२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

दुई करोड भन्दा माथिको अवैध कपडा बरामद

भूषण यादव

वीरगन्ज — पर्सा प्रहरीले भन्सार राजस्व छली सीमावर्ती भारतीय बजारबाट ठूलो परिमाणमा अवैध रुपले विभिन्न कपडा भित्र्याई भण्डारणको गरेको अवस्थामा बरामद गरेको छ ।

दुई करोड भन्दा माथिको अवैध कपडा बरामद

वीरगन्ज महानगरपालिका–६ स्थित तुल्स्यान मार्केटमा रहेका गोदममा प्रहरीले बिहीबार छापामारेको थियो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सो दिन करिब १ करोड बीस लाख मूल्य बराबरको विभिन्न प्रकारका कपडा बरामद गरेको थियो । बिहीबार तुल्स्यान मार्केटको ३ वटा गोदाममा छापामारेको प्रहरीले शुक्रबार थप ६ वटा गोदाममा खनतलासी गरि भन्सार राजस्व छलीका कपडा बरामद गरेको थियो ।

प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाका अनुसार तुल्स्यान मार्केटमा दुई दिन छापामारी करिब २ करोड बीस लाख मूल्य बराबरको कपडा बरामद गरिएको छ ।

दुई दिन छापामारी प्रहरीले सर्टिङ सुर्टिङका थान कपडा, सुतीका प्रिन्टेड कपडा, सर्ट, पाइन्ट, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्जाउज थान कपडा र चोलो बनाउने कपडा बरामद गरेको हो ।

प्रहरी प्रवक्ता समेत रहेका थापाका अनुसार तुल्स्यान मार्केटमा कोठा भाडामा लिई वीरगन्ज महानगरपालिका १६ निवासी २४ वर्षीय आकार गुप्ता, सोही ठाउँ निवासी ४४ वर्षीय रामएकबाल कुशवाहाको गोदाममा छापामारी कपडा बरामद गरिएको हो ।

‘यसैगरि सोही मार्केटको अन्य ६ वटा गोदामबाट समेत अवैध कपडा बरामद गरिएको छ,’ थापाले भने, ‘जसको धनीको पहिचान हालसम्म खुल्न सकेको छैन् ।’ आवश्यक कारवाहीका लागि बरामद गरिएका कपडाहरु वीरगन्ज भन्सार कार्यालय बुझाइएको छ ।

प्रकाशित : वैशाख ९, २०८१ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?