शिक्षाशास्त्रको गुणस्तरमा प्रश्न

पाठक पत्र

शिक्षक सेवा आयोगले हालै सार्वजनिक विद्यालयमा रिक्त रहेका १७ हजार ४ सय ५५ दरबन्दी आपूर्ति गर्न खोलेको विज्ञापनमा लाखौं परीक्षार्थीको सहभागिता रह्यो, तर १३ हजार ४ सय ९४ मात्र सफल भए । ३ हजार ९ सय ६१ दरबन्दी अझै रिक्त छन् ।

यो खबरले हाम्रा विश्वविद्यालय र यस अन्तर्गत आंगिक र सम्बन्धनप्राप्त क्याम्पसको गुणवत्तामा प्रश्न उठेको छ । शिक्षा संकायहरू उही पुरानो पाराले चलेका हुनाले यो परिदृश्य देखिएको हो । र, शिक्षा संकायबाट प्राप्त उपाधिलाई व्यावसायिक दृष्टिले हेर्ने प्रयास, लिने र दिने दुवैले नगरेकाले यो अवस्था आएको हो ।

अन्य संकायमा नसके शिक्षा संकायमा त सकिएला भन्ने विद्यार्थीको सोचाइ र त्यसलाई सार्थक बनाउन जानी–नजानी सहयोग पुर्‍याउने शिक्षक–कर्मचारी सबै यसमा उत्तिकै दोषी छन् । विद्यार्थी उपस्थिति र प्रयोगात्मक कार्यमा भन्दा विद्यार्थीबाट प्राप्त हुने ‘क्यास’ मा क्याम्पस प्रशासनले बढी चासो राख्ने हुनाले गुणस्तरीय उत्पादन हुन सकेको छैन । शिक्षाशास्त्र आफैंमा एउटा प्राविधिक र व्यावसायिक विषय भएकाले यसको पाठ्यक्रममा समयानुकूल परिवर्तन अत्यन्त जरुरी छ । २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धति शिक्षा योजना सफल पार्न, कलेज अफ एजुकेसनले सुरुआत गरेको शिक्षक तालिमको जगमा स्थापित, शिक्षाशास्त्रको पाठ्यक्रम हालसम्म जस्ताको त्यस्तै छ, त्यसमा केही विषय मात्र थपिएका छन् ।

यो अवस्था सुधार्न देशैभरि जथाभावी चलिरहेका बग्रेल्ती शिक्षा संकायको पठनपाठन तुरुन्तै रोकिनुपर्छ । नयाँ पाठ्यक्रम र प्रवेश विधिका आधारमा तोकिएका क्याम्पसमा, कम्तीमा स्नातक गरी विषयविज्ञता हासिल गरेकालाई, देशमा आवश्यक पर्ने शिक्षक संख्याको आधारमा, सीमित संख्यामा शिक्षाशास्त्र संकायमा प्रवेश दिने कार्य भएमा मात्र, शिक्षाशास्त्र मर्यादित र गुणस्तरीय हुनेछ ।
– महेन्द्रसिंह बम, टीकापुर–१, कैलाली

प्रकाशित : चैत्र ६, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्

चर्चै नहुनुपर्ने विषय पनि ठूलो

पाठक पत्र

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई नरोकी वसन्तपुर परिसरमा रहेको कुमारीको मन्दिर भ्रमण गर्नु सामान्य विषय हो ।

यस्तो विषयमा चर्चा–परिचर्चा हुनुपर्ने थिएन । तर यसलाई पनि उपलब्धि मान्न नागरिक विवश छन् ।

राजामहाराजा वा पूर्वराष्ट्रपतिको सवारीमा जस्तो तामझाम नहुनु राम्रो पक्ष हो तर यस्तो कार्यले पूरा कार्यकाल निरन्तरता पाउनुपर्छ । यहाँ ‘तीललाई पहाड बनाएर’ जनतालाई सास्ती दिने, रवाफ देखाउने गरिन्छ । यस्तो परम्परा अब बदलिनुपर्छ । सर्वसाधारणकै बीचमा राष्ट्राध्यक्षको आवागमन होस्, यही नै आमचाहना हो ।

राष्ट्र प्रमुखका रूपमा गरिने पदीय सम्मानमा आमजनको कुनै विमति होइन तर अनावश्यक रूपमा सवारीहरूमा अपनाइने सुरक्षा, सार्वजनिक एवं निजी यातायातहरूमा गरिने परिबन्दले विशेष गरी काठमाडौंवासी आजित भैसकेका छन् । राष्ट्रपतिको मात्र होइन अरू विशिष्ट व्यक्तिहरूको हकमा पनि यो लागू हुनैपर्छ ।
– शिवप्रसाद घिमिरे, बानेश्वर, काठमाडौं

प्रकाशित : चैत्र ६, २०७९ ११:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×