कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपाली क्रिकेटप्रेमी स्तब्ध

पाठक पत्र

आईसीसी ट्वान्टी–२० विश्वकपमा २० देशका टिममध्ये ४ समूह बनाउँदा सबैमा बलिया र कमजोर टिम समावेश थिए । नेपाल समावेश भएको समूहमा अलि कमजोर मानिएको नेदरल्यान्ड्सबाहेक बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकाजस्ता हस्तीहरू थिए, जसका कारण नेपालले कठिनाइ महसुस गर्नु अस्वाभाविक थिएन । पहिलो प्रतिस्पर्धामा विश्व वरीयतामा १६ औं स्थानमा रहेको नेपाल १२ औं स्थानको नेदरल्यान्ड्ससँग पराजित भयो ।

नेपाली क्रिकेटप्रेमी स्तब्ध

वर्षाका कारण श्रीलंकासँगको खेल रद्द भएपछि नेपालले १ अंक बटुल्यो । त्यसपछि टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग मात्र एक रनले पराजित भएको नेपाल सोमबार बिहान भएको प्रतिस्पर्धामा फेरि बंगलादेशसँग एक्काइस रनले हार्‍यो । त्यसपछि वर्तमान विश्वकपको रणमैदानबाट नेपाल पाखा लागेको छ ।

दक्षिण अफ्रिकासँग भिड्दा सुरुदेखि प्रतिस्पर्धीलाई दबाबमा राख्न सफल भए पनि अन्तिम तीन ओभरमा नेपालको प्रदर्शन निकृष्ट रहन पुग्यो । १ सय १६ रनको लक्ष्य पछ्याएर खेलिरहेको नेपालले १६ ओभरको समाप्तिसम्म ३ विकेट गुमाएर ९५ रन बनाइसकेको थियो । त्यसपछि १७ औं ओभरमा तीन रन जोड्यो, १८ औं ओभरमा दुई रन जोड्दा दुई विकेट गयो । १९ औं ओभरमा एक विकेट गुमाएर आठ रन मात्र बनाएपछि नेपाल विजयी बन्न सकेन ।

उता बंगलादेशले मात्र १ सय ५ रन बनाएको थियो तर नेपाली टोलीले ‘पावर प्ले’ मा चार विकेट गुमाउँदै २४ रन मात्र बनायो । मिडिल ओभरमा आसलाग्दो खेल देखाएको तर अन्तिम तीन ओभरमा विकेट ढल्ने क्रम नरोकिँदा रन बटुल्ने क्रममा पूर्णविराम लाग्यो र नेपाल ८५ रनमा समेटिन पुग्यो ।

ठूला हस्तीहरूलाई पराजित गर्न सक्ने क्षमता नेपाली खेलाडीमा हुँदाहुँदै हार खानुपर्‍यो । १० वर्षअघि पहिलो विश्वकप खेल्ने अवसर पाएको नेपाली टोलीले क्रिकेटमा उल्लेख्य सुधार गर्दै आए पनि खेलाडीमा अझै धैर्यता, पाकोपन र रणनीतिक चातुर्य देखिएन । यी कुरामा ध्यान दिएर अघि बढ्दा नेपाली क्रिकेट समृद्ध बन्ने निश्चित छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : असार ५, २०८१ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×