२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

दिक्तेल रुपाकोट मझुवागढीमा 'किसान क्रेडिट कार्ड' वितरण

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु गरेको छ । किसानलाई व्यावसायिक कृषिका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढीमा 'किसान क्रेडिट कार्ड' वितरण

साना किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बताए । ग्लोबल आइएमई बैंक, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र नगरपालिकाको साझेदारीमा किसानलाई कर्जासँगै किसान क्रेडिट कार्ड वितरण सुरु गरिएको हो ।

पहिलो चरणमा कर्जा लिएका नगरपालिकाका २१ किसानलाई किसान क्रेडिट कार्ड वितरण गरिएको छ । क्रमशः अन्य किसानलाई कार्ड वितरण गर्ने नगरपालिकाको योजना रहेको राईले बताए । सहुलियतपूर्ण कर्जा लिएका किसानले खाताबाट नगद झिकेर चलाउन नपाइने तर क्रेडिट कार्डबाटै दुई लाख रुपैयाँसम्म खर्च गर्ने/गराउने व्यवस्था मिलाइएको राईले बताए ।

किसानले कृषि सामग्री, मल र मेसिनरी सामान बिक्रेता पसलमा क्रेडिट कार्डको क्यूआर कोड स्क्यान गरेर मल, बीउ र उपकरण खरिद गर्नसक्ने राईले बताए । कृषि व्यवसाय गर्ने किसानका लागि आवश्यक वित्तीय, प्रावधिक एवं बजार व्यवस्थापनका लागि नगरपालिकामा न्यूनतम ब्याजमा कर्जा कार्यान्वयनमा ल्याइएको जनाइएको छ । अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा कार्यान्वयनमा सहयोग पुर्‍याउने गरी किसानलाई क्रेडिट कार्ड वितरण सुरु गरिएको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।

कर्जा लिने किसानको ब्याजमध्ये संघीय सरकारले ५ प्रतिशत र नगरपालिकाले ५ प्रतिशत ब्याज तिर्ने व्यवस्था मिलाइएको छ । ऋण लिएर व्यावसायिक रुपमा पशुपंक्षी पालन तथा कृषि पेशा गर्न चाहने किसानलाई आर एण्ड डी इनोभेटिभ सोलुसनले कर्जा तथा अन्य साधनस्रोतको सदुपयोग तथा दक्षता अभिवृद्धिसँग सम्बन्धित तालिम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

यसैबीच १५ वडा रहेको यस नगरपालिकाले पशु तथा कृषि व्यावसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्नेगरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । जिल्लाको प्रमुख ब्यापारिक केन्द्रमा रहेको यस नगरपालिकामा अनुदान पाएका कतिपय कृषक व्यावसायिक बनेका छन् भने कतिपयले काम नै नगरी अनुदान मात्र लिएको भन्दै आलोचना हुने गरेको छ ।

१० स्थानीय तह रहेको जिल्लामा कृषकको आम्दानी वृद्धिका लागि सबैले व्यावसायिक कृषि प्रणालीमा जोड दिएका छन् । जिल्लाका कतिपय स्थानीय तहले कृषि उत्पादनलाई आफ्नै क्षेत्रमा प्रशोधन गरेर बजारीकरण गर्नेसम्मको योजना बनाएको नगर प्रमुख भट्टराईले बताए ।

प्रकाशित : भाद्र ११, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?