कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उस्तरपुस्तिका सुरक्षा गर्न नसक्ने त्रिविको जिम्मा देशको भविष्य

सम्पादकीय

त्रिभुवन विश्वविद्यालयको स्नातक तह पहिलो वर्षको जनसंख्या विषयका १८३ थान उत्तरपुस्तिका हराएको समाचार आएको छ । उत्तरपुस्तिका हराएकै कारण गत वैशाखमा सञ्चालित स्नातक तह पहिलो वर्षको पूरै नतिजा प्रकाशन हुन सकेको छैन ।

उस्तरपुस्तिका सुरक्षा गर्न नसक्ने त्रिविको जिम्मा देशको भविष्य

अर्थात् एउटा विषयको उत्तरपुस्तिका हराउँदा अरू विषय र संकायको नतिजासमेत रोकिएको हो । उत्तरपुस्तिका हराएपछि परीक्षा नियन्त्रण कार्यालय अब के गर्ने भन्ने अन्योलमै छ । गत वर्ष पनि व्यवस्थापन संकायअन्तर्गत बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा लिइएको थियो । यसपालि जनसंख्या विषयको पनि पुनः परीक्षा लिनुपर्‍यो भने स्नातक तह पहिलो वर्षका विद्यार्थीले नतिजाका लागि अझै कैयौं महिना कुर्नुपर्ने हुन्छ । पुनः परीक्षाले विद्यार्थीको थप समय लिन्छ, हैरानी पनि दिन्छ, अर्कातिर विश्वविद्यालयको व्ययभार पनि बढ्छ ।

त्रिविमा प्रश्नपत्र निर्माणको त्रुटि बर्सेनिजसो सार्वजनिक भइरहेको छ । कहिले पाठ्यक्रमसँग असम्बन्धित प्रश्न सोधिन्छ, कहिले अघिल्लो वर्षको प्रश्नपत्र हुबहु आउँछ । केही वर्षअघि त्रिविकै एक प्राध्यापकको ‘प्रश्न बैंक’ बाट हुबहु सारिएको प्रश्नपत्र परीक्षामा बाँडिएको थियो । गत साउनमा एउटा विषयको परीक्षाको दिन पहिले नै परीक्षा भएको अर्को विषयको प्रश्नपत्र विद्यार्थीलाई बाँडिएको थियो । गत असोजमा प्राध्यापकले उत्तरपुस्तिका साटफेर गरेको भन्दै विद्यार्थीले विराटनगरमा परीक्षा नियन्त्रण प्रदेश कार्यालयको गाडी जलाइदिएका थिए । उत्तरपुस्तिका परीक्षणमा लापरबाहीको गुनासो वर्षौंदेखि कायमै छ । नतिजा प्रकाशन यति ढिलो हुन्छ कि कुनै वर्ष त विद्यार्थीले परीक्षा लेखेको १८ महिनापछि मात्र नतिजा पाए ।

प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशन र लब्धांकपत्र वितरणसम्मको जिम्मा परीक्षा नियन्त्रण कार्यालयलाई छ । यही जिम्मेवारी निर्बाहमा परीक्षा नियन्त्रण कार्यालय यति लापरबाह छ कि प्रश्नपत्र रचनामै त्रुटि हुने, परीक्षार्थीको उत्तरपुस्तिका हराउने, उत्तरपुस्तिका जाँचमा जथाभावी हुने जस्ता घटना दोहोरिरहेका छन् । नतिजा प्रकाशन र लब्धांकपत्र वितरणमा ढिलासुस्ती सामान्यजस्तै बनेको छ । परीक्षा नियन्त्रण कार्यालयको यस्तो कमजोरीले लाखौं विद्यार्थी प्रभावित भइरहँदा सुधारका लागि न परीक्षा नियन्त्रण कार्यालय आफैं न विश्वविद्यालय नै गम्भीर देखिन्छन् ।

आक्कलझुक्कल त्रुटि/कमजोरी हुनु उति असामान्य होइन तर यसरी त्रुटि/कमजोरी दोहोरिरहनु गम्भीर हेलचेक्र्याइँ हो । यस्ता समस्या समाधानमा त्रिविले गम्भीरता नदेखाउनु पनि उदेककै विषय छ । लापरबाहीका घटना सार्वजनिक भएर आलोचना बढ्दा छानबिन समिति गठन गरेको देखिन्छ तर समितिले कसैको कमजोरी औंल्याएको र कारबाही गरिएको घटना विरलै छ । यसपालि उत्तरपुस्तिका हराएको विषयमा पनि त्रिवि रजिस्ट्रारको नेतृत्वमा रहेको परीक्षा समितिले छानबिन समिति बनाएको थियो । समितिले प्रतिवेदन तयार गरिसकेको बताउँछ तर परीक्षा समितिमा पेस गरिएको छैन । यसको पछि उन्मुक्ति दिने प्रपञ्च त होइन भन्ने संशय बढाएको छ । गत वर्ष झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराउँदा पनि कसैलाई कारबाही भएन । यसरी उन्मुक्ति दिइन्जेल लापरबाही न्यूनीकरण हुन सक्दैन ।

मुलुकको उच्च शिक्षामा करिब ८० प्रतिशत हिस्सा ओगटेको जेठो विश्वविद्यालयको छवि लथालिङ्ग परीक्षा प्रणालीले धमिल्याइरहेको छ । परीक्षा प्रणालीमा यस्तो हेलचेक्र्याइँ त्रिविका लागि लज्जाको विषय हुनुपर्ने हो । त्रिवि पदाधिकारीले समग्र परीक्षा प्रणाली सुधार गर्ने, कमजोरी नदोहोर्‍याउने सार्वजनिक प्रतिबद्धता पनि गरिरहेका हुन्छन् तर कार्यान्वयनमा दृढ हुँदैनन् । यसबाट लाखौं विद्यार्थीको शैक्षिक करिअरमा असर परिरहेको छ । परीक्षा प्रणालीको यस्तो हेलचेक्र्याइँप्रति त्रिवि गम्भीर बन्नुपर्छ ।

राजनीतिक आस्था/पहुँचका आधारमा नियुक्ति पाएका कर्मचारीलाई दलविशेषको संरक्षणमा कारबाहीबाट उम्काउने गरिएको देखिन्छ । त्यसैले कर्मचारी नियुक्ति प्रणालीबाटै सुधारको थालनी हुनुपर्छ । विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, नतिजा पुनर्योग, विवरण सच्याउने लगायतका कामका लागि परीक्षा नियन्त्रण कार्यालय नै धाउनुपर्ने र कोठा–कोठा चहार्नुपर्ने, लाइन लाग्नुपर्ने अवस्था छ । भीडले कर्मचारीको कामकाज प्रभावित हुने गरेको छ । अनलाइन सेवा प्रभावकारी बनाए यस्तो भीड हट्छ । परीक्षार्थीको उत्तरपुस्तिकाको सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्छ । उत्तरपुस्तिका जाँचलाई पनि प्रश्नरहित बनाउनुपर्छ । कहीँकतै लापरबाही भए सम्बन्धितलाई कारबाही गर्ने थिति मात्र बसाल्ने हो भने आफ्नो जिम्मेवारी निर्बाहमा हरेक व्यक्ति सजग रहन्छ, धेरै समस्या स्वतः न्यूनीकरण हुन्छ ।

प्रकाशित : चैत्र १५, २०८० ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?