३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दियालो बंगला दरबार खुलाउने सहमति

चितवन — राजा महेन्द्रको निधन भएको चितवन नारायणगढको दियालो बंगला दरबार संग्रहालयका रुपमा सर्वसाधरणका लागि अवलोकन गर्न खुला हुने भएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको सो दरबारलाई खुला गरी सञ्चालनमा ल्याउन शुक्रबार ट्रष्ट र भरतपुर महानगरपालिकाबीच ८२ सालको असारसम्मका लागि ६ बुँदे सम्झौता भएको छ ।  बैशाखभित्र दियालो बंगला खुला गर्ने योजना भरतपुर महानगरपालिकाले राखेको छ ।

दियालो बंगला दरबार खुलाउने सहमति

‘यो ठाउँलाई नयाँ पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले सर्वसाधरणका लागि खुला गर्न प्रक्रिया अगाडि बढाएको तीन महिनाभित्र सम्झौता गर्न सफल भएका छौं । यसलाई बैशाख १ मा उद्घाटन गर्ने भनेको हो । तर यसको पुन: निर्माण, मर्मत र रंगरोगनको काम बाँकी रहेछ,’ भरतपुरका मेयर रेनु दाहालले भनिन् । यो काम सकेर बैशाखको १५ गते दियालो बंगला क्षेत्र सर्वसाधरणका लागि खुला गर्ने उनले बताइन् ।

दियालो बंगला दरबारमा विस २०२८ सालको माघ १७ गते राजा महेन्द्रको निधन भएको थियो । राजा महेन्द्रले विस २०१८ सालमा निर्माण सुरु गरेर २६ सालमा निर्माण सकेको दियालो बंगलामा महेन्द्रपछि पनि राजा बिरेन्द्र परिवारसहित हिउँदमा आउने गरेको नेपाल ट्रष्टका सदस्य सचिव झलकराम अधिकारीले बताए । राजा महेन्द्रले प्रयोग गरेका सामाग्रीहरु त्यहाँ रहेको उनले जानकारी दिए ।

‘राजा महेन्द्रको शयन कक्ष छ । त्यसको सिरानीमा राजा महेन्द्रले प्रयोग गर्ने दुईवटा हतियार छन् । त्यति बेलैका बिस्तारा, पलङ र गलैचाहरु छन् । स्मोकिङ जोन पनि छ । बार पनि छ,’ नेपाल ट्रष्टका सदस्य सचिव झलकराम अधिकारीले भने । राजा विरेन्द्रको नाममा रहेको जग्गा र दरबारहरु ६२/६३ को जनआन्दोलनपछि नेपाल ट्रष्टको नाममा ल्याइएको हो । राजा महेन्द्रको कक्षलाई नै विशेष रुपमा संरक्षण गरेर राखेको उनले बताए ।

राजा महेन्द्रको निधन भएपछि राजा विरेन्द्रले पनि कोठा थपेको देखिन्छ । ‘राजा महेन्द्रले प्रयोग गर्ने हैन कि अर्को कोठा बनाएर विरेन्द्रले प्रयोग गरेको देखिन्छ । ज्ञानेन्द्र राजा भएपछि पनि डाइनिङ टेबल बनाएको भेटिन्छ । राज परिवारको जीवन शैली कस्तो थियो भन्ने देख्न पाइन्छ यहाँ’ सदस्य सचिव अधिकारीले भने । फलामको प्लङमा राजा एउटा कोठामा बसे पनि राज परिवारका अन्य सदस्य संयुक्त रुपमा बस्ने गरेका पाइने उनले बताए ।

सामानहरु विलाशी नभएको र जीवन शैली पनि त्यही अनुरुपको झल्कने अधिकारीले बताए । ‘तर रोचक के छ भने १८ सालमा डिजाइन भएको दरबार हो । इन्जिनियरिङ अहिले पनि सान्दर्भिक देखिन्छ । व्यवस्थित अनि राम्रो छ । त्यति बेला टायल प्रयोग भएको छ । दिगोपनालाई ध्यान दिएर बनाएको छ । कलात्मक र राम्रो इन्जिनियरिङ छ’ सदस्य सचिव अधिकारीले भने । महानगरले कार्यर्विधिको अधिनमा रहेर संग्रहालय सञ्चालन गर्ने छ ।

कार्यविधि तयार भइसकेको मेयर दाहालले बताइन् । ‘मर्मतको काम भोलिबाटै हुन्छ । त्यस्तो ठुलो काम छैन । रंगरोगन र संग्रहालयका रुपमा भित्र भएका सामाग्रीलाई सुरक्षित राख्ने र जीर्ण देखिएको अगाडिको बार्दलीलाई नयाँ बनाउने भन्ने छ । ठुलो काम बाँकी छैन,’ मेयर दाहालले भनिन् । संग्रहालयमा उठेको आम्दानी बाँडेर लिने योजनाका साथ महानरले उपयोग गर्न लागेको हो । प्रवेश शुल्क सामान्य लिने दाहालले बताइन् ।

नारायणगढ बजारदेखि चार किलो मिटर पर नारायणगढ मुग्लिन सडक र देवघाट जाने सडकको आडमा दरबार क्षेत्र रहेको छ । जंगलभित्र रहेको दरबार नजिकै उत्तरमा नारायणी नदी पनि छ । दरबार क्षेत्र इतिहास बुझ्न र अध्ययन गर्न चाहनेहरुका लागि उपयुक्त स्थल हुने मेयर दाहालले बताइन् । भरतपुर भ्रमण वर्षको सन्दर्भ पारेर दरबार खुला गरे पनि आउँदा वर्षहरुमा पनि यसलाई निरञ्तर रुपमा सञ्चालन गर्ने उनले बताइन् ।

प्रकाशित : चैत्र ९, २०८० १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?