कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

किन गुम्दै छ विश्वास ?

मानिसको असल कर्मले नै जीवन सार्थक बन्ने हो । कुकर्मले जुन आफ्नो मनले भन्दै छ यो ठीक छैन र होइन तर पनि त्यो व्यक्त गर्न सक्दैन, प्रतिकार गर्न सक्दैन भने त्यो जीवित भए पनि मरेतुल्य हो ।

प्रकृतिको आफ्नै नियम र चक्र छ । हरेक कामको आ–आफ्नै प्रक्रिया हुन्छ । कसैले चाहेर तुरुन्तातुरुन्तै केही गर्न सक्दैन । ती प्रक्रिया पूरा गर्न लाग्ने समय न कसैले चाहेर अगाडि सार्न सक्छ न त पछाडि नै धकेल्न । यदि यसो हुँदैनथ्यो भने संसारमा सामर्थ्यवान्हरूको मात्र राज हुन्थ्यो होला । कमजोर र अशक्त रहँदैनथे होला । हरेक पक्षको आफ्नै शाश्वत नियम, प्रक्रिया तथा तरिका छन् । ती सबै पूरा नभई पूर्णताको कल्पना गर्न सकिँदैन । जसरी मंसिरमा धान भित्र्याउन असारमै धान रोप्नुपर्छ ।

किन गुम्दै छ विश्वास ?

आजको समाजमा सर्वश्रेष्ठ प्राणीमा मानिसलाई लिइन्छ । भनिन्छ– कि पढेर जानिन्छ कि परेर । तर आजको अव्यावहारिक शिक्षा प्रणालीले पढेर पनि जान्ने ज्ञान दिन नसकेको गुनासो सुनिन्छ । यस्तो अवस्थाले व्यक्ति, परिवार र समाज कहींकतै कोही सन्तुष्ट भएको देखिँदैन । प्रायः अशान्त देखिन्छन् । सबैलाई हतार छ तर पुग्ने कहाँ हो ? गन्तव्यहीन यात्राजस्तै दौडिरहेका छन् ।

जसरी कृषि खेतीमा ह्रास हुँदै आयो, मानिसको मनस्थितिमा पनि ह्रास पो आएको हो कि जस्तो भान हुन्छ । अहिले मानिसमा बिउ कस्तो राप्ने र कहाँ रोप्ने पनि थाहा छैन । केवल ठूलो र स्वादिलो फल तुरुन्तै चाहिएको छ । ती फल प्राप्त गर्न के गर्नुपर्छ ? धैर्य गर्न तयार छैनन् ।

इमान हराउनु : मानिसहरूमा इमानदारी र नैतिकता हराएको छ । स्वार्थका लागि जे गर्न पनि पछि पर्दैनन् । स्वार्थका लागि इमान र जमानलाई बलि चढाउने प्रवृति हाबी हुँदै छ, जसले गर्दा सबैलाई नकारात्मक सोचले हेर्ने, स्वार्थभन्दा अरु नदेख्ने प्रवृत्तिका कारण कडाभन्दा कडा नीतिनियम तथा कानुनको व्यवस्था गर्नुपर्ने अवस्था छ । दण्ड तथा सजायाको व्यवस्था गरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेलगायतका काममा ठूलो लागत र समय खर्चिनुपरेको छ ।

बोलीमा स्थिरता नहुनु : परिवारभित्र होस् वा साथीभाइ, संघसंस्थाका पदीय जिम्मेवारीमा बसेका व्यक्ति किन नहोस्, बोलीमा विश्वास गर्ने समय हराउँदै छ । समयअनुकूल बोली फेरिन्छ । मैले के बोल्नुपर्छ, के बोल्नु हुँदैन भन्दा पनि म के बोल्दा ठीक देखिन्छु र के बोल्दा फाइदा लिन सक्छु भन्ने सोच देखिन्छ । मानिस यति सचेत प्राणी भएर पनि किन आफूलाई सही मार्गमा लगाउन सकिरहेको छ्रैन ? मैले यसो गर्नु ठीक होइन भन्ने मनले थाहा पाउँदापाउँदै पनि झूट बोलिरहेको हुन्छ । त्यसको फल समग्रतामा उसले पाउँछ नै । जसरी एक दाना बिउले सयौं दाना फल फलाएझैं झूटको खेती गर्नेले पाउने फलमा उति नै धेरै नराम्रा नतिजा पाउँछ ।

नीतिनियम लत्याउनु : के काम गर्न हुने, नहुने ? कहिले र किन गर्ने ? सबै अवस्था हेरेर नीतिनियम, प्रक्रिया स्थापित भएका हुन्छन् । तिनैका आधारमा काम हुन्छ भन्ने मान्यता छ । विडम्बना बनेको नीति र चलेका थितिलाई वास्ता गरिँदैन, आफ्नो स्वार्थअनुकूल व्याख्या गरिन्छ । सता र शक्तिको आडमा जस्तोसुकै निर्णय गरी नीतिनियम र प्रक्रियाको धज्जी उडाउने काम भइरहन्छ । यस्तो बेथितिले सीमित व्यक्तिलाई फाइदा होला, कसैले जस पनि लेला तर नियमसंगत पाउने सुविधा तथा फाइदाबाट वञ्चित हुने त मारमा पर्छन् । यतिसम्म हेक्का आजका मानिसमा हराउँदै छ । हरेक पक्षको आफ्नो कोर्स पूरा गर्ने समय हुन्छ । त्यसैले जसले यस्ता नीतिनियमको पालना गर्दैन र गराउँदैन उसको समय प्रतिकूल हुनेबित्तिकै त्यसको प्रभाव उसैमाथि पर्न जान्छ ।

कर्तव्य र जिम्मेवारबाट पन्छिनु : मानिसहरू आफूले पाउनुपर्ने विषयमा वकालत गरिरहेका हुन्छन् । जसरी हुन्छ पाउनुपर्ने सुविधा, लाभ पाउन तल्लीन देखिन्छन् । घरपरिवारको सदस्य होस् वा संघसंस्थामा कार्यरत कर्मचारी सबैमा उस्तै प्रवृति देखिन्छ । अधिकार खोज्नेले कर्तव्य पूरा गर्नुपर्छ । कर्तव्य र जिम्मेवारबाट जो भाग्न खोज्छ, उसलाई सुविधा भोग गर्ने अधिकार पनि रहँदैन । यस्ता सोच र प्रकृतिका मानिसको जीवनमा फल लाग्दैन । फल लाग्ने पनि रसिलो हुँदैन, रस लागे पनि स्वाद हुँदैन र मृत्युपर्यन्त आत्माको सही स्थानमा बास हुँदैन ।

जीवनको सन्तुलनमा कमी : मानिसको जीवन लेखाको भाषामा भन्दा ब्यालेन्स सिट हो । सम्पत्ति र दायित्व बराबर हुनुपर्छ भनेजस्तै सकारात्मकता र नकारात्मकताको सन्तुलन रहेको हुन्छ । जसरी आर्थिक कारोबारको ब्यालेन्स सिटलाई उचित आकार, मापदण्ड र गुणस्तर भएको मान्य हुन्छ त्यसैगरी कर्मका आधारमा बन्ने जीवनको ब्यालेन्ससिट पनि मान्य बनाउन सक्नु राम्रो हुन्छ । अनुचित कार्य, व्यवहार, स्वाभाव, लाभबाट केही आर्जन गर्दछ भने त्यसको दायित्व अर्को साइडबाट बढेको हुन्छ जसको तौल धेरै गुणा बढी भएको भान हुन्छ । हामी देख्न सक्छौँ जसले जेजे गरे पनि जहाँ पुगे पनि सुत्ने त्यही छ फिटको खाट हो । खाने त्यही एक पेट भात हो र पुग्ने अन्तिममा सबै घाट नै हो । त्यसैले गुणस्तरयुक्त जीवनको सन्तुलनमा लाग्नु जरुरी छ ।

यस्ता विविध पक्षको शाश्वत सत्य हाम्रा अघि छ । जन्मिएको दिनदेखि नै हामी मृत्युलाई साक्षात्कार गर्न अगाडि बढिरहेका छौँ । एक छाक खान त सडकको जीवले पनि निर्वाह चलाएकै छ भने हामी मानव भएर धेरै केही गर्न नसके पनि स्थापित मूल्य, मान्यता, नीतिनियम, कर्तव्य र जिम्मेवारीको बहन, बोलीमा विश्वास, चाकडी, चाप्लुसीजस्ता कुकर्मबाट टाढा, सत्य वचनलगायतका विषयलाई आत्मबोध गर्न सके हाम्रो जीवनको फल पनि राम्रो र मीठो फल्छ ।

मानिसको असल कर्मले नै जीवन सार्थक बन्ने हो । कुकर्मले जुन आफ्नो मनले भन्दै छ यो ठीक छैन र होइन तर पनि त्यो व्यक्त गर्न सक्दैन, प्रतिकार गर्न सक्दैन भने त्यो जीवित भए पनि मरेतुल्य हो । यस्ता कर्मले क्षणिक त आनन्द मिल्ला, खुसी होला अन्त्यमा पश्चातापबाहेक केही हुँदैन । बाहिरी आँखाले देख्ने यी सब भौतिक वस्तु, पारिवेश क्षणिक हुन्, केवल अभिनय गरुन्जेल, आफ्नो भूमिका रहुन्जेल मात्र हो ।

यो रंगमञ्चमा धेरै कलाकार छन् तिनको भूमिका फरक छ । उद्देश्य एउटै हो मात्र नाटक पूरा गर्नु (मानव चोला व्यतीत गर्नु) । नाटक सकिएको क्षणपछि मात्र रहने हो उसको आदर्श, विचार उसको अभिनयले दिन खोजेको सन्देश । समग्र मानव समुदायले मनन् गर्न सके सरल, शान्त र सु–सभ्य समाजको निर्माण हुनेछ ।

प्रकाशित : फाल्गुन २३, २०८० ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?