कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो देखियो पाल्पामा कृषि मेला प्रदर्शनी [तस्बिरहरु]

माधव अर्याल

पाल्पा — ‘कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौ’ भन्ने मूलनाराका साथ शनिबार आयोजित दोस्रो कृषि मेला तथा प्रदर्शनीमा रौनकता थियो । सुख्खा मौसम भए पनि किसानले उत्कृष्ट कृषि प्रदर्शनी गरे । तानसेन नगरपालिका ९ टिन्टीआँपको मदनपोखरा संगम बहुउद्देयीय सहकारी संस्थाले वडा कार्यालयको सहयोगमा राखेको दोस्रो कृषि मेला प्रदर्शनीले किसानलाई कृषिमा प्रोत्साहन गर्न सहयोग मिलेको सहभागी किसानले बताएका छन् ।

सहभागी किसानले उत्पादनमा आधारित, ढुवानी अनुदान, बजारीकरणमा सहजीकरण गर्न सरकारसँग मागसमेत गरे । तानसेन नगरपालिकाका विभिन्न स्थानका साथै माथागढी र बगनासकालीका किसानले समेत उत्पादित खाद्य तथा तरकारीको प्रदर्शनीका लागि ल्याएका थिए ।

प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषियन्त्र उपकरण प्रदर्शनी, बीउबिजन प्रदर्शनी तथा बिक्रीवितरण गरिएको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरेले बताए । प्रदर्शनीमा नर्सरी बिरुवा बिक्री वितरण, पशु रोग निदान तथा गोबर परीक्षण, कृषि संवाद कार्यक्रम, कृषि परिकारहरुको स्टल, प्लान्ट क्लिनिक, जैविक मल प्रदर्शन र माटो परीक्षण गरिएको वडाध्यक्ष राजेशकुमार अर्यालले बताए ।

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मदनपोखरा बहुप्राविधिक शिक्षालयलगायतले कृषिसँग सम्बिन्धित सेवा प्रदान गरेका थिए । मेला तथा प्रदर्शनीमा ल्याएका सामग्रीलाई विभिन्न ६ विद्यामा मूल्यांकन गरी किसानलाई पुरस्कृत गरेको अध्यक्ष घिमिरेले बताए । कृषि ज्ञान केन्द्र प्रमुख सन्तोषकुमार चौधरी, सुन्तला जात फलफूल विकास केन्द्रका निमित्त कार्यालय प्रमुख जोगिन्दर कान्दु, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयकी कृषि अधिकृत रसिला महर्जनलगायतले किसानले उत्पादन गरेको विविध वस्तुको मूल्यांकन गरेका थिए ।

प्रदर्शनीमा तरकारी खेती, पुष्पखेती, स्थानीय रैथाने बाली, गानो बाली, खाद्यान्न, दलहन, तेलहल, चियाकफी, मसलाबाली, विविध गरी २ सय १३ बढी सामग्री राखिएको थियो । किसानलाई मागमा आधारित कार्यक्रम, ढुवानीमा अनुदान, उत्पादनमा अनुदान लगायतका कार्यक्रम संचालन गर्नुपर्नेमा सहभागीको जोड थियो ।

कृषि मेला तथा प्रदर्शनीमा तरकारी खेतीतर्फ अम्बिका भट्टराई, गीत घिमिरे, विष्णुबहादुर राना, देवराज अर्याल पुरस्कृत भए । यसैगरी फलफूल तथा चियाकफी खेतीतर्फ मोतीलाल गैरे, शिवप्रसाद घिमिरे, टिकाराम पौडेल, विष्णु पाण्डेय पुरस्कृत भएका छन् । त्यस्तै खाद्यान्न बालीतर्फ कृष्णप्रसाद न्यौपाने, गिरीराज पराजुली, रामप्रसाद पुरी र शान्ति देवी नेपाली पुरस्कृत भएका छन् । मसलाबालीतर्फ विनोदकुमार शर्मा, सुरज सिंजाली, झपेन्द्रप्रसाद तिमिल्सेना, हरिसुमर रेग्मी पुरस्कृत भए । त्यस्तै विविधतर्फ मणीमौरी विकास श्रोत केन्द्र, तिलकराम पाण्डेय, घिमिरे पशुपन्छी तथा कृषि फन् र ईश्वरी भण्डारी पुरस्कृत भएका छन् ।

बाख्रातर्फ आशीष एकीकृत कृषि तथा पशुपन्छी फार्मको बोयर जातको बाख्रा, जीवनाथ बराल, राजेश थापा, रविलाल बस्याल, रोयल ताज एग्री फर्म पुरस्कृत भए । त्यस्तै कुखुरातर्फ झविन्द्र बस्याल, रामबहादुर सारु गिरीराज लुइँटेल, लवकुस बस्याल पुरस्कृत भएका छन् ।

पुरस्कृत किसानलाई प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, पूर्वमन्त्री तथा संविधानसभा सदस्य सोमप्रसाद पाण्डेय, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरे, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, हकारीका अध्यक्ष घनश्याम घिमिरे, वडाध्यक्ष राजेशकुमार अर्याल लगायतले उत्कृष्ट किसानलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । मेला तथा प्रदर्शनीमा लोक गायक पशुपति शर्माले दर्शकलाई नचाए ।

प्रकाशित : चैत्र ३, २०८० १८:४९
प्रतिक्रिया
पठाउनुहोस्