कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हानेपाद्वारा समर्थन फिर्ता : मुख्यमन्त्री जम्कट्टेललाई बहुमत पुर्‍याउन सकस

सुवास विडारी

मकवानपुर — मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको वाग्मती प्रदेश सरकार संकटमा परेको छ । केन्द्रमा नयाँ गठबन्धन परेसँगै प्रदेशमा अल्पमतमा परेको प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टी (हानेपा)ले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलको सत्ता समस्यामा परेको हो ।

हानेपाद्वारा समर्थन फिर्ता : मुख्यमन्त्री जम्कट्टेललाई बहुमत पुर्‍याउन सकस

सदनमा दुई सांसद रहेको हानेपाले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले चैत ९ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको भए पनि मंगलबार मात्र पत्र दर्ता गरेका हुन् । उनले इमेलमार्फत पत्र दर्ता गराएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यस दलले मुख्यमन्त्रीको कार्यालयलाई पठाएको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडा र वाग्मती प्रदेश सभा सचिवालय हेटौंडालाई समेत बोधार्थ जानकारी दिएको छ ।

हानेपाले २०७९ पुस २५ गते जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो । तर, मुख्यमन्त्रीले पटक/पटक मन्त्री तथा समितिको सभापति बनाउने वचन दिए पनि बेवास्ता गरेको भन्दै हानेपाले समर्थन फिर्ता लिएको हो । हानेपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर पार्टी (नेमकिपा) मध्ये एकको समर्थबिना मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन सक्दैनन् । राप्रपा र नेमकिपाले सरकारलाई समर्थन नदिने बताइसकेको छ ।

‘हाल प्रदेशको राजनीतिक परिदृष्यमा आएको फेरबदललाई मध्यनजर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौं,’ उनले भने । बज्राचार्यले अंकगणितीय हिसाबले सानो दल भए पनि संसदीय मूल्य र मान्यता कायम राख्न सशक्त भूमिका निर्वाह गरिरहेको दाबी गरे । आगामी दिनमा संसद्‍मा जिम्मेवार प्रतीपक्षको भूमिकामा रहेर आफ्नो पार्टी अगाडि बढ्ने बताए ।

गत फागुन २३ मा नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेलाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ । वाग्मती प्रदेशसभामा एमालेको २७ र माओवादीको २१ सिट छ । १ सय १० सदस्य रहेको वाग्मती प्रदेशसभामा बहुमतका ५६ सिट आवश्यक छ ।

गठबन्धनमा एकीकृत समाजवादीको ७ सिट भए पनि गठबन्धनलाई बहुमतका लागि थप एक सिट आवश्यक पर्छ । नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । माओवादी वाग्मती प्रदेश अध्यक्ष एवं माओवादी प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले हाम्रो नेपाली पार्टीसँग वार्ता भइरहेको बताए । हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीको दाबी गरेको छ । वाग्मतीमा कांग्रेसको ३७ र राप्रपाको १३ सिट छ ।

प्रकाशित : चैत्र १३, २०८० १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?