२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

'वैभव वीरगन्जको परिकल्पना साकार पार्न सबैको हातेमालो आवश्यक'

शंकर आचार्य

पर्सा — सरोकारवालाहरुले वैभव वीरगन्जको परिकल्पना साकार पार्न सबै क्षेत्रको हातेमालो आवश्यक रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको वीरगन्जको वाणी विमर्श श्रृङ्खला अन्तर्गत वीरगन्जको विरासत सत्रका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । 

'वैभव वीरगन्जको परिकल्पना साकार पार्न सबैको हातेमालो आवश्यक'

पत्रकार एवम् स्तम्भकार चन्द्रकिशोर प्रस्तोता रहेको सो सत्रमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वैभव वीरगन्जको परिकल्पना साकार हुने तर त्यो आफ्नो एक्लो प्रयासले मात्र सम्भव नहुने बताए ।

‘वीरगन्जबासीले हातेमालो गरेर वीरगन्जमा परीवर्तनको सुरुवात गरेको हो,’ उनले भने, ‘धेरै कुरो गर्न अझै बाँकी छ, वीरगन्जले विरासतमा पाएको कुराहरुलाई सौर्न्दयीकरण गर्ने अभियानमा हामी लागेका छौं, यहाँका मठ मन्दिर र ऐतिहासिकस्थलहरुको सौर्न्दयीकरण सुरु गरेका छौँ, फोहोर सडकलाई सफा मात्र गरेका हौं, यो अभियानलाई अन्त्य सम्म पुर्‍याउन जरुरी छ ।’

मेयर सिंहले वीरगन्ज सम्भावना बोकेको सहर रहेको बताउँदै आफूहरुले औद्योगिक नगरी र आर्थिक नगरी पनि विरासतमा पाएको तर त्यसको अनुभुति भने गर्न नपाएको गुनासो गरे । ‘न त यहाँका युवाले रोजगारी पाएका छन्, न त अवसरनै पाएका छन्,’ उनले भने, ‘त्यस्तो विरासतको के काम ।’

उनले १ सय ३५ वर्ष पुरानो इतिहास बोकेको यहाँको नरसिंह भगवान मन्दिरको सौन्दर्यीकरणको डिपीआर तयार भएर टेण्डर प्रक्रियामा जान लागेको बताए । गहवा माईका ७ दिदी बहिनीको मन्दिरको पनि प्रचार प्रसार तथा सौर्न्दयीकरण गर्न लागिएको उनले बताए । वीरगन्जलाई अब धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरेर भारतीय पर्यटकलाई कम्तिमा २ रात बस्ने वातावरण बनाउन लागिएको उनले बताए ।

‘वीरगन्ज नेपाल प्रवेश गर्ने ट्रान्जिट मात्र नहोस् भन्ने हाम्रो प्रयास हो,’ उनले भने, ‘यसका लागि भारतीय पर्यटकलाई २ रात वीरगन्जमा बस्ने वातावरण बनाउँदैछौं, यसका लागि नाका रातिसम्म खुल्ला गर्ने र भारतीय पर्यटकलाई दुःख दिने काम बन्द हुनुपर्छ ।’

मेयर सिंहले वीरगन्जले भोजपुरी भाषा र संस्कृति, सुगौली सन्धी पछिको वीरगन्ज नाका, धार्मिक सद्भाव, सहिष्णुता,शंकराचार्य प्रवेशद्वार, गहवामाई मन्दिर र घण्टाघर आदि विरासतमा पाएको बताउदै यीनको संरक्षण, सम्बर्द्धन र सौन्दर्यीकरणमा बिशेष जोड दिइने बताए ।

नेशनल मेडिकल कलेज वीरगन्जका अध्यक्ष डा. जैनुद्दिन अन्सारीले कलेज स्थापनामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको साथ र समर्थन रहेको स्मरण गरे । ‘वहाँको साथ, सहयोग र मार्गदर्शनले २५ वर्षअघि वीरगन्जमा मेडिकल कलेज स्थापनाको परिकल्पना साकार भएको हो,’ उनले भने, ‘वीरगन्जमा त्यति बेला चिकित्सक, नर्स र स्वास्थ्य प्राविधिकको समेत चरम अभाव रहेको बेला मेडिकल स्थापना पछि स्वास्थ्य शिक्षा र सेवाको क्षेत्रमा ठूलो परिवर्तन सम्भव भयो ।’ कलेजले वीरगन्जलाई देश र विदेशमा पनि चिनाउन सफल भएको उनले बताए ।

कलेजले २ हजार जनशक्तिलाई प्रत्यक्ष र ५ हजारलाई अप्रत्यक्ष रुपमा रोजगारी दिएको बताउँदै डा. अन्सारीले बिदेशी बिरामीलाई पनि उपचार दिन सफल भएको बताए । कलेजले वीरगन्जको पर्यटकीय गतिविधि पनि बढाएको दाबी गर्दै डा. अन्सारीले वीरगन्जबासीको स्वास्थ्य उपचारमा वीरगन्ज महानगरपालिकाको कार्यालयसंग सहकार्य गर्न इच्छुक रहेको पनि बताए ।

फरक प्रसंगमा उनले हालको सरकारी नीति मेडिकल कलेज मैत्री नभएको बताउँदै ५ वर्ष भित्र सरकारले मेडिकल कलेज आफैँले लिने वा बन्द गराउने सम्भावना रहेको आरोप लगाए ।

व्यवसायी रवि केसीले वैभव वीरगन्ज सपना साकार पार्न वीरगन्जमा स्थानीय स्तरको कच्चा पदार्थ उपयोग गरेर उत्पादित बस्तु निर्यात गर्न सक्नु पर्ने बताए । उनले निकट भविष्यमा निजगढ विमानस्थल र निजगढ–काठमाडौं द्रुत मार्ग सन्चालनमा आए वीरगन्जले अझै फड्को मार्ने दाबी गरे । उनले सरकार व्यापारी नभई सहजकर्ता मात्र हुनु पर्ने बताए । ‘सरकारले नीति नियम बनाउदा उद्योगमा आधारित बनाउदैन,’ उनले भने, ‘आयात हुने कच्चा पदार्थ र उत्पादित बस्तुको पनि एउटै भन्सार दर रेट छ ।’

केसीले पछिल्लो दिनमा उद्योगी व्यवसायी र कर्मचारीबीच विश्वासको खाड्ल बढेको पनि बताए । ‘उद्योगी व्यवसायी चोर हुन् र यीनले कर छली मात्र गर्छन् भन्ने आरोप लगाइन्छ,’ उनले भने, ‘के उद्योगी व्यवसायी दोश्रो दर्जाको नागरीक हुन त ।’

होटल तथा पर्यटन व्यवसायी निलम सिंहले वैभव वीरगन्जको सपना साकार पार्न आन्तरिक पर्यटनको साथै भारतीय पर्यटकलाई पनि वीरगन्जमा बस्ने वातावरण बनाइनु पर्ने बताइन् । ‘वीरगन्जलाई केवल आर्थिक राजधानी र मुलुकको प्रवेशद्वारको रुपमा मात्र चित्रित गरिनु भएन,’ उनले भनिन्, ‘यहाँ भारत तथा तेश्रो मुलुकबाट भित्रिने पर्यटकलाई बस्ने वातावरण बन्नुपर्छ ।’

सिहले होटल तथा पर्यटन व्यवसाय सेवा मुलक उद्योग रहेको र यसलाई सरकारले संरक्षण गर्नु पर्ने बताइन् । पछिल्लो समय आर्थिक मन्दी र अस्वस्थ प्रतिस्पर्धाले वीरगन्जको होटल व्यवसाय समस्यामा रहेको बताइन् ।

प्रकाशित : चैत्र २४, २०८० १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?