी सरसफाइ तथा स्वच्छता कार्ययोजनाको सुरुवात भएको उनले बताए ।

आधारभूतस्तरको खानेपानी सुविधामा विशेष जोड दिएको भन्दै उनले घण्टौंसम्म डोकोमा गाग्री बोक्नुपर्ने बाध्यता हटाउने अभियान सुरुवात गरिएको बताए । धार्मिक स्थल, कोट, पदमार्ग, घरवास जस्ता महत्त्वपूर्ण स्थलमा खानेपानी सेवामा जोड दिएको मन्त्रालयले जनाएको छ ।

लिफ्टिङ सिँचाइ योजनाको विद्युत महशुलमा पनि मन्त्रालयले अनुदानकोे व्यवस्था गरेको छ । बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने नीति लिइएको यस मन्त्रालयले ५ सय १५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुयाएको जनाएको छ ।

यस्तै जलाशययुक्त आयोजना सुरु गरी जलविहार सञ्चालन गर्ने नीति लिइएको छ । मन्त्रालयले गण्डकी सिँचाइ गुरुयोजना तयार गर्ने भएको छ ।

गण्डकी प्रदेशको सिँचाइ नियमावली, २०८० को मस्यौदा अन्तिम तयारीमा पुगेको छ । मुस्ताङको कालीगण्डकी नदी नियन्त्रण सम्बन्धी २८ करोड र स्याङ्जाको आँधीखोला नियन्त्रणको लागि करिब २० करोडको योजना स्वीकृत गरिएको छ । साथै आपतकालीन विपद् रोकथामको लागि तारजाली खरिद गरी तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

सचिव कैनीका अनुसार गण्डकी प्रदेश ऊर्जा सम्बन्धी ऐन विधेयक मस्यौदा तयारी अवस्थामा पुगेको छ । विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन, ढोरपाटनको छेन्तुङका ३ सय ९१ घरधुरीमा घरेलु सौर्य उर्जा जडान सुरुवात गरिएको भन्दै उनले यस वर्षभित्र नै गण्डकीलाई उज्यालो प्रदेश घोषणा गरिने बताए । २४ सय घरधुरीमा बिजुली नपुगेको भन्दै उनले दुर्गमका बस्तीमा पनि बिजुली पुर्‍याउन सौर्य उर्जा, लुघजलविद्युतका आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइएको बताए ।

प्रकाशित : भाद्र ६, २०८० २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?