२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उत्पादनलाई जोड्ने विकास मोडेल

विकास गाउँ पुग्दै जानु तर बस्ती रित्तिँदै जानुमा केही हदसम्म हाम्रो विकासको मोडेल उत्पादनलाई जोड्ने नभएर सदरमुकामलाई जोड्नेमा केन्द्रित भयो। गाउँघरको उत्पादनलाई सहरसाग जोड्ने काम मात्र गर्न सकिए नेपालमै बसेर आम्दानी गर्ने वातावरण बन्न सक्थ्यो।

हार्भर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक ड्यानी रोड्रिकले एक पटक ‘अस्ट्रेलियामा गरिब हुन ठीक कि पपुवा न्युगिनीमा धनी हुनु ठीक ?’ भन्ने प्रश्न गरे । सरलजस्तो लाग्ने यो प्रश्नका पछाडि गहिरो कुरा लुकेको छ । वास्तवमा समृद्धि के हो त ? कस्तो गरिबीलाई गरिबी मान्ने ? समाजले कतिसम्मको असुरक्षा र असमानता सहन गर्न सक्छ ? गरिबै भए पनि भविष्य सुरक्षित भएको ठाउँमा जीवन जिउने कि नकारात्मक, अराजक र निराश समाजमा सकीनसकी बाँकी जिन्दगी कटाउने ?

उत्पादनलाई जोड्ने विकास मोडेल

बीसौं वर्षदेखि काठमाडौंमा दुईवटा काठका उद्योग चलाइरहेका एक जना मित्रले मलाई उनको अवस्था यसरी सुनाए, ‘मैले महिनाको १०–१५ लाख कमाउन नसक्ने होइन । तर, नेपाल यस्तै रहे कुन बेला सडकमा आइने हो । त्यही भएर आफ्नो भविष्य सुरक्षित बनाऊँ भनेर मेरा दुईवटै छोरालाई अस्ट्रेलिया पठाएँ ।’

नेपालमा देशभित्रै केही गरिखाऊँ भन्ने तप्कामा समेत सामाजिक र आर्थिक असुरक्षाको महसुस भइरहेको छ भने राजनीतिक स्थिरता, विकास र समृद्धिका हिसाबले देश कता जाला भन्ने अन्योल कायमै छ । देशको राजनीति सत्ता र शक्तिकै वरिपरि घुमिरहेका कारण होला राजनीतिक प्रणाली र राज्यका मुख्य संस्थाप्रति निराशा र असन्तुष्टि मात्र बढिरहेको छैन, समग्र राजनीतिप्रति नेपाली समाज नकारात्मक हुँदै गइरहेको छ । दक्ष र अदक्ष जनशक्ति पलायनको कुरालाई केही राजनीतिज्ञ र नीतिकारहरूले पुराना पार्टीप्रति नकारात्मकता बढाउन उछालेको मुद्दाका रूपमा लिएका छन् । तर यसका पछाडि सामाजिक, आर्थिक, राजनीतिक र जनसंख्याको बदलिँदो स्वरूप मुख्य कारण रहेका छन् । जस्तो कि एक जना नेपाली विदेश किन जाँदो रहेछ भन्ने केही उदाहरण लिऔं ।

मध्यम वा निम्न आय भएको परिवारको एक युवा । उनले पल्लो घरको दाइले घरजग्गा बेचेर भए पनि खाडी वा मलेसियामा गएर पैसा कमाएको देखेका छन् । आखिर खाडी वा मलेसिया नै जानुछ भने किन १० वा १२ कक्षा पढ्ने वा कलेज र विश्वविद्यालयमा समय खेर फाल्ने भनेर सोचिरहेका छन् । मध्यम वा उच्च आय भएको घरकी एउटी छोरी जो राम्रै निजी विद्यालयमा १२ कक्षामा पढिरहेकी छन् ।

आफ्नो स्कुलका आफूभन्दा माथिका कक्षामा पढ्नेहरू अधिकांश अस्ट्रेलिया, जापान, अमेरिका वा बेलायत पढ्न गएको देखेकी छन् । नेपालका राम्रो कलेज पढ्दा खर्च उस्तैउस्तै लाग्ने भए किन बाहिर पढ्न नजाने भनेर बाउ–आमालाई दिनरात अनुरोध गरिरहेकी छन् । नेपालमा राम्रै अंक ल्याएर भर्खर डाक्टर वा नर्स बनेकाहरू छन् । विकसित देशले दक्ष जनशक्तिका लागि श्रम बजार खोलिरहेका छन् । विश्व हेर्न र देख्न पनि पाइने, आम्दानी र भविष्यको सुरक्षाका लागि नेपाल बस्नुभन्दा विदेशै ठीक हुने भन्ने सोच बनाएका छन् ।

एक जनाको निजामती सेवामा राम्रै जागिर छ तर विदेशमा स्थायी रूपमा बस्ने अवसर आयो । डीभी पर्‍यो वा क्यानडा वा डेनमार्कमा स्थायी बसोबासका लागि भरेको आवेदन स्वीकृत भयो । आफ्नो जीवन त जे भयो भयो, केटाकेटीका लागि जागिर नै छोडेर भए पनि बसाइँसराइ किन नगर्ने ? सेना वा प्रहरीमा पाँच–छ वर्ष जागिर खाएको अनुभव छ । तलब हेर्दा वा आफ्नै भविष्य हेर्दा यहीं चौबिस घण्टा ड्युटी र थोरै पैसामा गुजारा गर्नुभन्दा सुरक्षाको खतरै भए पनि अफगानिस्तान, इराक, युक्रेन वा रुसमा गएर किन पैसा नकमाउने ? एउटा मेधावी इन्जिनियर जसले धेरै सरकारी रोजगारीका लागि कोसिस गरे तर नातावाद, कृपावाद, राजनीतीकरण वा घुसतन्त्रका कारण जागिर खान सफल भएनन् । नेपालमा प्रतिस्पर्धी भएर केही नहुने रहेछ भन्ने अनुभव गरे । प्रणाली र देशकै भविष्यप्रति निराश भएर विदेश जाने निधो गरे ।

एकचोटि प्रधानमन्त्री पुष्पकमल दाहालले ‘रोल्पाको एउटा स्कुलमा हेडमास्टर छ, महिनाको ८० हजार तलब खान्छ तर ८० लाख तिरेर तल्लो बाटो हिँडेर अमेरिका जान आतुर छ’ भन्ने उदाहरण दिएका थिए । उनले लाखौं पैसा खर्च गरेर तल्लो बाटो अमेरिका गएकाहरू उता के गरिरहेका छन् भन्ने देखेका छैनन्, तर हरेक दिन आँखैअगाडि गाउँ रित्तिँदै गएको चाहिँ देखेका छन् । प्रधानमन्त्रीले यी पात्रको विवेक नभएको वा सोचविचार नगरिएको व्यवहारलाई इंगित गरेका होलान्, तर नेपालीको बढ्दो पलायनलाई बुझ्न सामाजिक, जनसांख्यिक, आर्थिक र राजनीतिक सबै पाटो केलाउन जरुरी छ ।

गत ३० वर्षमा नेपाली समाज अत्यन्त चलायमान भएको र नेपालीको चेतनास्तर पनि उलेख्य बढेको देखिन्छ । कुल जनसंख्याको झन्डै २०–२५ प्रतिशत नेपाली विश्वभरि छरिएका छन् । नेपालको ठूलो पुँजी नेपाली ‘डायस्पोरा’ पनि हो । आफ्नो मातृभूमिमा पैसा पठाउने हिसाबले नेपाल विश्वमा नवौं देशमा पर्छ, सन् २०२२ मा कुल गार्हस्थ्य उत्पादनको २३ प्रतिशतजति विप्रेषण भित्रिएको छ । समाजको खुलापन र लोकतन्त्रको प्रक्रियासँगै नेपालभित्र र बाहिर के भइरहेको छ भन्ने चासो, निगरानी र जानकारी राख्ने नेपालीको संख्या पनि बढेको छ, भलै केही राजनीतिज्ञले नेपालबाहिर बस्नेले बिहान उठ्नेबित्तिकै आँखाका चिप्रा पुछेर नेपालमा रहेकालाई गाली गर्छन् भन्ने रूपले बुझे पनि । विकासको इतिहास हेर्ने हो भने गाउँबाट सहरमा हुने बसाइँसराइलाई स्वाभाविक ठानिन्छ ।

सन् २०२३ को आँकडाअनुसार विश्वको ५७ प्रतिशत जनसंख्या सहरमा बस्छ । बढ्दो सहरीकरणसँगै रोजगारी, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा सहरहरूले बसाइँसराइअनुसारको प्रगति गर्न सकेनन् भने बढ्दो सहरीकरणले विकासमा झन् चुनौती थप्दै जान्छ । नेपालमा विकास गाउँ पुग्दै छ भने बस्ती रित्तिँदै छन् । हाम्रो विकासको मोडेल उत्पादनसँग जोडिने बनाउन सकिएको छैन । नेपालको जनगणना २०७८ अनुसार समग्र सहरीकरणको दर ५ प्रतिशत बढी छ भने कुनै कुनै सहर त ७ प्रतिशत हाराहारीमा बढिरहेका छन् । मध्यपहाडी राजमार्गले छोएका २० वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ । यसै पनि नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा मुनि (०.९२) अर्थात् विश्वको औसत वृद्धिदर १.०१ प्रतिशतभन्दा तल छ ।

नेपालको अध्यागमन विभागले सन् २०२३ मा नेपालबाट बाहिर जाने १६ लाखजतिमा करिब ३ लाख विदेश बस्ने गरी गएका र भारतबाट विदेश जानेको तथ्यांक थाहा नभएको जनाएको छ । जति जनसंख्या वृद्धि भयो त्यत्तिकै संख्यामा युवा (दक्ष र अदक्ष) जनशक्ति विदेश पलायन हुने हो भने नेपालका लागि चाहिने जनशक्तिको अभाव खट्किने निश्चित छ । अहिले नेपालमा ४० वर्षमुनिको जनसंख्या ६० प्रतिशतजति भए पनि समयअनुसार युवाको जनसंख्या घट्दै जानेछ । १४ वर्षमुनिको जनसंख्या ७ प्रतिशत जतिले घटिरहेको छ भने अबको २०–२५ वर्षमा ६० वर्षमाथिको जनसंख्या झन्डै १६ प्रतिशत पुग्नेछ । युवा जनसंख्याको भरपुर फाइदा उठाएर विकास र समृद्धिमा छलाङ मार्न नेपालसँग २–३ दशकको मात्र समय छ ।

जनसंख्या मात्रले विकास अघि बढ्ने होइन । एकातिर श्रम बजारमा आउने जनसंख्याको गुणस्तर (शिक्षा, स्वास्थ्य, सीप आदि) का कुरा छन् भने अर्कातिर देशको अर्थतन्त्रले हरेक वर्ष श्रम बजारमा थपिने युवालाई रोजगारीका अवसर सिर्जना गर्न सक्छ कि सक्दैन भन्ने हो । नेपालमा करिब ४ लाखजति युवा हरेक वर्ष श्रम बजारमा थपिने गर्छन् भने युवामा बेरोजगारी १५–२९ प्रतिशतसम्म छ भनिन्छ ।

नेपालको अर्थतन्त्र बिस्तारै ‘लाहुरे अर्थतन्त्र’ मा रूपान्तरण भएको छ । ३० वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारी छ भने उद्योगको हिस्सा कुल गार्हस्थ्य उत्पादनको ४–५ प्रतिशतमा खुम्चिएको छ । अर्थतन्त्रको संरचनामा परिवर्तन नभए देशभित्र धेरै रोजगारीका अवसर सिर्जना गर्न सकिने अवस्था छैन । जस्तो कि नेपालले कुन यस्तो क्षेत्रको विकास गरेको छ जसले अन्तर्राष्ट्रियस्तरमै ठूलो बजार बनाउन सकेको छ ? विश्वका विकसित र मध्यम आय भएका देशले आफ्नो देशको जनसंख्याको स्वरूपमा आएको वा आउने परिवर्तन (जस्तोः ऋणात्मक वृद्धिदर वा युवाको तुलनामा बढ्दै गएको ज्येष्ठ नागरिकको संख्या) का कारण नेपालजस्तो देशबाट सस्तो श्रमशक्ति ल्याएर आफ्नो प्रतिस्पर्धी क्षेत्रहरूको विकास गरिरहेका छन् ।

अर्थतन्त्र सुधार्न, रोजगारीका अवसर सिर्जना गर्न वा नागरिकको जीवनस्तर सुधार्न केही समय लाग्छ तर सरकारमाथि नागरिकको भरोसा टुट्दै गयो भने नेपालजस्तो देशमा दक्ष र अदक्ष जनशक्तिको पलायन त पक्कै बढ्ने नै भयो । उसै पनि अहिले करिब आधाभन्दा धेरै विश्वको जनसंख्याले आफ्नो सरकारले केही गर्नेछ भन्ने भरोसा गर्दैन ।

अब प्रश्न उठ्छ, पलायन रोक्न तत्काल र दीर्घकालीन रूपमा के गर्नुपर्छ त ?

गत ३० वर्षमा नेपालको सामाजिक बनोटमा आएको परिवर्तन (जस्तोः जनसंख्याको परिवर्तित स्वरूप, बसाइँसराइ र विदेश पलायन) ले एउटा नेपालभित्रको र अर्को बाहिरको गरी दुई नेपालको सिर्जना गरेको छ । विकसित मुलुक र अरू नयाँ गन्तव्यका श्रम बजार खोलिँदै जाँदा नेपालजस्ता देशबाट श्रम शक्ति र प्रतिभाको पलायन बढ्ने नै भयो । यही यथार्थलाई मनन गरेर देशका विकास र आर्थिक नीतिहरूको प्रभावकारी तर्जुमा र कार्यान्वयन गरौं । अबका आवधिक योजना र बजेटले यो परिवर्तनलाई ध्यान नदिएर उही पुरातनवादी नीति र कार्यक्रममै अल्झिने हो भने न्यून मध्यम आयको चक्र (लो मिडिल इन्कम ट्र्याप’) मा नेपाल फसिरहने खतरा देखिन्छ ।

दीर्घकालीन रूपमा नेपालमा रोजगारी सिर्जना गर्न दक्षिण एसियाका अरू देशसँग तुलना गर्दा हाम्रा लगानीका प्रतिस्पर्धी क्षेत्रहरू के के हुने भन्ने पहिचान गरेर त्यसैमा लगानी बढाउन जरुरी छ । जस्तो कि पारवहन र व्यापारका हिसाबले दुई ठूला अर्थतन्त्र चीन र भारतलाई जोड्ने रोड र रेलरोड, यातायात, स्वास्थ्य र होटल लगायतका आधारभूत संरचना बलियो बनाएर ४०–५० लाख पर्यटक भित्र्याउने योजना, अन्तर्देशीय व्यापारका लागि जलविद्युत्, नेपालकै जडीबुटीमा आधारित औषधि उद्योग, निर्यातबाट प्रशस्त पैसा कमाउन सक्ने प्रचुर सम्भावना भएको सूचना प्रविधि, जैविक खेती वा नेपाललाई वित्तीय र बैंकिङ क्षेत्रको केन्द्र बनाउने महत्त्वाकांक्षी योजना वा सार्वजनिक शिक्षालाई राम्रो बनाएर निजी क्षेत्रका कलेज र विश्वविद्यालयमा भारत र चीनका विद्यार्थी तान्ने योजना आदि ।

विकास गाउँ पुग्दै जानु तर बस्ती रित्तिँदै जानुमा केही हदसम्म हाम्रो विकासको मोडेल उत्पादनलाई जोड्ने नभएर सदरमुकामलाई जोड्नेमा केन्द्रित भयो । गाउँघरको उत्पादनलाई सहरसँग जोड्ने काम मात्र गर्न सकिए नेपालमै बसेर आम्दानी गर्ने वातावरण बन्न सक्थ्यो । वैदेशिक रोजगारी बढ्यो तर वैदेशिक रोजगारमा हुनेले पठाएको पैसा वा उनीहरू नेपाल फर्केपछि ल्याएको सीप र अनुभवलाई उत्पादनसँग जोड्न सकिएन । हरेक वर्ष वैदेशिक रोजगारबाट नेपाल फर्किनेमध्ये ५० हजारजतिको मात्रै सीप, अनुभव र दक्षताको सदुपयोग गर्न सकिए नेपालमै रोजगारी सिर्जना हुने र यी मान्छे फेरि वैदेशिक रोजगारमा जान नपर्ने हुन्थ्यो । नेपालको सार्वजनिक शिक्षा र स्वास्थ्यमा लगानी बढाएर कलेज र विश्वविद्यालयको शिक्षा सर्वसुलभ र गुणस्तरीय बनाउन सके केही युवापुस्ता नेपालमै रोकिन सक्ने अवस्था आउनेछ ।

प्रदेश–प्रदेश, दुर्गम–सहर, गरिब–धनीबीचको आर्थिक र सामाजिक असमानतालाई घटाउने प्रभावकारी नीति र कार्यक्रमको कार्यान्वयन भए देशको समग्र अवस्था सप्रिनेछ । विद्यमान विभिन्न असमानता (लैंगिक, जातीय, भौगोलिक, सामाजिक, आम्दानी आदि) का कारण नेपालको मानव विकासमा २५ प्रतिशतले नोक्सान भएको भन्ने छ । भारतले अहिले रोड, रेल, पुल, टनेल लगायतका पूर्वाधारको गुणस्तरमा फड्को मारेझैं नेपालले यसमा ध्यान दिन जरुरी छ । नेपालमा १८ सयभन्दा बढी पुल आधा–आधा बनाएर छोडिएका रहेछन् । राष्ट्रिय गौरवका आयोजनामात्रै समयमा पूरा गरेको भए नेपालको विकासले फड्को मारिसक्थ्यो । उद्योगको लागत खर्च घटाउनेदेखि धेरै पर्यटक भित्र्याउने कुरा पूर्वाधारहरूको गुणस्तरमा भर पर्छ ।

विकास र समृद्धिका लागि अपरिहार्य भनेको राजनीतिक नेतृत्वले देशको भविष्यप्रति आशा जगाउनु हो । शासन गर्ने तौरतरिकामा अलिकतिमात्रै पारदर्शिता र जवाफदेहिता बढ्यो भने पनि देशभित्र केही गरौं भनेर रोकिने वा विदेशबाट समेत फर्किनेको संख्या बढ्नेछ ।

(राजनीति मात्र होइन, उद्योग, व्यवसाय, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंकिङ, सिनेमा, साहित्य सर्वत्र अहिले निराशा छ । देशले यो निराशाको भारी लामो समय बोक्न सक्दैन । सजीव विश्वास प्रवर्द्धन गर्न कान्तिपुरले सुरु गरेको छ विचार शृंखला–‘प्रस्थानबिन्दु’ जहाँ फरक–फरक विज्ञले लेख्नेछन् सुधारका प्रस्तावना, निरन्तर ।)

प्रकाशित : फाल्गुन २९, २०८० ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?