कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

‘बृहत्तर चितवन’ को सम्भावना

चितवन राष्ट्रिय निकुञ्ज यहीं छ । देवघाट, अयोध्याधाम, वाल्मीकि आश्रम, त्रिवेणी धामजस्ता धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाले यस क्षेत्रको महत्त्वलाई अझै बढाएको छ । यसरी चितवनलाई आर्थिक तथा वाणिज्य केन्द्रका रूपमा विकास गर्न ‘बृहत्तर चितवन’ को अवधारणा अगाडि बढाउन सकिने आधार छन् ।
दिलकुमारी रावल थापा

चितवन उपत्यका पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका अधिकांश भूभागलाई राजधानी काठमाडौंसम्म जोड्ने मुख्य ‘ट्रान्जिट पोइन्ट’ हो । त्यसो त चितवन भित्री मधेशको महत्त्वपूर्ण केन्द्र पनि हो । महाभारत र चुरे पहाडको काखमा रहेको यही भूभाग भएर नारायणी, रापती, बूढी, रापती, मनहरि, कयर, खगेरी, रिउजस्ता नदीनाला बग्छन् ।

‘बृहत्तर चितवन’ को सम्भावना

चितवन राष्ट्रिय निकुञ्ज यहीं छ । देवघाट, अयोध्याधाम, वाल्मीकि आश्रम, त्रिवेणी धामजस्ता धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाले यस क्षेत्रको महत्त्वलाई अझै बढाएको छ । यसरी चितवनलाई आर्थिक तथा वाणिज्य केन्द्रका रूपमा विकास गर्न ‘बृहत्तर चितवन’ को अवधारणा अगाडि बढाउन सकिने आधार छन् ।

चितवनलाई मुलुकको ७८औं जिल्लाका रूपमा लिने गरिन्छ । यहाँ देशका सबैजसो जिल्लाका बासिन्दा बसाइँ सरी आएका छन् । चितवन स्वास्थ्य क्षेत्रका लागि मुलुकको हब बन्दै गएको छ । उपचार र चिकित्साशास्त्र पढ्न आउनेको यहाँ भीड लाग्छ । अहिले गम्भीर बिरामी तथा घाइतेलाई सडकमार्ग हुँदै काठमाडौंसम्म ल्याउँदा अधिकांशले बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । सडकमार्ग हुँदै आउने मुख्य ‘ट्रान्जिट पोइन्ट’ चितवन मेडिकल सिटीका रूपमा विकास हुँदै गएको छ । मुख्यगरी भरतपुर अस्पताल र बीपी कोइराला क्यान्सर अस्पताललाई अत्याधुनिक सेवासुविधा सम्पन्न बनाउन, रोग पहिचानको नयाँ प्रविधि जडान गर्न र बिरामीमैत्री स्वास्थ्य सेवा प्रदान गर्न संघीय सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

शिक्षामा पनि चितवन अगाडि नै छ । चितवनमै रहेको कृषि तथा वन विश्वविद्यालयले मुलुकको आवश्यकतामा आधारित प्राविधिक जनशक्ति उत्पादन गर्न सक्नुपर्छ । विश्वविद्यालयको संरचना परिवर्तन र सुदृढीकरण गर्न ढिला भइसकेको छ । यस्ता विश्वविद्यालयमार्फत विद्यार्थीलाई स्वदेशमै रोक्ने वातावरणका लागि उपयुक्त कार्यक्रम तत्काल घोषणा गर्नुपर्छ । भारत र चीनलाई समेत जोड्ने केरुङ–ठोरी मार्ग निर्माणको चर्चा छँदै छ । यस आधारमा पनि नेपालको उपयुक्त वाणिज्य केन्द्रका रूपमा चितवनलाई विकास गर्न सकिनेछ । पहाडी भूभागहरू खाली हुँदै जाँदा तराई र उपत्यकामा जनघनत्व बढेको छ । जनघनत्व बढी भएका ठूला सहर काठमाडौं, पोखरा, बुटवल र वीरगन्जलाई लिंक गर्ने गरी सडक पूर्वाधार स्तरोन्नति गरेर जनघनत्व व्यवस्थापनका काम गर्न सकिन्छ । यसमा तीनै तहका सरकारको समन्वय, सहजीकरण र साझेदारीमा योजना निर्माण र सञ्चालन हुन आवश्यक छ ।

निकुञ्जसम्बन्धी विद्यमान कानुनी व्यवस्थाले स्थानीय जनताले निकुञ्जलाई अभिशापका रूपमा हेरिरहेका छन् । वन्यजन्तुको आक्रमणबाट स्थानीय बासिन्दा आजित भइसकेका छन् । यसको अन्त्यका लागि राज्यको संघीय संरचना अनुसार तत्काल निकुञ्जसम्बन्धी नयाँ कानुन निर्माण गर्न र मध्यवर्ती क्षेत्र व्यवस्थापनको नियमावली संशोधनमार्फत संरक्षित क्षेत्र प्रवर्द्धन गरी जनतामैत्री सम्पदाका रूपमा विकास गर्नुपर्छ ।

नारायणी नदीको प्रमुख उद्गमस्थल दामोदर कुण्ड–मुक्तिनाथ र गोसाइँकुण्ड, त्रिशूलीदेखि देवघाट, गोलाघाट, अयोध्याधाम, वाल्मीकि आश्रम, त्रिवेणीधामसम्मको क्षेत्रलाई विशेष धार्मिक क्षेत्रका रूपमा संरक्षण गर्दै देवघाटलाई प्रमुख पर्यटकीय धार्मिक केन्द्र बनाउनुपर्छ । चितवनको पुरानो सदरमुकाम उपरदाङगढी, अग्लोभूमि सिराइचुली, इच्छाकामना, देवघाट, गणेशधाम, दासढुंगा, बीपी नगरवन शिवघाट, गाजीपुर, मेघौली, गोलाघाट, सौराहा, कालिका तथा कंकाली मन्दिरसहित आदिवासीहरूको आस्था र विश्वासको केन्द्र बिक्रम बाबा, माडी पाण्डव गुफा, सोमेश्वर गढी, अयोध्यापुरी, वाल्मीकि आश्रम, त्रिवेणीधामसम्मका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन र विकास गर्न जरुरी छ ।

चितवन कृषि र सिँचाइमा पनि प्रशस्त सम्भावना भएको जिल्ला हो । बुढीगण्डकी जलाशययुक्त राष्ट्रिय गौरवको आयोजना सञ्चालनको सुरुवाती चरणमा छ । बहुउद्देश्य आयोजनाका रूपमा यसलाई सञ्चालन गरिनुपर्छ । नारायणी नदीको दुवैतर्फ व्यवस्थित तटबन्धन गरी नदी उकास जमिनमा आधुनिक खेती, व्यवस्थित पार्क तथा बस्ती विकास गरी पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ ।

चितवनको पहाडी क्षेत्रलाई पूर्ण अर्गानिक क्षेत्र घोषणा गर्दै फलफूल, चिउरी, मह र औषधिजन्य वस्तुको उत्पादनका साथै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश तथा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ । व्यावसायिक कृषिको प्रमुख स्थान रहेको चितवनलाई उच्च मूल्यका आधुनिक कृषि उत्पादन र प्रशोधन केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ । कृषकले उत्पादन गरेका कृषि उपज बिक्री र बजारको सुनिश्चितता जरुरी छ । स्थानीय सरकारले योजनाबद्ध ढंगले काम गर्न सके किसानले आफ्ना उत्पादन सडकमा फ्याक्नुपर्ने अवस्थाको अन्त्य हुने थियो कि ?

-थापा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी पूर्वसभापति हुन् ।

प्रकाशित : फाल्गुन २८, २०८० ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?