कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेशमा सशस्त्र प्रहरी र भारतीय सुरक्षा फौजको संयुक्त गस्ती 

शंकर आचार्य

पर्सा — सशस्त्र प्रहरी र भारतीय सुरक्षा फौज (एसएसबी)ले पर्सास्थित नेपाल-भारत सीमाबाट संयुक्त गस्ती सुरु गरेका छन् । 

मधेशमा सशस्त्र प्रहरी र भारतीय सुरक्षा फौजको संयुक्त गस्ती 

आइतबारदेखि मधेस प्रदेशस्थित नं २ छिन्नमस्ता बाहिनी अन्तर्गतको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साले ठोरी गाउँपालिका १ भगवान्‌ नगरबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सीमा पैदल गस्ती सुरु गरेको हो । गस्तीको शुभारम्भ सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले गरेका थिए ।

सीमा गस्तीमा भारतीय समकक्षी एसएसबी ४४ बिएनका जवान सहभागी छन् । गस्तीको क्रममा सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले स्थानीय बुद्धिजीवी तथा नागरिकहरुसँग समेत अन्तरक्रिया गरेका थिए । सीमा सुरक्षाको संवंदनशीलतालाई मध्यनजर गरी सशस्त्र प्रहरी बल, नेपालको परिचालनलाई अझै परिस्कृत, प्रभावकारी एवं नतिजामुखी बनाउन र अन्तर्राष्ट्रिय सीमा नजिकका नागरिकहरुमा शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन संयुक्त गस्ती सुरु गरिएको कर्माचार्यले बताए ।

त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नका निमित्त अन्य सुरक्षा निकायलगायत स्थानीय नागरिक तथा सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गर्दै यो कार्यक्रम सुरु गरिएको उनको भनाइ छ ।

टोलीले गस्तीको क्रममा अन्तर्राष्ट्रिय सीमाना नजिक रहेका नागरिकहरुसँग विभिन्न ठाउँमा अन्तरक्रिया गर्दै सीमा सुरक्षाको महत्वको बारेमा नागरिकहरुलाई जानकारी गराउनुको साथै सीमा अपराध नियन्त्रणको सन्दर्भमा समेत उल्लेख्य भूमिका निर्वाह गर्ने छन् । गस्ती टोलीले मधेस प्रदेशका ८ वटै जिल्लाका सिमावर्ती इलाकामा निरन्तर गस्ती गर्नेछ ।


प्रकाशित : चैत्र १२, २०८० १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?