ठडियो रानी दरबार

राजकुमार कार्की

सिन्धुली — ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माइ, कतिमा राम्रो दरबार मार्‍यो नि मायाले मार्‍यो’ रानी दरबारको नाममा लोकगायक तथा गीतकार कृष्णविक्रम थापाले यही गीत गाएपछि चर्चा चुलिएको थियो दरबारको । गीत २०३६ सालमा रेडियो नेपालमा प्रथम पनि भएको थियो ।

ठडियो रानी दरबार

यतिखेर दरबारको पुरानै शैलीमा पुनर्निर्माण कार्य सम्पन्न गरेपछि सिँगारेर चिटिक्क पारिएको छ । यो दरबारलाई सिन्धुलीगढी दरबार भनेर पनि चिनिन्छ ।

रानी दरबार पुरानै शैलिमा निर्माण भएको कमलामाई नगरपालिकाका–३ का शिक्षक कणैबहादुर कार्कीले बताए । 'पहिला जस्तो थियो दरबार उस्तै बनेको देखिन्छ', उनले भने, ‘हामीले देख्दा त छानोसम्म थियो । ठूल्ठूला काठ प्रयोग भएका थिए । अहिले पनि पुरानै शैलीमा निर्माण भएको छ । दरबार निर्माणसँगै पर्यटकहरु बढ्ने निश्चित छ ।’

२०४५ सालकै भूकम्पबाट भत्किएको रानीदरबार माओवादीले सिन्धुलीगढीको प्रहरी चौकी आक्रमण गरेसँगै अलपत्र परेको थियो । गढीबाट प्रहरीचौकी हटेसँगै दरबार भग्नावषेश बन्दै गएको शिक्षक कार्कीले बताए । द्वन्द्वको प्रभावमा परेको दरबारको संरक्षण नहुँदा पुराना शैलीका इँटा, काठ समेत चोरी भइ नामोनिसान मेटिने अवस्थामा पुगिसकेको दरबारको निर्माण भएकाले पुरानै झल्को सिन्धुलीगढीले दिन थालेको छ । दरबारमात्रै नभएर सिन्धुलीगढीमा ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रालय समेत निर्माण भइसकेकाले पर्यटकहरु दैनिक बढ्न थालेको कमलामाई नगरपालिकाले जनाएको छ ।

दरबारको रंगरोगनको काम समेत सकिएकाले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको छ । कोभिडका कारण पुनर्निर्माणको कामहमा केही ढिलाइ भइ म्याद थपेर महिनाअघि सम्पन्न गरेको तुल्सी/एरिसा जेभी भक्तपुरका ठेकेदार रवीन्द्र श्रेष्ठले बताए । उनले भने, ‘पुनर्निर्माणको काम सबै सकिएको छ । अब वाग्मती प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रक्रियामा लागेका छौं ।’

सिन्धुली गढी

तत्कालीन समयमा पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रुपमा रहेको गढी दरबार २०२० सालमा जिल्ला सदरमुकाम सिन्धुलीमाढी झारिएपछि संरक्षणविहीन भइ भत्किएर भग्नावशेषमा परिणत भएको थियो । लामो सयमसम्म संरक्षण अभावमा दरबार र गढी किल्लाका भौतिक संरचनाहरु नष्ट हुँदै गएपछि दुई वर्ष अघिदेखि वाग्मती प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण सुरु गरिएको हो ।

कमलामाइ नगरपालिकाका अनुसार रानी दरबार ४ करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैयाँको लागतमा पुनर्निर्माण भएको हो । कमलामाई नगरपालिका र वाग्मती प्रदेश सरकार पर्यटन विकास आयोजनाले १६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दरबारको पुनर्निर्माण थालेको भएपनि प्राविधिक कारणले दुई वर्ष लागेको नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले जानकारी दिए । कमलामाईले सिन्धुलीगढीलाई प्राथमिकतामा राखेर पर्यटकीयस्थल बनाएपछि पुनर्निर्माण सम्भव भएको मेयर पोखरेलको दाबी छ । उनाले भने, ‘रानी दरबारको ऐतिहासिक, पुरातात्विक महत्त्वलाई ध्यानमा राखेर दरबारको पुरानै शैलीमा हुबहु निर्माण भएको छ । २०२० सालअघिसम्म सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीगढीमै थियो ।’

सिन्धुली गढी

रानीदरबार तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीरविक्रम राणाले निर्माण गरेको इतिहासमा उल्लेख भएपनि दरबार बडाहाकिम र सेनाहरू बस्नको लागि निर्माण गरिएको सिलालेख ढुंगामा लेखिएको स्थानीय खोजकर्ता दिलिपकुमार थापाले जनाए । दरबार संरक्षणको अभावमा भत्किन थालेपछि, शिलालेखहरु स्थनीयले घरतिर लगेर सिलौटा बनाएको उनको भनाइ छ । दरबार निर्माणमा प्रयोग भएका सखुवाका बिम, दलिन, निदालगायत झ्यालढोकाका काठसमेत हराएको थियो ।

सिन्धुलीगढीका अन्वेषणकर्ता सागरकुमार ढकालका दरबारदेखि दक्षिणतर्फ गणेश,सरस्वती,लक्ष्मी मन्दिर, धारा, पश्चिममा इनार, पोखरी, रहेको थियो । द्रुपद रानीको नाममा छोरा कर्णेल पुष्करविक्रम जबराले गढी दरबारलाई पुनर्निर्माण गरी रानी दरबार नामाकरण गरेका थिए । रानी दरबार विसं १९८६ कात्तिक २८ गते निर्माण सम्पन्न भएको शिलालेखमा पाइन्छ ।

पहिलाको गढी

ऐतिहासिक सिन्धुलीगढीलाई, पर्यटकीय पूर्वाधार विकासको लागि, नेपाली सेनाका प्राविधिक, पुरातत्त्व विभागका प्राविधिकहरु समेतले संयुक्त सम्भाव्य अध्ययन सर्वेक्षणगरी तयार गरिएको गुरूयोजना अनुसार नेपाली सेना र कमलामाइ नगरपालिकाको सहयोगमा, युद्ध संग्रहालय निर्माण गरिएको थियो । सिन्धुलीगढी परिसरमा पृथ्वीनारायण शाहको सालिक, पिकनिक स्पट, घेराबेरा लगायत काम सकिएका छन् । नेपाल अंग्रेज युद्धका क्रममा अंग्रेजहरुको मुत्यु भएको स्थानमा समाधिस्थलको निर्माण कार्य थालिएको छ ।

सिन्धुलीगढी किल्ला नेपाली वीर गोर्खालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङले वि.सं १८२४ असोज १५ गतेका दिन ब्रिटिस अंग्रेज फौजलाई परास्त गर्दै नेपालको सार्वभौम र अखण्डता जोगाएको ऐतिहासिकस्थल भएको अन्वेषणकर्ता ढकालले बताए । उनका अनुसार लोकगायक थापाले गीतमा राखेको हरफ सुन्तली माईको कुटी भने पुनर्निर्माण हुन बाँकी छ ।

प्रकाशित : फाल्गुन ४, २०७९ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?