२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७९

कुकुर-बाँदरका रक्षक

शब्द/तस्बिर : केशव थापा

काठमाडौँ — कुकुरलाई सुरक्षाको प्रतीकमात्र होइन, आफ्ना सन्तानलाई जत्तिकै माया गर्ने पनि उत्तिकै छन् । ललितपुर कुपन्डोलकी इन्दु महर्जन, काठमाडौं बूढानीलकण्ठकी प्रेमा घले र स्वयम्भूका रमेश घले यसका गतिला उदाहरण हुन् । बूढानीलकण्ठ गल्फुटारमा खाना खुवाउँदै प्रेमा । [पहिलो तस्बिर]

झन्डै १७ वर्षअघि ललितपुरको मंगलबजारमा एउटा कुकुर बेवारिस अवस्थामा भेटेपछि त्यसलाई खाना खुवाउन थालेकी महर्जनले कुपन्डोलमा रहेको आफ्नो ग्यारेजमा अहिले ३० वटा कुकुर पालिरहेकी छन् । घरवरपर देखिने र आफूले पालेका कुकुरलाई उनी दैनिक खाना खुवाउँछिन् । उनको भान्सामा कुकुरकै लागि भनेर दैनिक १५ किलो मासु र २५ किलो चामलको भात पाक्छ । उनी कुपन्डोलदेखि यूएनपार्क, बानेश्वर हुँदै थापाथली पुलसम्म सडकमा भेटिने कुकुरलाई खाना खुवाइरहेकी भेटिन्छिन् । गत वर्ष भदौमा डेंगी लागेर एक महिना थलिँदा उनलाई आफ्नो स्वास्थ्यको भन्दा बढी तिनै कुकुरको चिन्ताले सताएको बताइन् । सडक कुकुरलाई आफ्नै खर्चमा खाना खुवाइरहेकी महर्जनलाई उनका श्रीमान् र छोराछोरीले पनि उत्तिकै साथ दिइरहेका छन् । अहिले सबैको कमाइ कुकुरको हेरचाह र खानामै खर्च गरिरहेको उनले सुनाइन् ।

घाइते कुकुरलाई अस्पताल लैजाँदै प्रेमा ।

बूढानीलकण्ठकी प्रेमा घलेले भङाल, गणेश चोक, गल्फुटार, कामीटार क्षेत्रका सडकमा अलपत्र झन्डै डेढ सय कुकुरलाई साँझ–बिहान खाना खुवाइरहेकी छन् । ‘दुई छाक खाना खुवाउन झन्डै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भनिन्, ‘कुकुरप्रेमी भएकाले खर्च गर्दा पनि खुसी नै मिल्छ ।’ घरदेखि १० किलोमिटरको दूरीसम्म भेटिएका कुकुरलाई आफूले खाना खुवाइरहेको उनले सुनाइन् । ४८ वर्षीया प्रेमाले तीनवटा कुकुरलाई घरमै पालेकी छन् । स्कुटीमा खाना लिएर कुकुर भएका ठाउँ पुग्नु र आफैंले पकाएको खाना खुवाउनु उनको दैनिकी हो । बेलुका ६ बजे कुकुरलाई खाना खुवाउन निस्किने उनी राति १० बजेमात्रै घर फर्किने बताउँछिन् । ‘दैनिक १८ देखि २० केजी चामल, १० किलो कुखुराको कलेजो, फोक्सो र खुट्टालाई उसिनेर भातमा मिसाएर खुवाउँछु,’ उनले भनिन्, ‘यसरी कुकुरका लागि खाना तयार गर्नै ३ घण्टाजति लाग्छ ।’

कुकुरका लागि स्वयम्भू, रानीपाटीमा खाना तयार गर्दै युवराज गुरुङ र पेम्बा छिरिङ शेर्पा ।

काठमाडौंका रमेश घले, पेम्बा छिरिङ शेर्पा र युवराज गुरुङ कुकुर र बाँदरलाई औधि माया गर्छन् । ३० वर्षे हाराहारीका यी तन्नेरी युवाले दैनिक २ सयभन्दा बढी स्वयम्भू क्षेत्रमा रहेका कुकुर र बाँदरलाई बिहान–बेलुकीको खाना खुवाइरहेका छन् । ‘आफूहरुले यसरी खाना खुवाउन थालेको ३ वर्ष भइसक्यो,’ रमेशले भने । धादिङका रमेश तीन वर्षअघि स्वयम्भू घुम्न निस्किएका थिए । उनको साथमा थिए, पेम्बा छिरिङ शेर्पा र युवराज गुरूङ । यी तन्नेरी युवाले स्वयम्भू क्षेत्रमा बाँदर र कुकुरहरु भोकले निन्याउरो भएको देखेपछि मनै पग्लिएको सुनाए ।

कुकुरका लागि खाना लैजाँदै रमेश, पेम्बा, युवराज गुरुङलगायत ।

‘बाँदरको आवाज निकाल्ने शक्ति थिएन,’ रमेशले भने, ‘यो दृश्य देखेपछि तीनै जनाले केही रकम जम्मा गरेर भोकै रहेका कुकुर–बाँदरलाई खाना खुवाउने निर्णय गरेका हौं ।’ यसरी सुरु भएको स्वयम्भू क्षेत्रका बाँदर र कुकुरलाई फलफूल र खाद्यान्न खुवाउने सिलसिला हप्ता, महिना हुँदै अहिलेसम्म चलिरहेको छ ।

टेकुमा कुकुरलाई खाना खुवाउँदै युवराज गुरुङ ।

अहिले धादिङकै विकास तामाङ पनि यस अभियानमा जोडिन पुगेका छन् । अहिले उनीहरुले स्वयम्भूका अतरिक्ति टेकु क्षेत्रका २ सय बाँदर र झन्डै ३ सयको हाराहारीमा रहेका सडक कुकुरलाई फलफूल र खाद्यान्न खुवाइरहेका छन् । यसरी खाना खुवाउन दैनिक २ हजार ५ सयदेखि ४ हजार रुपैयाँको हाराहारीमा खर्च भइरहेको रमेशले बताए । ‘एक वर्षदेखि हामीलाई सहयोग गर्नेहरु बढेका छन्,’ उनले भने, ‘हामीले गरेको काम हामीले युट्युब र सामाजिक सन्जालमा राख्न थालेदेखि सहयोग गर्नेको संख्या बढ्न थालेको छ ।’

स्वयम्भूमा बाँदरलाई फलफूल खुवाउँदै।

कुकुर–बाँदरलाई खुवाउने खाना उनीहरु चारै जनाले मिलेर तयार पार्छन् । चारै जनाको समयतालिका मिलाएर बिहान– बेलुका उनीहरु स्वयम्भू र टेकु क्षेत्रमा निस्किछन् । ‘कुकुर र बाँदरप्रतिको प्रेमले तीन वर्षदेखि आफ्नै खर्चमा स्वयंसेवी भए पनि कानुनी जटिलता भोगेपछि फिडिङ एनिमल नामक संस्था नै दर्ता गरेर लागेका छौं,’ झमझम परिरहेको पानीमा रुझ्दै टेकुमा कुकुरलाई खाना खुवाइरहेका युवराजले मुस्कुराउँदै भने, ‘अब जनावरको हेरचाह र उपचार गर्न समस्या हुँदैन होला ।’

स्वयम्भूमा बाँदरलाई फलफूल खुवाउँदै पेम्बा छिरिङ शेर्पा ।

कुपन्डोलस्थित ग्यारेजमा कुकुरका लागि खाना पकाउँदै इन्दु महर्जन ।

भाँडामा राखेको खाना नखाने भएकाले हातैले खुवाउँदै इन्दु ।

कुपन्डोलको ग्यारेजमा इन्दु महर्जन ।


प्रकाशित : भाद्र २०, २०८० ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्