२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

'दाहालले गरेका सवै सहमति उल्ट्याउँछौं'

काठमाडौं — माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिमा भएका सवै सहमति उल्ट्याउने भएको छ ।

'दाहालले गरेका सवै सहमति उल्ट्याउँछौं'

पार्टी अध्यक्ष पुष्पकमल दाहाल संयोजकत्वको उपसमितिले गरेको सबै सहमति उल्ट्याउने वैद्य समूहको तयारी छ । पार्टीको 'लाइन विपरीत' सहमतिको नाममा अध्यक्षले पार्टीका सबै मुद्दाहरु छाड्दै गएकोले पनि उपसमितिको सहमति उल्टिने वैद्यले दाबी गरे ।
संविधानको प्रस्तावमा जनयुद्धको सट्टा सशस्त्र संघर्ष राख्ने, जग्गा र सम्पत्तिमा हदबन्दी नतोक्ने, मतदाताको उमेर १८ वर्ष हुनुपर्ने, प्रत्येक नागरिकलाई सैन्य तालिम दिनेलगायतमा दाहाल संयोजकत्वको उपसमितिले गरेको सहमतिमा वैद्य समूहले आपत्ति जनाउँदै आएको छ ।
'अध्यक्षले गलत गलत सहमति गर्दै जानु भएको छ त्यसैले त्यो उल्टिन्छ,' शनिबार आफ्नै निवासमा उपाध्यक्ष वैद्यले रिपोर्टर्स क्लवको साक्षात्कारमा भने, 'पार्टीको लाइन जनवादी क्रान्ति हो, अनि सम्पत्तिमा हदबन्दी नलगाउने कुरा कसरी मानिन्छ ?'
बैद्यले संविधान उपसमितिले नभइ संविधानसभाले बनाउने भएकोले पनि अहिलेको सहमति संविधानसभामा गएर उल्टिने दावी गरे । उनले पार्टीको निर्णय विपरीत अध्यक्ष दाहाल उपसमितिमा बसेर सहमति गर्दै गएको भन्दै उपसमितिको औचित्य नै नरहेको ठोकुवा गरे ।
बैद्यले संविधानसभाको गरिमालाई बुझ्न नसकेको आरोप लगाउँदै नयाँ बन्ने संविधानमा जनयुद्ध शब्द नस्वीकारिए आफूहरुले पनि जनआन्दोलन शब्द नस्वीकार्ने चेतावनी दिए ।  उनले भने, 'जनयुद्ध शब्द मानिदैन भने जनआन्दोलन पनि मानिँदैन । होइन भने सबै आन्दोलनलाई स्वीकार्नु पर्छ ।'
भट्टराई सरकार असफल
आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारलाई अहिलेसम्मकै सबैभन्दा असफल सरकारको संज्ञा दिदै उपाध्यक्ष वैद्यले पार्टी सरकारबाट फिर्ता हुनु पर्ने धारणा राखे ।
उनले पार्टीले सरकार सञ्चालनका लागि ७ जना पदाधिकारीहरुको संयन्त्र निर्माण गरे पनि अहिलेसम्म सरकार सञ्चालनको विषयमा संयन्त्रमा छलफल नगरी एकलौटी रुपमा सञ्चालन गरेकोले सरकारबाट फिर्ता हुने माग अगाडि सार्न आफूहरु बाध्य भएको बताए । 'काग्रेस र एमाले नेतृत्वको सरकारले विप्पा गरेन बाबुरामजीलेनै किन गर्नु पर्‍यो ?,' उनले भने, 'अहिलेसम्मकै यो असफल सरकार हो । अब नयाँ ढंगले सोच्नु पर्छ ।'
उपाध्यक्ष बैद्यले सहमतिको सरकारको विकल्प खुल्ला रहेको भन्दै सहमतिमा माओवादीभित्र वा बाहिर जताबाट पनि नेतृत्व हुन सक्ने बताए । उनले गोकर्ण बैठकले चार शीर्ष नेताहरुलाई सहमतिको सरकारको विषयमा सहमति जुटाउन जिम्मेवारी दिएकोले आफूहरु चार नेताको सहमतिको प्रतिक्षामा बसेको बताए ।
जनविद्रोह कार्यदिशा होइन
बैद्यले बाहिर आएजस्तो तत्कालको कार्यदिशा जनविद्रोह नभएको स्पष्ट पार्दै २००७ सालदेखि नेपाली जनताले उठाउँदै आएको माग पुरा नभएको त्यसको लागि आन्दोलनको कुरा गरिएको दाबी गरे ।
उनले आफूहरु अहिलेनै पार्टीभित्र नेतृत्व परिवर्तन र फुटको पक्षमा नरहेको भन्दै पार्टीभित्र जसले आधिकारिक लाइन र दिशा छाड्छ उही नै फुटवादी हुने आरोप लगाए ।
उनले नयाँ रुपान्तरण बिना पार्टी एकता नहुने स्पष्ट पार्दै एकता, संघर्ष र रुपान्तरणको विधिबाट मात्रै नयाँ ढंगले पार्टी एकता हुनु पर्ने धारणा राखे । उनले भने, 'अध्यक्षले पेल्दै जानु भएको छ । अहिलेको मुल समस्या नेतृत्व नै हो । अहिलेसम्म नेतृत्वको रुपान्तरणको लागि नै धैर्य गरेका हौं । जसले पेल्छु भन्ने सोचको छ त्यसैलाई घाटा हुन्छ ।'
पार्टी खुल्ला समाजमा आएका कारण विवादहरु देखिएको उल्लेख गर्दै  खुल्ला नभएको भए विवाद बाहिर नआउने ठोकुवा गरे । उनले अबको पार्टी एकता रुपान्तरणसहित हुने स्पष्ट पार्दै बल अध्यक्ष दाहालको कोर्टमा रहेकोले अध्यक्षको प्रस्तुतिमा एकता भर पर्ने जिकिर गरे । 

प्रकाशित : पुस १६, २०६८ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?