बुढ्यौलीमा दृष्टि फर्कंदा...- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढ्यौलीमा दृष्टि फर्कंदा...

‘आँखा देखेको दिन नयाँ जीवन पाएँ । फेरि संसार देख्छुजस्तो लागेको थिएन, आँखा देखाइदिने भगवान् नै आए जस्तो भयो ।’
केदार शिवाकोटी

दोलखा — ८५ वर्ष टेकेकी मेलुङ गाउँपालिका–४ भेडपुकी माइली तामाङका दुवै आँखा ६ महिनाअघि बन्द भए । घरमा आएका आफन्त र पाहुना ठम्याउन पनि सहारा चाहिन थाल्यो । उमेरको उत्तरार्द्धमा फेरि आँखा देख्न सकिएला भन्ने उनले कल्पना गरेकी थिइनन् । तर, दुई साताअघि दुवै आँखाको मोतीबिन्दुको शल्यक्रिया गरेपछि उनको दृष्टि फर्किएको छ ।

‘दुवै आँखा ठप्प भए, दुई साताअघिसम्म ओछ्यानबाट उठ्नसमेत सहारा चाहिन्थ्यो,’ उनले भनिन्, ‘यो उमेरमा फेरि संसार देख्छु भनेर कल्पना गरेको थिइनँ ।’ उनी अहिले गाउँ डुलेर सबैलाई के कसो छ सोध्छिन्, सक्ने काम आफैं गर्छिन् ।

आँखाको शल्यक्रियापछि विपन्न परिवारकी ८४ वर्षीया गोरीमाया रसाइलीले पनि नयाँ जीवन पाएको बताइन् । ‘तीन वर्षदेखि दुवै आँखा बन्द भएर एकै थलोमा परेर बसेकी थिएँ, सबैले हेला गर्थे,’ उनले भनिन्, ‘सरकारले वृद्ध भत्ता लिन बोलाएका दिन भत्ता लिने ठाउँसम्म पुर्‍याउँथे । गत महिना मेलुङ गाउँपालिका–१ पवटीमा हिमालयन मोतीबिन्दु परियोजनाको सहयोगमा तिलगंगा आँखा प्रतिष्ठानको सेवा केन्द्र दोलखा लायन्स आँखा केन्द्रले शिविर सञ्चालन गरेको थियो । शिविरबाट उनको आँखाको उपचार सम्भव देखेर चिकित्सकले दोलखा आँखा सेन्टरमा बोलाएका थिए ।

छोरीले आँखा सेन्टरमा ल्याएर आँखा खोलिदिएको गोरीमायाले बताइन् । ‘आँखा बन्द भएर नर्कको जीवन बिताइरहेकी थिएँ,’ उनले भनिन्, ‘आँखा देखेको दिन नयाँ जीवन पाएँ । फेरि संसार देख्छुजस्तो लागेको थिएन, आँखा देखाइदिने भगवान् नै आए जस्तो भयो ।’ उनको निःशुल्क शल्यक्रिया गरिएको हो ।

आँखाको ज्योति धिपधिप हुन लागेका कालिञ्चोक गाउँपालिका–७ का ७० वर्षीय केदारबहादुर बस्नेत उपचार खर्च नभएर थन्किएका थिए । गाउँकै निःशुल्क आँखा शिविरबाटै उनको ज्योति फर्किएको छ । आफू जस्ता बूढाबूढीको पनि निःशुल्क उपचार गरेर आँखा देख्ने बनाइदिएकामा उनी निकै भावुक बने ।

जिल्लाका ११ स्थानमा तीन महिनामा गरिएको आँखा शिविरमा १ हजार ३ सय ८७ जनाको आँखा जाँच गरिएको थियो । जसमध्ये ७१ जना वृद्धवृद्धाको मोतीबिन्दुको शल्यक्रिया गरेर पुनः दृष्टि फर्किएको दोलखा लायन्स आँखा केन्द्रका प्रमुख विप्लव खड्काले बताए । ‘शिविरमा आएकाको परीक्षणपछि शल्यक्रिया गरेर दृष्टि फर्काउने गरेका छौं,’ उनले भने, ‘अति विपन्नलाई निःशुल्क शल्यक्रिया गरेका छौं भने दृष्टि फर्किने कोहीलाई पनि रकमकै अभावमा उपचारबाट वञ्चित गरिएको छैन ।’

ग्रामीण भेगमा गरिएको शिविरमा अझै पनि मोतीबिन्दु भएकाको दृष्टि फर्किन्छ भनेर चेतना अभाव देखिएको उनले बताए । हिजोआज बालबालिकामा आँखाको समस्या

बढ्दो रहेको उनले बताए । वायु प्रदूषण, एकोहोरो मोबाइल हेर्ने र विद्यालय तहमै जनचेतना नहुँदा बालबालिका थप आँखाको रोगबाट प्रताडित हुने उनको भनाइ छ ।

प्रकाशित : माघ २६, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्

निकुञ्जले दियो कृषकलाई राहत

कान्तिपुर संवाददाता

रसुवा — वन्यजन्तुले अन्नबाली तथा पशुधनमा क्षति गरेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले ५ वर्षमा १ हजार २ सय १७ कृषकलाई राहत रकम दिएको छ ।

१ करोड १५ लाख ३० हजार ६ सय ९२ रुपैयाँ प्रदान गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । धेरैजसो कृषकले जंगली बँदेलले अन्नबाली क्षति गरेको भन्दै निवेदन दिएका छन् । निकुञ्जले ०७४/०७५ देखि जिल्लाबाटै कृषकलाई राहत दिन थालेको हो । त्यसअघि क्षेत्रीय वन निर्देशनालय हेटौंडाले राहत दिने व्यवस्था थियो ।

घरगोठ र खाद्यान्न बालीको क्षतिका लागि बढीमा १० हजार, वयस्क भैंसी, जोत्ने उमेरको राँगा, गोरु वा उन्नत गाई वा साँढेको मृत्यु भएमा बढीमा ३० हजार रुपैयाँसम्म दिने व्यवस्था छ । निर्देशिकामा मानवीय, पशुधन, घरगोठ, भण्डारका अन्न र खाद्यान्न बालीको क्षतिका लागि राहत दिने व्यवस्था छ ।

प्रकाशित : माघ २६, २०७९ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×