कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पालिकाद्वारा एसईईका परीक्षार्थीलाई खाद्यान्न

प्रताप विष्ट

हेटौंडा — गाउँबाट एसईई दिन आएका परीक्षार्थीहरुलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको छ ।

पालिकाद्वारा एसईईका परीक्षार्थीलाई खाद्यान्न

जिल्लाको विकट एवं दुर्गम राक्सिराङ गाउँपालिकाले विकट क्षेत्रबाट पालिकाको केन्द्रमा एसईई परीक्षा दिन आएका परीक्षार्थीहरुलाई साढे १२ किलो चामलसहित दाल, तेल र नुन उपलब्ध गराएको हो । राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरस्थित प्रजा विकास माध्यमिक विद्यालयमा एसईईको केन्द्रमा परेका २०३ जना परीक्षार्थीहरुलाई पालिकाले खाद्यान्न उपलब्ध गराएको हो । उक्त परीक्षा केन्द्रमा खाद्यान्न अभाव खेप्दै आएका राक्सिराङको सिलिङे मावि, खैराङको कालिका मावि, श्री मावि देवीटार र कालिका मावि राक्सिराङका विद्यार्थीहरु रहेका छन् ।

एसईई परीक्षा दिन उनीहरु घन्टौं हिँडेर चैनपुरस्थित प्रजा विकास मावि बुधबार आइपुगेका छन् । 'उनीहरु आफन्तका आश्रय लिएर बसेका छन् तर खानेकुरा समस्या हुने भएकाले गाउँपालिकाले प्रतिपरीक्षार्थी साढे १२ केजी चामल, आधा केजी नुन, एक लिटर तेल र एक केजी दाल उपलब्ध गराएका छौं, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने ।

नजिकको विद्यालयबाट एसईई परीक्षा दिन आउने परीक्षार्थीलाई गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको छैन । उक्त सेन्टरमा २ सय ८१ जना परीक्षार्थी छन् । तीमध्ये २ सय ३ जनालाई मात्र गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको अध्यक्ष मल्ले प्रस्ट्याए ।


राक्सिराङमा एसईई केन्द्र राखिएको यो पहिलो पटक हो । चेपाङ बाहुल्य क्षेत्र रहेको उक्त केन्द्रमा १ सय ४ जना चेपाङ परीक्षार्थीहरु रहेका छन् । बिहीबारदेखि सुरु हुने एसईई परीक्षामा ३ जना दृष्ट्रिविहीनसहित ५ जनाले सहयोगी राखेर परीक्षा दिने भएका छन् ।

मकवानपुर जिल्लाका एक सय २६ विद्यालयका ६ हजार १ सय ७१ विद्यार्थी एसईईमा सहभागी हुने छन् । यो संख्या गत वर्षको परीक्षार्थीभन्दा एक सय ७१ बढी हो । खुलातर्फ ८४ जना परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले बताए ।

भीमफेदी कारागारमा एकजना कैदी पनि परीक्षार्थी रहेका छन् । एसईईका लागि परीक्षा केन्द्रहरुमा प्रश्नपत्र र उत्तरपुस्तिका पठाउने काम भइसकेको छ । परीक्षा चैत २७ गते सकिनेछ ।

प्रकाशित : चैत्र १४, २०८० १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?