कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

रास्वपालाई केही प्रश्न

सत्ता राजनीतिको फोहोरमा लुटपुटिएर रास्वपाले जुन अवसरवाद देखायो, त्यो वैकल्पिक राजनीतिको महाभ्रम हो । यो भ्रमले राजनीतिलाई अझ दूषित गर्छ, किमार्थ सङ्लो बनाउँदैन ।
केशव दाहाल

तपाईं मात्र स्याबासी चाहनुहुन्छ भने राजनीतिमा नआउनुहोस् । कुनै व्यवसाय गर्नुहोस् । अन्यथा, राजनीतिमै हुनुहुन्छ भने आलोचना र प्रश्न सुन्न तयार रहनुहोस् । राजनीतिमा आलोचना र प्रश्न स्वाभाविक मात्र होइन, अनिवार्य हुन्छ । किनभने, कुनै पनि राजनीतिक दल दलका सदस्यको मात्र सरोकारको विषय होइन । कुनै नेता त्यो दलको मात्र नेता हुँदैन । ती यसकारण सार्वजनिक हुन्छन् कि उनीहरूले गर्ने निर्णयले सार्वजनिक जीवनमा प्रभाव पारिरहेका हुन्छन् ।

रास्वपालाई केही प्रश्न

दल, नेतृत्व र त्यसका निर्णय सार्वजनिक चासोका विषय हुन् । त्यसैले तिनीहरूमाथि टिप्पणी, समर्थन, विरोध, प्रश्न र आलोचना हुन्छ । आलोचना र प्रश्न नहुने हो भने लोकतन्त्र जीवन्त बन्दैन । दलहरू भुत्ते हुन्छन् र नेता हुन्छन् बेलगाम । यो लेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), यसको राजनीति र पछिल्लो सत्ता हिस्सेदारीमाथि आलोचनात्मक विवेचना गरिएको छ । रास्वपाका साथीहरू आलोचना सुन्न तयार हुनुहोस् । यसले तपाईंलाई जिम्मेवार र उदार बनाउँदै लैजानेछ ।

सकारात्मक सन्दर्भबाट लेखको प्रारम्भ गरौं । रास्वपा नेपाली राजनीतिको एक सुखद प्रयत्न थियो । जसका तीन कारण छन् । पहिलो, यसले राजनीतिमा कमजोर हुँदै गएको वैकल्पिक राजनीतिक धार (?) लाई जीवित राख्ने प्रयत्न गर्‍यो । दोस्रो, पुराना राजनीतिक दलहरूमाथि सानदार प्रश्नहरू उठायो । तेस्रो, परम्परागत राजनीतिलाई यसले निर्वाचनका माध्यमबाट हस्तक्षेप गर्ने प्रयत्न गर्‍यो । यी वास्तवमै निकै चाखलाग्दा र महत्त्वपूर्ण काम हुन् । तर, एक वर्षयता रास्वपाले केही गम्भीर कमजोरी गर्‍यो । सत्तालिप्सा र अतिरञ्जित शक्तिको हतारो तीव्र देखियो । उदाहरणका लागि, एक वर्षमा तीन पटक सत्तापक्ष र प्रतिपक्षको कित्ता फेर्‍यो । निर्वाचनलगत्तै दाहाल–ओलीको गठबन्धनमा गयो । आँखा झिमिक्क नगर्दै प्रतिपक्षमा उभियो र फेरि अहिले दाहाल सरकारमा सहभागी भयो । यो बेकामे खटपटीको भाउतो किन आइलाग्यो रास्वपालाई ?

कुनै बेलाका कमल, उपेन्द्र वा राजेन्द्रलाई समेत बिर्साउने यो कुदाकुद र खटपटीको कारण के थियो भनेर हेर्ने हो भने ऊसँग फगत सत्ताको आकांक्षाबाहेक न कुनै गतिलो राजनीतिक कारण देखिन्छ, न मतदाताको म्यान्डेट । न त गतिलो मुद्दा, न परिवर्तनको वस्तुगत संकल्प । यो प्रवृत्ति पुराना दलभन्दा न फरक थियो, न त रचनात्मक । उस्तै, अँध्यारोमा गोप्य बैठक, अपारदर्शी मोलमोलाइ (अन्यथा गृहमन्त्री असम्भव थियो), उपप्रधानमन्त्रीको भीड र नीतिहीन (किनभने ८ बुँदे सहमति कुनै नीति होइन) गठजोड । पुरानै दलजस्तो प्रतिपक्षी बेन्चलाई कमजोर ठान्ने भ्रम कसरी पलायो रास्वपामा ? उस्तै लाजमर्दो प्रवृत्ति र भद्दा कुदाकुद । हिजो आफैंले भ्रष्ट भनेका नेतासँग चोचोमोचो र गठजोड । यो सबै गर्न रास्वपालाई किन सरम लागेन ? मान्छेहरू भन्छन् यसका तीन कारण छन्– रविको सत्ताकांक्षा, रविको त्रास र रविको महत्त्वाकांक्षा ।

प्रश्न आउन सक्छ– राजनीति भनेकै सत्ता हो, सत्तामा नगई कहाँ जाने ? अवश्य नै सत्तामा जानुपर्छ । तर, एउटा जिम्मेवार दललाई सत्तामा जान कारण चाहिन्छ । विचार गरौं त, अहिले सत्तामा जानका लागि रास्वपाले सार्वजनिक गरेको एजेन्डा के हो ? संकल्प के हो ? ऊ सत्तामा जाने निर्णय पार्टीको कुन तहमा भयो ? सत्तामा जाने रास्वपाको तयारी के थियो ? यसका लागि ऊसँग के कस्ता दीर्घकालीन सोच, रणनीति र रोडम्याप थिए । त्यस्तो त कतै देखिँदैन । रविका भाषणहरू नै नीति हुन् भने अलग कुरा, अन्यथा कतै सुविचारित छलफल र गृहकार्य भएको छैन । न सत्ता गठबन्धनले तयार गरेको ८ वा ७ बुँदेमा त्यस्तो केही देखिन्छ, न त पार्टीले कुनै संकल्प सार्वजनिक गरेको छ । न कतै राजनीतिक आवश्यकताको नवीन र रचनात्मक प्रस्तुति छ, न त ऐतिहासिकता पुष्टि गर्ने यथोचित कारण । यो कुनै लिखित नीतिका आधारमा बनेको गठबन्धन पनि होइन । अन्यथा, विचार गरौं त आठबुँदेमा कुन त्यस्तो नीति छ, जसले रास्वपालाई पुराना र आफैंले प्रश्न गरेका दलसँग हातेमालो गर्न प्रेरित गर्छ ?

प्रधानमन्त्री दाहाललाई विश्वासको मत मागिरहँदा, रास्वपा नेता स्वर्णिम वाग्ले भन्दै थिए, ‘प्रधानमन्त्रीको हुटहुटीलाई साथ दिन आवश्यक थियो ।’ तर त्यो हुटहुटी कहाँ लेखियो, कहाँ देखियो ? कोठे बैठकमा हुटहुटी देखिएको थियो कि सत्ताको न्यानो सिंहासनमा ? अन्यथा खोइ त त्यो हुटहुटीको दस्ताबेज । स्वयं रास्वपा, रवि र स्वर्णिमले पटकपटक असफल भनेको प्रधानमन्त्रीमा हुटहुटी देख्ने नयाँ दृष्टि र आधार के थियो ? स्वर्णिम भन्दै थिए, ‘एउटा राजनीतिक दललाई अनुभव पनि चाहिन्छ र फ्रेसनेस पनि ।’

तर, अनुभवका लागि रास्वपाले आज हिँडेको बाटो र हिजो उपेन्द्र, दाहाल, देउवा, माधव, कमल वा ओली हिँडेको बाटोमा फरक त हुनुपर्छ । नर्क जाने बाटो हिँडेर स्वर्ग पुगिन्छ कसरी ?

अर्को आलोचना र प्रश्न छ– हिजो निर्वाचनमा, नो नट अगेनको भ्रम किन छरियो ? रास्वपाले (लामिछाने) गत आमनिर्वाचनमा लगाएको नारा थियो– नो नट अगेन । खासमा रास्वपाले पुरानो सम्पूर्ण पुस्तालाई राजनीतिबाट बिदा गर्ने प्रस्ताव गरेको थियो । त्यसैले ऊ लोकप्रिय पनि भयो र मतदाताले उसलाई मतदान गरे । तर चुनावअघि एउटा कुरा, चुनावपछि अर्कै । मान्छेहरूको अपेक्षा थियो, रास्वपाले दूरगामी महत्त्वका राजनीतिक, वैचारिक र संगठनात्मक काममा आफूलाई केन्द्रित गर्नेछ । सुसंस्कृत राजनीतिको जग बनाउनेछ । एउटा बलियो राजनीतिक शक्तिका रूपमा उदाउनेछ ।

केही अगाडि मात्र, स्वयं रविले एउटा ट्वीटमा भनेका थिए– ‘अब यो चार वर्ष तपाईंहरू नै मिल्नुस् । हामी बाहेकको सहमतीय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । हामी ८४ अगाडि कोहीसँग मिल्दैनौं । तपाईंहरू सबै मिलेर रास्वपाविरुद्धको गठबन्धन बनाए हुन्छ । उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि सटरचाहिँ किन बेग्लाबेग्लै ।’ परिस्थिति फेरिएको हो भने के राजनीतिक रूपमा फेरियो भन्नुपर्‍यो । हिजो भनेको कुरा ठीक थिएन भने माफी माग्नुपर्‍यो । अन्यथा, कसैलाई गाली गरेर समाजलाई उत्तेजित गर्ने र आफू भने आफैंले पत्रु भनेकाहरूसँग मिलेर झन्डा हल्लाउँदै हिँड्ने ? केही समयअगाडि बालकुमारीमा एउटा दुःखद घटना भयो । प्रदर्शनमा प्रहरीको गोली लागी दुई युवा मारिए । मृत्यु हुने युवाको पक्षमा भएको प्रदर्शनमा सहभागी रास्वपा सांसद तोसिमा कार्कीले हातमा प्लेकार्ड लिएर भन्दै थिइन्, ‘सत्र हजार प्लस दुई ।’ तिनै तोसिमाको पार्टी रास्वपा दाहालका अगाडि घुँडा टेक्न पुग्यो । सडकमा एउटा कुरा भन्ने र व्यवहारमा अर्को काम गर्ने विश्वासयोग्य र परिपक्व राजनीति हो ? यसरी सत्ता राजनीतिको फोहोरमा लुटपुटिएर रास्वपाले जुन अवसरवाद देखायो, त्यो वैकल्पिक राजनीतिको महाभ्रम हो । यो भ्रमले राजनीतिलाई अझ दूषित गर्छ, किमार्थ सङ्लो बनाउँदैन ।

अर्को कन्फ्लिक्ट अफ इन्ट्रेस्टको प्रश्न पनि छ । जस्तो कि सबैलाई थाहा छ, रास्वपाका सभापति रवि अहिले सहकारी ठगी प्रकरणमा सार्वजनिक शंकामा छन् । पछिल्लो समय उनलाई समेत मुछेर (गोर्खा मिडिया प्रालि र कतिपय सहकारी) आर्थिक घोटालामा छानबिन गर्न निवेदन परेको छ । उनका साझेदारमध्ये कोही नेपाल प्रहरीको खोजीमा छन्, कोही इन्टरपोलको । यस्तो बेला रविलाई गृहमन्त्री दिन गठबन्धन कसरी तयार भयो ? सुशासनको कुरा गर्ने र सुसंस्कृत राजनीतिको दुहाई दिने उनी स्वयं गृहमन्त्री हुन कसरी तयार भए ? के कन्फ्लिक्ट अफ इन्ट्रेस्टको मुद्दा रविको हकमा लागू हुँदैन ? उनलाई प्रश्न छ– आफैं शंकामा भएको मान्छे, के तपार्इं आफ्नै फाइल खोल्न सक्नुहुन्छ ? आफैं संलग्न, गठबन्धनका स्वामीहरूका भ्रष्टाचारका काण्ड खोल्न सक्नुहुन्छ ? पछिल्लो समय पुन र सुनको चर्चाले जसरी बजार तातेको छ, के गृहमन्त्रीसँग त्यसमा अनुसन्धान गर्ने हिम्मत छ ? हिजो आफैंले सोधेका, क्यान्टोनमेन्टका प्रश्नमा के हुन्छ ? यतीमा के हुन्छ ? ओम्नीमा के हुन्छ ? अन्यथा, मान्छेलाई भ्रमित र बेबकुफ कहिलेसम्म बनाउने ?’

लोकप्रिय हुनु र परिवर्तनको कार्यभार बोक्नु फरक कुरा हो । परिवर्तन भनेको कुनै बोक्रे कुरा होइन । यो एक दिनको तमासा होइन । एक दिन रोस्ट्रममा उभिएर मिठो बोल्नु मात्र पनि होइन । अथवा, फगत केही निर्वाचन जित्नु मात्र परिवर्तन होइन । कुनै बेला राप्रपाले २२ सिट जितेको थियो । उपेन्द्र यादव एक समय मधेशका मसिहा थिए । बाबुरामलाई काम गर्न देऊ भनेर कुनै बेला काठमाडौंमा नारा लगेको थियो । ओलीलाई स्वयं कांग्रेसहरूले पनि कुनै बेला राजनेता मानेका थिए । तर किन त्यो लोकप्रियताले नेपाली राजनीति बदल्न सकेन ? त्यो सबै हुँदाहुँदै पनि किन सत्ताको चरित्र फेरिएन ? किन वैकल्पिक राजनीतिको आवश्यकता बोध भयो ? किनभने, त्यो हामीले खोजेको राजनीति थिएन । त्यो विचारको सुसंस्कृत राजनीति थिएन । लोकतान्त्रिक राजनीति थिएन । उनीहरू सबै नयाँ अनुहारमा आएका पुरानै राजनीतिका पात्र थिए । त्यसैले न उनीहरूको लोकप्रियता दिगो भयो, न त अनुहार । किनभने त्यो राजनीतिको चरित्र बदल्ने दायित्वबाट टाढा थियो । त्यो मात्र सत्ताका लागि गरिएको चटक थियो । त्यो राजनीतिमा नयाँ गर्ने हुटहुटी थिएन बरु नयाँ चरित्रको सत्तालिप्सा थियो । त्यो होहल्ला थियो । होहल्लाले एकछिनलाई रमाइलो हुन्छ । तर, परिणाम निकाल्न राजनीतिको मुहानै सफा गर्नुपर्छ । चरित्र बदल्नुपर्छ । त्यसका लागि सिंहदरबार होइन, नयाँ पार्टीका लागि नागरिकको आँगन महत्त्वपूर्ण हुन्छ । आफ्नो राजनीतिले आकार नलिई सत्तामा रमाउने हो भने त्यो राजनीतिको नयाँ बिरुवा, घनघोर आँधीमा कसरी टिक्छ ? नेताहरूको महत्त्वाकांक्षामा फसेको राजनीति न सफल हुन्छ, न त पार्टी ? रास्वपाले यो कुरा खोइ बुझेको ?

राजनीतिमा सफल हुनु भनेको के हो ? ठूलो पार्टी बनाउनु सफलता कि राम्रो पार्टी बनाउनु ? जसरी पनि चुनाव जित्नु सफलता कि स्वच्छ निर्वाचनका लागि योगदान गर्नु ? राजनीतिलाई निष्ठा र नैतिकताको मानक बनाउनु सफलता कि राजनीतिलाई षड्यन्त्र र दलालीको साधन बनाउनु हो ? नेपाली राजनीतिमा अनेकौं पटक प्रधानमन्त्री हुने देउवा सफल कि छोटो समय प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई ? आमरूपमा कहिल्यै सत्तामा नगएका गणेशमान र प्रदीप गिरी सफल कि सधैं सत्ताको सिंहासनमा विराजमान भाग्यमानी शरतसिंह, उपेन्द्र वा विजयकुमार ? कम्युनिस्टतिर फर्किएर हेर्दा कहिल्यै प्रधानमन्त्री नभएका मदन र पुष्पलाल सफल कि पटकपटक प्रधानमन्त्री भएका केपी, माधव, पुष्पकमल वा झलनाथ ? अथवा, मान्छेलाई सधैं जागरुक गर्ने ऊर्जाशील रूपचन्द्र विष्ट सफल कि पटकपटक मन्त्री भएका ऊर्जाविहीन अरू कोही ? पार्टी खोलेर पनि पार्टी बनाउन नसकेका देवेन्द्रराज पाण्डे सफल कि पटकपटक चुनाव जितेर पनि मान्छेलाई प्रेरित नगर्ने केही थान बासी माननीयहरू सफल ? अथवा, राजनीतिमा लागेर निरन्तर सत्ता र सम्पत्ति आर्जन गर्ने सफल कि राजनीतिमा नैतिकता, उदारता र सदाचारको उदाहरण स्थापित गर्ने मान्छे सफल ?

एक थान पार्टी खोल्नु, पार्टी ठूलो बनाउनु, सरकारमा पुग्नु र जसरी पनि टिकिरहनु राजनीति होइन । यहाँ मात्र चुनाव जित्नुलाई सफलता मानिन्छ । सरकार बनाउनुलाई सफलता मानिन्छ । सरकारमा टिकिरहनुलाई सफलता मानिन्छ । रास्वपा यो मान्यतालाई बदल्न आएको होइन र ? त्यसो भए, राजनीतिको मूललाई फोहोर राखेर घैलामा सफा पानी उठाउँछु भन्नु रास्वपाको कस्तो मूर्खता ? अथवा, रास्वपा स्वयं मूर्ख भएको हो कि नागरिकलाई मूर्ख बनाएको ? सत्तामा जान गर्नुपर्ने आधारभूत तयारी, विमर्श, एजेन्डा र त्यसको पवित्रता खोइ ?

जगजाहेर छ, चलनचल्तीको राजनीतिले नागरिकलाई भन्दा पार्टीलाई धेरै महत्त्व दियो । त्यसैले हामीले त्यस्तो राजनीतिको आलोचना गर्‍यौं । चलनचल्तीको राजनीतिले निष्ठा र नैतिकतालाई भन्दा धेरै सत्ता र सरकारलाई महत्त्व दियो । त्यसैले नयाँ राजनीतिको आवश्यकता बोध भयो । मान्छेहरूले भने, राजनीति फोहोर भयो । राजनीति भ्रष्ट भयो । राजनीतिको लक्ष्य हरायो । राजनीति लोकतान्त्रिक भएन । पार्टीतन्त्र हाबी भयो । प्रश्न आउँछ– त्यसलाई बदल्न रविहरूले प्रयत्न गरे कि ती तमाम विकृत्तिसँग गठबन्धन गरेर स्वयं आफैंलाई फोहोर बनाए ? बरालिएको, अनैतिक र अमर्यादित सत्तालाई सम्हाल्ने योजना खोइ ? त्यो पवित्र योजना भुलेर फोहोरमै हाम फाल्नुको के अर्थ ?

किनभने, रास्वपाको पछिल्लो कदमले त उल्टो भ्रष्टाचारलाई पो अनुमोदन गर्‍यो । राजनीतिक अस्थिरतालाई पो अनुमोदन गर्‍यो । सत्तालिप्सालाई पो अनुमोदन गर्‍यो । यसरी रास्वपाले पुरानाहरूको तमाम असफलतालाई अनुमोदन गर्‍यो र आफूलाई पुरानामै विलय गरिदियो । राजनीतिको विशाल आकाश नदेखी गठबन्धनको रातो घरमा पस्न रवि र रास्वपालाई केको हतार ? सायद, यसरी नै त हो राजनीति उल्टोपाल्टो हुने । यसरी नै त हो, राजनीति बिग्रने । फगत एक जना व्यक्ति उपप्रधानमन्त्री हुनलाई रास्वपा गठन गरेको हो भने त उपेन्द्र यादवले पटकपटक त्यो काम गरेकै छन् । अन्यथा, हामीलाई अर्को एक थान नयाँ पार्टी किन चाहियो ?

प्रकाशित : चैत्र २, २०८० ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?