कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

बहुविवाह आरोपमा १७ वर्षपछि वडाध्यक्ष पक्राउ

सुनिता बराल

महोत्तरी — महोत्तरीको भंगाहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतो बहुविवाह आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मंगलबार छलफलका लागि पुगेका महतोलाई प्रहरीले बहुविवाहको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ ।

बहुविवाह आरोपमा १७ वर्षपछि वडाध्यक्ष पक्राउ

महतोकी जेठी श्रीमती ललिता देवीले सप्रमाण प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । महतोले ललितासँग २०५८ सालमा विवाह गरेका थिए । ललिता र महतोको छोरा र छोरी छन् । ललिताले श्रीमान्‌ले वर्षौंदेखि दोस्रो श्रीमती लुकाएर राखेको भन्दै प्रमाणसहित प्रहरीमा उजुरी दिएकी थिइन् ।

ललिताले पेस गरेको प्रमाणअनुसार २०६३ सालमा उनले दोस्रो विवाहसमेत दर्ता गरेको पाइएको प्रहरीले जनाएको छ । उनले कान्छी श्रीमतीलाई आफ्नै नामबाट नागरिकता समेत चितवन जिल्लाबाट दिलाएको पाएपछि पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए ।

हाल जनप्रतिनिधिका हिसाबले उनी जिल्लामा जेठी श्रीमतीसँगै बस्दै आएको र कान्छी श्रीमतीबारे अहिले सबैकुरा खुलिनसकेकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बुधबार उनलाई म्याद थप गर्न जिल्ला अदालतमा हाजिर गराइएको गिरीले बताए ।

पक्राउ परेका महतोको विषयमा उनकी छोरी अर्पनाकुमारी महतोले एक महिनापहिले आफ्नो बुबाले अर्को विवाह गरेको थाहा पाएको सामाजिक संजालमार्फत सार्वजनिक गरेकी थिइन् । 'बुबाको अर्को विवाहका कारण आमा ललिता देवी, भाइ रुपेश र मलाई बुबाले कुटपिट गरी घरेलु हिंसा गरिरहनुभएको छ' भन्दै भिडियो सन्देश सार्वजनिक गर्दै न्याय मागेकी थिइन् । त्यसपछि वडाध्यक्ष महतो आफ्नो बचाउ गर्दै हिँडेका थिए ।


प्रकाशित : असार २७, २०८० १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?