२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दरबार हाईस्कुलको पुनर्जीवनले दिएको सन्देश

सम्पादकीय

नेपालको शिक्षा क्षेत्रमा वैभवपूर्ण इतिहास बोकको दरबार हाईस्कुल पठनपाठनको स्तर खस्कँदै गएर विद्यार्थी पाउनै मुस्किल पर्ने अवस्थामा पुगेको थियो । आर्थिक अवस्था राम्रो भएका परिवारका बालबालिका निजी विद्यालयमा जान्थे, विपन्न वर्गका लागि पनि रोजाइमा अन्तैका सामुदायिक विद्यालय पर्थे । तर अहिले स्थिति उल्टिएको छ ।

दरबार हाईस्कुलको पुनर्जीवनले दिएको सन्देश

विद्यार्थी निजी विद्यालयसमेत छाडेर दरबार हाईस्कुल आउन चाहन्छन् । क्षमताभन्दा बढी इच्छुक देखिएपछि स्कुलले छानेर भर्ना गर्नुपर्ने भएको छ । छोटो समयमै यस्तो कायापलट हुनुको कारण यसको आकर्षक भव्य भवन मात्र होइन, पठनपाठन शैलीमा गरिएको रूपान्तरण पनि हो । दरबार हाईस्कुलमा

बढ्दो विद्यार्थी आकर्षणले भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गर्ने हो भने सामुदायिक विद्यालयमा विद्यार्थीको समस्या हुँदैन भन्ने प्रस्ट पार्छ ।

१ सय ७० वर्षअघि खोलिएको दरबार हाईस्कुल नेपालकै सबैभन्दा पुरानो विद्यालय हो । जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि दरबार हाईस्कुल खोलेका थिए । सुरुवाती समयमा यो विद्यालय राणा परिवारका सन्तानको मात्र पहुँचमा थियो । राणा परिवारको सेवामा खटिने कामदारले आफ्ना सन्तानलाई १९३३ सालदेखि दरबार हाईस्कुलमा पढाउन पाए । १९५७ सालदेखि भने अरू सर्वसाधारणका छोराछोरीका लागि पनि खुला गरियो । तर जब निजी विद्यालय फस्टाउँदै गए, सामुदायिक विद्यालयमा पढाइको स्तर खस्कँदै गयो, दरबार हाईस्कुल विपन्न वर्गका बालबालिका मात्र पढ्ने विद्यालयमा सीमित हुन पुग्यो । हाईस्कुलको वैभव फर्काउन सरकारले पनि चासो दिएन । २०७२ सालमा भूकम्पले भवन भत्काएपछि अवस्था झन् असहज भयो । १० कक्षासम्म पढाइ हुने हाईस्कुलमा २०७५ सालमा ७६ जना मात्र विद्यार्थी थिए । तर त्यसपछि पाँच वर्षमै विद्यार्थी संख्या ६ सय ९३ पुग्यो । आगामी शैक्षिक सत्रमा ७ सय ५० विद्यार्थीलाई पढाउने हाईस्कुलको लक्ष्य छ । यसका लागि अपुग १ सय १२ विद्यार्थी लिन सूचना आह्वान गर्दा ७ सय ७१ जनाको आवेदन परेको छ । आवेदन दिनेमध्ये ७५ प्रतिशत विद्यार्थी निजी विद्यालय पढ्दै गरेका हुन् ।

भूकम्पले भत्काएको भवन पुनर्निर्माणपछि दरबार हाईस्कुल तंग्रिएको हो । काठमाडौंको रानीपोखरी छेउमा रहेको हाईस्कुलमा विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, चमेनागृह छन् । कक्षाकोठाभित्र टेबल, कुर्सीजस्ता पूर्वाधार पनि आकर्षक र व्यवस्थित छन् । डिजिटल माध्यमबाट पढाउने व्यवस्था पनि छ । शैक्षिक पूर्वाधारको पर्याप्तताले पठनपाठनको स्तर उकास्न सहज बनाएको छ । हाईस्कुलमा अतिरिक्त क्रियाकलाप पनि भइरहन्छ । प्रत्येक कक्षामा दुइटा सेक्सन सञ्चालन गरिएको छ । एउटा सेक्सनमा ४० देखि ५० जनासम्म विद्यार्थी पढ्छन् । विद्यार्थीको चाप बढेपछि विद्यालय प्रशासनले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने विषयमा छलफल चलाइरहेको छ । काठमाडौं महानगरपालिकाले पनि सामुदायिक विद्यालय सुधारमा जोड दिइरहेकाले दरबार हाईस्कुलको उन्नयन अझै हुने सम्भावना छ ।

दरबार हाईस्कुलजस्तै शैक्षिक स्तर राम्रो हुनासाथ विद्यार्थीको चाप बढेका सामुदायिक विद्यालय अरू थुप्रै छन् । कतिपय सामुदायिक विद्यालयले चाप थेग्न नसकेर प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गर्छन् । त्यस्ता विद्यालयमा पढ्न चाहनेहरू निजी विद्यालयका विद्यार्थीसमेत हुन्छन् । यसले राम्रो पठनपाठन हुने हो भने विद्यार्थी र अभिभावकको रोजाइमा सामुदायिक विद्यालय नै पर्छ भन्ने देखाउँछ । तल्लो कक्षा निजी विद्यालयमा पढाएर एसईई दिने बेला सामुदायिक विद्यालयमा भर्ना गराउने चलनले समेत यसलाई थप इंगित गर्छ । विद्यार्थी र अभिभावकको यस्तो आकांक्षालाई समेत मनन गर्दै अरू सामुदायिक विद्यालयले शैक्षिक स्तर अभिवृद्धिलाई प्राथमिकता दिनुपर्छ । विद्यालयले गुणस्तरीय शिक्षा दिनु भनेको मुलुकका लागि दक्ष जनशक्ति उत्पादन गर्नु हो, विद्यार्थी स्वयंको भविष्य उज्ज्वल बनाइदिनु हो ।

नयाँ संविधानले विद्यालय व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई तोकेको छ । यसको अर्थ स्थानीय तहलाई मूल्यांकन गर्ने एउटा आधार सामुदायिक विद्यालयको स्तर हो । स्थानीय सरकारले विद्यालयका लागि पर्याप्त शैक्षिक पूर्वाधार व्यवस्थापन तथा पठनपाठनका लागि अनुकूल वातावरण निर्माण गर्न सहयोग एवं सहजीकरण गरिदिनुपर्छ । प्रधानाध्यापकको कुशल व्यवस्थापन, शिक्षकहरूमा पेसागत इमानदारी र अभिभावकको नियमित रखवारी भए सामुदायिक विद्यालयहरू सधैं सफल हुन्छन्, विद्यार्थी अभाव भयो भनेर छटपटाउनुपर्दैन, अर्को विद्यालयसँग गाभिने झन्झट पनि निम्तिँदैन ।

प्रकाशित : चैत्र २९, २०८० ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?