कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

अन्नपूर्ण पदमार्गमा साहसिक साइकल दौड [तस्बिरहरु]

शब्द/तस्बिर : आश गुरुङ

लमजुङ — चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रियस्तरको साइकल दौड प्रतियोगिता ‘याक अट्याक-२०२३’ आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताअन्तर्गत १५ औं संस्करणको याक अट्याक अन्तर्राष्ट्रिय क्रस कन्ट्री बहुदिवसीय साइकल प्रतियोगिता लमजुङ सदरमुकाम बेंसीसहरबाट सुरु भएको हो ।

पहिलो दिन उनीहरुले बेंसीसहरदेखि पुमागाउँ, बागलुङपानी नजरे हुँदै चण्डिस्थान मकैडाँडा झरेर बेंसीसहरसम्मको ३० किलोमिटरमा साइकल कुदाउनेछन् । दोस्रो दिन सोमबार उनीहरु चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य मनाङ प्रवेश गर्नेछन् ।

माउन्टेन बाइकिङ वर्ल्ड वाइड लिमिटेडका तथा नेपाल पर्यटन बोर्डलगायत संघसंस्थासँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा ९ राष्ट्रका २६ जना साइक्लिस्टले २ सय ५० किलोमिटर दूरी पार गर्ने छन् । यसका लागि उनीहरुले ८ स्थानमा बास बस्दै यात्रा पार गर्नेछन् । प्रतियोगितामा ३० वर्षदेखि ६३ वर्षसम्मका छन् ।

पदयात्रीको लागि प्रतिष्ठाको केन्द्र मानिएको विश्वकै अग्लो हिमाली भन्ज्याङमध्येको एक थोराङला (५,४१६ मि.) मा साइकल कुदाएर उनीहरु मनाङबाट मुस्ताङ झर्नेछन् ।

प्रतियोगिता २७ नोभेम्बरमा म्याग्दीको तातोपानी पुगेर अन्त्य हुने छ । समापन समारोह २८ नोभेम्बरमा पोखरामा आयोजना गरिने याक अट्याक कार्यक्रमका प्रबन्धक अजय पण्डित क्षेत्रीले बताए । उनका अनुसार धान, मकै खेतबारीदेखि याक हिँड्ने विकट गोरेटो हुँदै उच्च हिमशिखरहरु पार गरेर सकिने साहसिक साइक्लिङ प्रतियोगिताले डेढ दशकदेखि विश्वको ध्यान तानेको छ ।

आयोजक माउन्टेन बाइकिङ वर्ल्ड वाइड लिमिटेडका निर्देशक बेलायती नागरिक फिल इभान्सका अनुसार कोभिडका कारण २ वर्ष रोकिएको प्रतियोगिता गत वर्षदेखि पुनः सञ्चालन गरिएको हो । यसले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको उनले दाबी गरे । उनले यस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्न आवश्यक रहेको बताए ।


प्रकाशित : मंसिर ३, २०८० १३:०३
प्रतिक्रिया
पठाउनुहोस्