नुवाकोट दुप्चेश्वरमा गाडी दुर्घटना : मृतकको संख्या ३ पुग्यो, १० जना घाइते

कृष्ण थापा

नुवाकोट — दुप्चेश्वर गाउँपालिका-४ कोल्फुमा टाटा सुमो गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । १० जना सख्त घाइते भएका छन् ।

दुप्चेश्वर गाउँपालिका-४ कोल्फुबाट काठमाडौंका लागि छुटेको ना १ ज ३९८४ नम्बरको गाडी अनियन्त्रित भई कोल्फु सडक छेउ भीरबाट खस्दा ३ सय मिटर खसेको हो । घटनास्थलमै दुई जनाको ज्यान गएको हो भने एक जनाको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङ र वडा ७ की ४५ वर्षीया सानुकान्छी तामाङ रहेको डिएसपी खड्काले बताए । सानुकान्छीको मृत्यु ट्रमा सेन्टरमा उपचारको क्रममा भएको हो । सुमोमा १३ जना सवार थिए । चालकसमेत घाइते भएका छन् ।

प्रकाशित : चैत्र १७, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्

नेपाललाई थ्री नेसन्स कपको उपाधि

हिमेश

काठमाडौँ — मनीष डाँगीको निर्णायक गोलको मद्दतले नेपालले शुक्रबार लाओसलाई २–१ ले पराजित गर्दै थ्री नेसन्स कपको उपाधि जितेको छ । उनले खेल सकिन तीन मिनेट अगाडि गोल गरे । खेल अतिरिक्त समयतर्फ अग्रसर भएको बेला अञ्जन विष्टले सिर्जना गरेको अवसरमा मनीषले गोल गरेका हुन् । नेपालले १ गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।

नेपालले यसअघि सन् २०२१ मा बंगलादेश र कीर्गिस्तान यू–२३ टिम सम्मिलित थ्री नेसन्स कप जितेको थियो । यस जितसँगै नेपालले पाँच हजार डलर पनि हात पारेको छ । नेपाल पूरा प्रतियोतिगामा अपराजित रह्यो । यसअघि लिग चरणको खेलमा नेपालले लाओसलाई नै २–० ले हराएको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो ।

दशरथ रंगशालामा भएको खेलमा लाओसले १७ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि ‘डिफ्लेक्ट’ भएको बलमा साङभिलले गोल गरे । लाओसको अग्रता लामो समय भने टिकेन् । नेपाल २४ औं मिनेटमा गोल फर्काउन सफल रह्यो । एरिक विष्टको पासमा आयुष घलानले गोल गरे । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको लाओसले त्यसलाई दोस्रो हाफमा दोहाउन सकेन् ।

दोस्रो हाफ पूर्णतः नेपालको पक्षमा रह्यो । आयुषले ६१ औं मिनेटमा नजिकको दूरीबाट गरेको हेड पोस्टको केही माथिबाथि बाहिरिएको थियो । यस्तै खेलका ६८ औं मिनेटमा निशान खड्काले प्रहार गरेको फ्रि किक पोस्टमा लागेर फर्केको थियो । मनीषले ७५ औं मिनेटमा गरेको प्रहारले पोस्टको दिशा लिए पनि त्यो ‘अफ साइड’ मा रह्यो र त्यसले मान्यता पाएन् ।

‘फिफा विन्डो’ मा नपरेको हुनाले यो खेलको औपचारिक अन्तर्राष्ट्रिय मान्यता भने हुने छैन ।

प्रकाशित : चैत्र १७, २०७९ १९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×