निर्माण भइसक्ने बेलामा बल्ल शिलान्यास

अबको दुई वर्षभित्र काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन
कान्तिपुर संवाददाता

मोरङ — भारतको जोगबनीबाट विराटनगर प्रवेश गर्ने रानी नाकामा आकाशेपुल तथा स्वागतद्वार निर्माणको समयावधि सकिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार शिलान्यास गरेका छन् ।

प्रदेश सरकार, विराटनगर महानगर र उद्योग संगठनको संयुक्त लगानीमा निर्माणका लागि महानगरले डिजाइन र इस्टिमेट गरेपछि भौतिक पूर्वाधार विकास मन्त्रालयले आव २०७६/७७ मा नै ठेक्का प्रक्रिया पूरा गरे पनि हालसम्म निर्माण कार्य सुरु हुन सकेको थिएन । ७ करोड ७६ लाख ८ हजारको लागत इस्टिमेट रहेको उक्त योजना ६ करोड २५ लाख २४ हजारमा निर्माणका लागि ह्याबिटेट/आशिषदीप जेभी भद्रपुर झापाले २०७७ जेठ २७ मा सम्झौता गरेको थियो ।

प्रदेश सरकारको ७०, महानगरको २५ र उद्योग संगठनको ५ प्रतिशत लागत साझेदारी रहेको उक्त योजनाको स्वामित्व कसले लिने भन्ने विवादले ठेक्का लागे पनि हालसम्म निर्माण सुरु हुन नसकेको उक्त मन्त्रालयले जनाएको छ । उक्त आयोजनामा ठेक्केदारले दिने कमिसनको भागबण्डा पनि नमिलेकाले निर्माण कार्य सुरु हुन ढिलाइ भएको मन्त्रालय स्रोतले जनाएको छ ।

निर्माण कम्पनी मुख्यमन्त्री कार्कीको गृहजिल्लाको भएकाले पछिल्लो समय सबै विवादको समाधान गरेर निर्माण कार्य सुरु गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ । कोशी प्रदेश झल्किने स्वागतद्वार तथा आकाशेपुल निर्माण हुने सम्बद्ध मन्त्रालयका सचिव मोहनराज चापागाईंले बताए । उनले निर्माण कम्पनीलाई २०७९ फाल्गुन २६ मा पुनः कार्यादेश दिएर २०८१ फागुन २५ भित्र निर्माण कार्य पूरा गर्न समय सीमा दिइएको सुनाए ।

मुख्यमन्त्री कार्कीले स्वामित्वलगायत प्राविधिक कारणले ठेक्का लागेर पनि हालसम्म रोकिएको योजना ढिलै भए पनि सुरु भएकाले अबको दुई वर्षभित्र कार्य पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । उनले प्रदेश सरकारको प्रत्येक योजनाले उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने हुनुपर्ने बताए ।

प्रकाशित : चैत्र ८, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

रसुवागढीको १ सय ११ मेगावाट विद्युत् असारदेखि राष्ट्रिय प्रसारणमा

९० प्रतिशत काम सकियो, काम ढिलो हुँदा साढे तीन अर्ब लागत वृद्धि
कमल धिताल

काठमाडौँ — रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षभित्र बिजुली उत्पादन सुरु गर्ने तयारी गरेको छ । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको आयोजना निर्माण ०७० माघबाट सुरु गरिएको हो । ०७६ सालमै निर्माण सक्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दीलगायत समस्याले निर्माणमा अवरोध भएपछि समय थपिएको आयोजना प्रमुख नरनाथ न्यौपानेले जनाए । 

नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गर्ने समयमा निर्माण अवधिको ब्याजबाहेक १३ अर्ब ६८ करोड ४२ लाख लागत रहेको आयोजना निर्माण सकिने बेलासम्म १७ अर्ब १ करोड लागत पुग्ने अनुमान रहेको कम्पनीको भनाइ छ । आयोजनाको लागतमा ब्याजसमेत जोड्दा उत्पादनको चरणसम्म यसको कुल लागत २१ अर्ब १५ करोड रुपैयाँ पुग्ने उनले बताए ।

विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएको कारण पनि आयोजना निर्माणको लागत अनुमान बढेको न्यौपानेले बताए । ‘भूकम्प र नाकाबन्दीमा इन्धन अभाव हुँदा काम गर्न सकिएन,’ न्यौपानेले भने, ‘अब त्यस्तो समस्या छैन । सबै काम तीव्र गतिमा भइरहेको छ । असारमा उत्पादन सुरु गर्ने गरी तयारी गरिएको छ ।’ आयोजनामा जडित तीनवटा टर्बाइनबाट असारमा परीक्षण सुरु गर्न सकिने गरी काम भइरहेको उनको भनाइ छ । ‘तीनवटै युनिटबाट बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राविधिक खटिएको छन्,’ न्यौपानेले भने ।

प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी तथा पहुँचमार्गमा गइरहेको पहिरोलगायत कारणले पनि निर्माणमा ढिलाइ भएको न्यौपानेको दाबी छ । रसुवाको भीरपाखोमा नमुनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपछि प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्कै प्राविधिक समूहले यस आयोजना निर्माणको अगुवाइ गरिरहेको छ । तर आयोजनाको जटिल भौगोलिक अवस्था र सडकको पहुँच अभावलगायत कारणले पनि निर्माणमा ढिलाइ भएको न्यौपाने बताउँछन् ।

उपकरण जडानमा छोटो अवधिमै उल्लेख्य प्रगति हासिल गर्न सफल भएका कारण पनि यसै आर्थिक वर्षमा उत्पादन गर्ने अवस्था प्रबल रहेको उनको भनाइ छ । भोटेकोशी खोलाको बाँध, चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरुङ सर्चट्यांक, पेनस्टक, टेलरेस सुरुङ र भोटेकोशीबाट पानीसँगै सुरुङमा पस्ने बालुवा थिग्य्राउने पोखरीका सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम करिब सकिएको न्यौपानेले जनाए ।

आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा पठाउन टिमुरेदेखि आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेको ‘प्रसारण हब’मा लैजान १० किमि लामो आन्तरिक प्रसारणलाइन निर्माण पनि सँगसँगै गरिरहेको उनको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण र रसुवाका स्थानीय निकाय संयुक्त लगानीमा जलविद्युत् आयोजना निर्माण भइरहेको छ । स्वपुँजीअन्तर्गत ५१ प्रतिशत संस्थापक सेयरधनी समूहको र ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको छ । व्यापारिक विद्युत् उत्पादनपछि जलविद्युत् आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन भई वार्षिक ३ अर्ब २५ करोड आम्दानी हुने न्यौपानेको दाबी छ ।

प्रकाशित : चैत्र ८, २०७९ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×