१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

अब धेरै बोल्दिन: दाहाल

दीपेन्द्र बिष्ट

सुन्दरीजल (काठमाडौं) — माओवादी अध्यक्ष पुष्पकमल दाहालले पाँच महिनाभित्र संविधान निर्माण र शान्ति प्रक्रिया टुंगिने दाबी गरेका छन् ।


३६ औं विपीको मेलमिलाप दिवस मनाउन विपी संग्रहालय सुन्दरीजल पुगेका अध्यक्ष दाहालले शान्ति प्रक्रिया र संविधान निर्माण इमान्दार रहन अन्य दलका नेताहरुसँग आग्रहसमेत गरे । 'जसरी भएपनि बेलैमा शान्ति प्रक्रिया सम्पूर्ण सिध्याएर नयाँ संविधान जारी गर्न हामी सबैले प्रतिवद्ध हुनु पर्छ, यसमा सबैको सहयोग अपरिहार्य छ, त्यसका लागि सहमति गरौं,' उनले भने ।
वीपी आफूबीच केही समानता रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, 'प्रभुले गर्दा मैलै सरकारबाट नौ महिना र वीपीले अठार महिनामा हट्नु पर्‍यो आखिर प्रसंग फरक भएपनि षड‍यन्त्र उस्तै हो ।' वीपी कोइराला प्रजातन्त्रका लागि दस वर्ष जेल बसेको र आफू दस वर्षे जनयुद्ध लडेको बताउँदै अध्यक्ष दाहालले वीपी जहिले पनि प्रेरणाका स्रोत भएको बताए ।
भावनामा बगेर बोल्दा पटक-पटक विवादमा पर्दै आएको स्वीकार्दै अध्यक्ष दाहाल अब आफू सोच विचार गरेर बोल्ने बताए । 'विभिन्न समयमा बोल्दा बोल्दै म चिप्ले, अब म धेरै बोल्दैन,' उनले भने । 
कांग्रेस सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया बेलैमा टुंग्याउने ऐतिहासिक जिम्मेवारी माओवादी अध्यक्ष दाहालको काँधमा रहेको बताए । 'प्रचण्डजीले साहसिक कदम चाल्नु पर्छ, बेलैमा जनतालाई संविधान दिनु पर्छ' उनले भने ।
एमाले वरिष्ठ नेता केपी शर्मा ओलीले नेताहरुले सहमतिको कुरा गरे पनि व्यहारमा उतार्न कन्जुस्याई गरेको आरोप लगाए । 'बाहिर सहमति भित्र विमतीको कुरा गरेर, सहमति बन्दैन् कुरा  जस्तै व्यबहार पनि हुन पर्‍यो,' उनले भने ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्रपार्टीका अध्यक्ष पशुपतिशमशेर जवरा, माले नेता सीपी मैनालीलगायतको सहभागिता रहेको थियो । पुष १३ गते कांग्रेसका नेता स्व. विपी कोइरालाले मेलमिलापको नीतिलिए भारतबाट स्वदेश फर्केका थिए । 

प्रकाशित : पुस १६, २०६८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?