२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

साहित्यिक उत्सव कति सार्थक ?

साहित्यिक उत्सवहरू केही ‘प्रिभिलेज्ड’ समूहको सिन्डिकेट होइन, समग्र साहित्य, लेखन र पठन संस्कृतिको सारथि बन्न सक्नुपर्छ । संकुचित घेराबाट उठेर शुद्ध साहित्यिक उत्सव गर्न सके मात्रै यसले साहित्यप्रेमी पाठक/स्रोताको भोक मेटाउन सक्छ ।
राजाराम गौतम

मध्य फागुनको चिसो चिर्दै राजनीतिक वृत्त गर्माएको छ । फागुन लागेदेखि नै प्रमुख दलहरूमा राजनीतिक सरगर्मी बढेको छ । संसद्को ठूलो दल नेपाली कांग्रेसले हालै महासमिति बैठक सक्यो । बैठक मुख्यतः महामन्त्री गगन थापाले राखेको ‘चुनावअघि गठबन्धन नगर्ने’ एउटै मुद्दामा केन्द्रित देखियो ।

साहित्यिक उत्सव कति सार्थक ?

बैठकमा आएका सुझाव समेटेर परिमार्जन गर्दै केन्द्रीय समितिले अन्तिम रूप दिने सहमतिसहित प्रस्तुत सबै प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरियो । सँगै पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकार टिकाउने संकल्प गरेर सभापति शेरबहादुर देउवाको मनोकांक्षा पनि महासमितिले पूरा गरिदियो । सारमा, देउवा र गगनको राजनीतिक आकांक्षा/आग्रहको बन्दी बनेको महासमिति बैठक दुवैका लागि ‘विन–विन’ जस्तै बनेर सकियो ।

यसअघि नेकपा माओवादी केन्द्रले अध्यक्ष दाहालका लागि जीवनपर्यन्त नेतृत्वमा रहने मार्ग प्रशस्त गर्दै विधान सम्मेलन सक्यो । प्रमुख प्रतिपक्षी एमालेले पनि यहीबीच केन्द्रीय समितिको बैठक गरेर २२ बुँदे प्रस्ताव पारित गर्‍यो । जसमा उसले सरकारको कार्यशैलीको विरोध र आलोचनाबाहेक आफैंभित्र हुर्कंदो राजनीतिक/नैतिक विचलनको समीक्षा गर्दै शुद्धीकरण/सुदृढीकरणको बाटो हिँड्ने निर्णय लियो । राजावादी पार्टी राप्रपाले चाहिँ सरकारसमक्ष ४० बुँदे माग राख्दै ‘राजा फर्काउने आन्दोलन’ को घोषणा गरेको छ ।

प्रमुख राजनीतिक दलका यी सनातनी गतिविधिबाहेक यो महिना देशभरि साहित्यिक महोत्सवको बाढी नै आयो । विभिन्न सहरमा साहित्यिक महोत्सवहरू चले/चलिरहेका छन् । जसमा अनेक विषयमा बहस छेडिएका छन् । नागरिक मञ्चहरूमा यसरी विविध विषयमा बहस हुनु आफैंमा सकारात्मक कुरा हो । यस्ता विमर्शले समाजमा रचनात्मकता र आलोचनात्मक चेतको अभिवृद्धि गर्न सघाउँछ । तर, के हाम्रा साहित्यिक महोत्सव यही बाटोमा अग्रसर छन् त ?

भनिन्छ, साहित्यिक महोत्सवहरूमा शब्दले जीवन्तता पाउँछ । त्यसैले यसलाई ‘शब्द उत्सव’ पनि भन्ने गरिन्छ । के हाम्रा सहरहरूमा भइरहेका साहित्यिक महोत्सवमा त्यस्तो जीवन्तता अनुभूत गर्न सकिएको छ ? हाम्रा महोत्सवले यसको मर्म र मूल्यलाई कति संवर्द्धन गर्न सकेका छन् ? महोत्सवहरू फैलिँदै गएका छन् कि सीमित घेरामा खुम्चिएका छन् ? महोत्सवको संख्यात्मक वृद्धिसँगै यसको औचित्य र सार्थकतामाथि प्रश्नहरू उठ्न थालेका छन् । यस पटक यो स्तम्भ साहित्यिक महोत्सवमाथि उठेका प्रश्नको विवेचनामा केन्द्रित रहनेछ ।

सिर्जनशील रंगकर्मी घिमिरे युवराजको निराशा र यो स्तम्भको चिन्ता खासमा उस्तै–उस्तै छ । तसर्थ, उनले हालै गरेको फेसबुक पोस्ट उद्धृत गर्दै यो विमर्शको दैलो उघारौं ।

उनी लेख्छन्, ‘देशभरि लिट्रेचर फेस्टिभल चलिरहेका छन् । लिट्रेचर फेस्टिभल यति उदार भएछन् कि त्यहाँ संसारका सबै विषय छन्, लिट्रेचर चाहिँ ‘गुम’ भएछ । सबै कुरा राजनीतिसँग गाँसिन्छ तर ती खडुस, करप्टेड र असांस्कृतिक मन्त्री र दलदलका नेताले लिट्रेचर फेस्टिभलमा ठाउँ पाएको र गफ दिएको कत्ति पनि पचेन । ...म ज्याँदै निराश भए । ...इगो वा गठबन्धनको कुरा गर्न लिट्रेचर फेस्टिभलमा जाने हो कि विचार, चेतना, सभ्यता, सुन्दर समाजको कुरा गर्ने हैसियतकाले जाने ?’

निश्चित आयोजकले निश्चित पात्रलाई ठाउँ दिएकामा घिमिरेले रोष प्रकट गरेका छन् । यद्यपि, साहित्यिक महोत्सव जसरी हुर्किरहेका छन्, पात्र छनोटको घेरामा सीमित नरही समग्रतामै यसका चरित्र र प्रवृत्तिमाथि बहस हुनु जरुरी छ । कुनै निश्चित साहित्यिक महोत्सवको ‘कन्टेन्ट रिभ्यु’ गर्ने यो आलेखको मनसाय होइन । यद्यपि, साहित्यिक महोत्सवका नाममा भइरहेका आयोजनामा जस्ता प्रवृत्ति देखिएका छन्, त्यसले एउटा साहित्यप्रेमी पाठक/स्रोताको भोक मेटाउन नसकेको चाहिँ यथार्थ हो ।

यस्तो भेला विभिन्न देशका विभिन्न सहरमा बर्सेनि नियमित आयोजना हुने गर्छन् । जस्तो, सन् १९८३ देखि स्कटल्यान्डको एडिनवर्गमा हुँदै आएको अन्तर्राष्ट्रिय साहित्य भेलालाई विश्वमै हुने गरेको ठूलो महोत्सव मानिन्छ । जहाँ विश्वभरका ८ सयभन्दा बढी लेखकको जमघट हुन्छ । बेलायतकै वेल्समा हुने अर्को ‘हे साहित्यिक महोत्सव’ मा एक लाखभन्दा बढी आगन्तुक लेखकहरूलाई सुन्न पुग्छन् । पेरिस बुक फेयर, मेलबर्न फेस्टिभल अथवा भारतकै जयपुरमा हुने साहित्यिक महोत्सवमा पनि ठूलो संख्यामा लेखक/आगन्तुक पुग्ने गरेका छन् । अर्थात्, बर्सेनि दुनियाँभर सयौंको संख्यामा साहित्यिक महोत्सव हुने गर्छन् ।

नेपालमा चाहिँ जयपुर साहित्यिक जमघटबाट प्रभावित भएर झन्डै डेढ दशकयता साहित्यिक उत्सव हुन थालेको हो । त्यसलाई पछ्याउँदै पछिल्ला वर्ष केही निश्चित सहरबाहेक विभिन्न स्थानीय तहमा समेत साहित्यिक महोत्सव आयोजना हुने गरेका छन् ।

साहित्यिक महोत्सवको मुख्य उद्देश्य लेखक र पाठकबीचको सम्बन्ध सेतु स्थापित गर्ने हो । साहित्य लेखन र पठन संस्कृतिको प्रवर्द्धन गर्नु पनि यसको मुख्य उद्देश्य हो । अझ अघि बढेर साहित्यिक महोत्सवहरूमा विभिन्न समसामयिक विषय र मुद्दामा बहस/छलफल पनि हुने गर्छ । आलोचनात्मक चेत निर्माण यी विमर्शको अन्तर्यमा लुकेको विश्वास गरिन्छ । तर, के यो विश्वासले सार्थकता पाएको छ ?

आखिर किन हाम्रा साहित्यिक महोत्सव अपेक्षाकृत सार्थक हुन सकेका छैनन् ? नेपालमा साहित्यिक महोत्सवको विकासमा केही यस्ता चरित्र/प्रवृत्ति हावी छन्, जसले यी आयोजनाहरू ‘कर्मकाण्ड’ बन्दै गएको अनुभूति हुन्छ ।

ती केही प्रवृत्तिमाथि चर्चा गरौं :

१. उही अनुहार, बासी विमर्श

साहित्यिक उत्सवहरूको शक्ति र सफलता यसले निर्माण गर्ने भाष्यमा लुकेको हुन्छ । कस्ता पात्र छानिन्छन् र कति सशक्त कथा उत्सवले भन्न सक्छ, सायद त्यसैले यसको औचित्य स्थापित हुने हो । नेपालमा हुने साहित्यिक महोत्सवहरूमा एकाध ख्यातिप्राप्त अन्तर्राष्ट्रिय लेखक/विज्ञले स्थान नपाएका होइनन् । नेपालमै पनि स्वान्तसुखायका लागि लेख्ने साहित्यशिल्पीहरू बेलाबखत झुल्किने गर्छन् तर धेरैजसो साहित्यिक महोत्सव केही ‘सेलिब्रिटी टाइप’ का लेखक, पत्रकार, नेताहरूको गठजोडको मञ्च बन्ने गरेको छ । घिमिरे युवराजले असन्तुष्टि जनाएजस्तै यस्ता महोत्सवमा मञ्च नपाउनुपर्नेले ‘चोख्खिन’ अवसर पाउने गरेका अनेक दृष्टान्त भेटिन्छन् । कम्युनिस्टहरूले प्रयोग गर्ने शब्दावली सापट लिएर भन्नुपर्दा केही मुट्ठीभर पात्रहरूको ‘सिन्डीकेट’ बन्ने गरेका छन्, साहित्यिक महोत्सवहरू ।

बर्सेनि पात्र दोहोरिएपछि ‘कन्टेन्ट’ मा नयाँपनको अपेक्षा गर्नु सायद उचित होइन । मिडिया डिस्कोर्समा कैयौं पटक उठेका मुद्दा, पटकपटक सुनिसकेका पात्र र अन्तर्वार्ताको बाहुल्य भएका महोत्सवमा हुने बासी विमर्शले यसको ओज र आकर्षण बढाउन सकेको छैन । आयोजकले एउटा अर्को वर्ष सफल आयोजना गरेको आत्मरति पाले पनि नेपालका साहित्यिक महोत्सवले समाजलाई कति दिग्दर्शन गर्न सकेका छन् ? प्रश्नको घेरामै छ ।

२. सिर्जनात्मकताको कमी

साहित्यिक उत्सवहरूले पाठकलाई आफ्ना प्रिय लेखकसँग साक्षात्कार गर्ने दुर्लभ अवसर दिन्छ । लेखकसँग अन्तरंग अन्तर्क्रिया र तिनका अनुभवले एउटा पाठक प्रेरित र उत्साहित हुने मौका यी उत्सवले दिने विश्वास गरिन्छ । तर, हाम्रा साहित्यिक उत्सव पाठक र लेखकबीचको सम्बन्ध सेतु स्थापित गर्न चुकेका छन् । निश्चय पनि केही सीमित पात्रलाई यी उत्सवले ‘एक्सपोजर’को अवसर दिएको छ । तर, एउटै शैलीका प्यानल डिस्कसन, हरेक वर्ष दोहोरिएका विषयवस्तु, बिनातयारीका अखबारी शैलीका अन्तर्वार्ता आदिले सेसनहरू ‘बोरिङ’ लाग्छन् ।

साहित्यिक महोत्सवलाई नजिकबाट नियालिरहेका लेखक शेखर खरेलको बुझाइ पनि यस्तै छ । उनी भन्छन्, ‘एउटा प्यानल बनाइदियो र मिडिया अन्तर्वार्तामा जस्ता प्रश्न गर्‍यो अनि सेसन सकियो । खासमा साहित्यिक महोत्सवका प्रस्तुति आकर्षक र सिर्जनात्मक बन्न सकेका छैनन् । एउटा साहित्यिक महोत्सवमा जे गर्‍यो, त्यसैको अन्ध–अनुकरण गर्ने प्रवृत्ति सबैतिर छ, जसले यी जमघट सिर्जनात्मक लाग्दैनन् । नवीनताको सर्वथा अभाव छ ।’

३. पठन संस्कृति प्रवर्द्धनमा असफल

साहित्यिक उत्सवसँग सिधा जोडिने अर्को विषय हो, पठन संस्कृति । यी उत्सवहरू पठन संस्कृति विकास र विस्तारका लागि महत्त्वपूर्ण मञ्च हुन् । पठनप्रति रुचि भएका वा नभएका जमातका लागि यी आयोजनाले ‘इन्धन’ को काम गर्छन् भन्ने विश्वास गरिन्छ । तर, के यी आयोजनाले नेपालमा पठन संस्कृति विकास र विस्तारमा योगदान गर्न सकेका छन् ? साहित्यिक जमघटले नेपालको पठन संस्कृति बढायो त ?

साहित्यिक उत्सवहरूको अन्तर्राष्ट्रिय अभ्यास हेर्दा, यस्ता आयोजनालाई किताब उत्सवकै रूपमा लिइन्छ । किताबको प्रचार र प्रवर्द्धन गर्न यी मञ्च प्रयोग हुन्छन् । तर, हाम्रो सन्दर्भमा पठन संस्कृति विकासमा यी उत्सवले पर्याप्त काम गर्न सकेका छैनन् । उसै पनि नेपालमा पठन संस्कृतिको अवस्था निम्छरो छ । केही सीमित व्यक्ति र सोखवालाले मात्रै पठन संस्कृतिलाई अपनाएको पाइन्छ । आम मानिसमा समानुभूति र समझदारी निर्माणमा पठन संस्कृतिले सहयोगी बन्छ, यसले आत्मरति र सीमित ज्ञानबाट निस्केर अन्य दृष्टिकोणबाट समाज र संसारलाई बुझ्ने प्रेरणा दिन्छ, व्यावहारिक जीवन ज्ञान र सीप विस्तारमा सहयोग पुग्छ, एकाग्रता, स्मृति, शब्दावली विस्तार, व्यावसायिक अभिवृद्धि गर्दै विचारलाई अझ प्रभावकारी रूपमा व्यक्त गर्ने क्षमता बढाइदिन्छ । यी र यस्ता पठन संस्कृतिका महत्त्वपूर्ण पक्षबारे पाठकलाई ‘लिट्रेट’ गर्न साहित्यिक उत्सवहरू चुकेका छन् ।

४. प्रायोजन केन्द्रित

साहित्यिक उत्सवहरू लेखन र पठन संस्कृति विस्तारमा चुक्नुमा एउटा मुख्य कारण हो, आयोजकको व्यापारिक प्राथमिकता । हुन त यस्ता आयोजना सञ्चालन र व्यवस्थापन गर्न अर्थको आवश्यकता पर्छ । यस्ता उत्सव कुनै व्यापारिक/व्यावसायिक संस्थाको प्रायोजनमै चल्ने हुन् तर कुन संस्थाले प्रायोजन गर्ने वा नगर्ने त्यो प्रस्टता आयोजकमा हुनुपर्छ । उत्सवको प्रायोजनको निश्चित आर्थिक आचारसंहिताको परिपालना हुनुपर्छ । साहित्यिक महोत्सवहरूका आर्थिक पाटोमा आयोजकहरू बढी केन्द्रित हुँदा साहित्य, लेखन, पठन र सिर्जनात्मकता ओझेलमा परेको छ ।

५. स्वार्थको द्वन्द्व

कतिपय अवस्थामा किताब प्रकाशन गर्ने संस्थाहरू नै साहित्यिक उत्सवमा संलग्न हुँदा स्वार्थको द्वन्द्वले पनि यस्ता आयोजनाको प्रभावकारितामा प्रश्न उठ्न सक्छ । प्रकाशन संस्थासँग आबद्ध लेखक/साहित्यकारहरू दोहोरिरहने तर ‘लिट्रेचर फर्टिनिटी’ का अरू अब्बल सर्जक बाहिरै पर्ने स्थिति आउन सक्छ । यो प्रवृत्तिका कारण पनि साहित्यिक उत्सवहरू संकुचित हुँदै गएका छन् ।

सारमा, साहित्यको पर्व भनेको विविधि विचार फुल्ने फूलबारी हो । नवीन बहस र विमर्शहरूबाट दिमागको ढोका खुल्ने ठाउँ हुन् । यसले मानव संस्कृति, समाजको बुझाइ र सामाजिक मूल्यमान्यतालाई एउटा आकार दिन सहयोग पुर्‍याउँछ । अर्थात्, साहित्यिक उत्सवहरू मानव समाज र संस्कृति निर्माणका महत्त्वपूर्ण पक्ष हुन् । यसले जनमत निर्माणमा भूमिका खेल्छ । समाजमा पठन र लेखनप्रतिको मोह बढाउँछ । आलोचनात्मक सोच र चेतलाई प्रवर्द्धन गर्न सहयोगी भूमिका खेल्छ । सिकाइ, ज्ञान बढाउने महत्त्वपूर्ण मञ्च बन्न सक्छ । यस्ता उत्सव समाजलाई शिक्षित र चेतनशील बनाउने माध्यम बन्न सक्छन् । तसर्थ, समाजको चेत, बौद्धिक विकास र विस्तारसँग सरोकार राख्ने यस्ता उत्सवका गतिविधि र भूमिका सामाजिक लेखाजोखाका विषय बन्नुपर्छ ।

यस्ता उत्सवहरू केही ‘प्रिभिलेज्ड’ समूहको सिन्डिकेट होइन, समग्र साहित्य, लेखन र पठन संस्कृतिको सारथि बन्न सक्नुपर्छ । संकुचित घेराबाट उठेर शुद्ध साहित्यिक उत्सव गर्न सके मात्रै यसले साहित्यप्रेमी पाठक/स्रोताको भोक मेटाउन सक्छ । सुन्दर र सांस्कृतिक महत्त्वका सहरमा होऊन् वा राजधानीका पाँचतारे होटलमा नै किन नहोऊन्, साहित्यिक महोत्सवमा सरिक साहित्यप्रेमी पाठक/स्रोताले रंगकर्मी घिमिरे युवराजले झैं निराशा होइन, सुखद अनुभूति गर्न सक्नुपर्छ । तब मात्रै साहित्यिक पर्वहरूको औचित्य स्थापित हुन्छ । कर्मकाण्डी दलीय उछलकुदले आजित भएका जनताले नागरिक वृत्तमा हुने बहस र मञ्चहरूमा पनि त्यस्तै अनुभूति गर्ने अवस्था आउनु के चिन्ताको विषय होइन ? साहित्यको प्रवर्द्धनमा समर्पित झएको ठान्नेहरूले आत्मसमीक्षा गरून् ।

प्रकाशित : फाल्गुन १४, २०८० ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?