कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

दार्शनिक र प्रायोगिक आधारमा नेपालको शिक्षा

अहिले विद्यालय शिक्षा र उच्च शिक्षा विधेयक संसदीय प्रक्रियामा छ । त्रिविमा उपकुलपति चयनको प्रक्रिया सुरु भएको छ । मुलुक सोह्रौं योजना तर्जुमाका क्रममा छ । अन्तरसम्बन्धित विषयका रूपमा रहेको शिक्षा सुधारको थालनी गर्ने यो उपयुक्त अवसर हो ।
गोपीनाथ मैनाली

राजनेता नेल्सन मन्डेलाले भनेका थिए— समाज बिगार्नु छ भने त्यहाँको शिक्षा प्रणाली भत्काइदिए पुग्छ । समाज व्यवस्थाका सबै क्षेत्र बिगारिदिन कमसल शिक्षा एकै काफी छ । असल शिक्षा समाज, समुदाय र शासन व्यवस्था परिवर्तन गर्ने शक्तिशाली औजार हो ।

दार्शनिक र प्रायोगिक आधारमा नेपालको शिक्षा

सन् १९६० को दशकमा ली क्वान युले ‘थोरै पढ, धेरै सिक’ भन्ने शिक्षा रणनीतिका साथ राष्ट्र विकासको अभियान सुरु गरेका थिए । खासै प्राकृतिक स्रोत नभएको मुलुक सिंगापुर तेस्रो विश्वबाट पहिलो विश्वमा पुग्नुमा शिक्षाले जगको काम गरेको थियो । आज सिंगापुरका मानिसहरू गर्वका साथ भन्ने गर्छन्, ‘वी ह्याभ नथिङ बट नलेज ।’

विश्वका उत्कृष्ट शिक्षा प्रणाली भएको मानिएका मुलुकहरू संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, अस्ट्रेलिया, जर्मनी तथा क्यानाडा समयको माग, परिवर्तनको चाहना, वृत्ति सामर्थ्यको विकास र भविष्यको प्रवृत्ति आकलन गरेर शिक्षा प्रणाली अभ्यास गरिरहेका छन् । व्यक्तिलाई जीवन समृद्ध बनाउन सीप र सामर्थ्य दिने, समाजलाई असल संस्कार र आचरण दिने एवं राष्ट्रलाई मानवपुँजी दिने शिक्षा नै वास्तविक शिक्षा हो । शिक्षाको सामान्य उद्देश्य ज्ञान, सीप र संस्कार हो भने विशिष्ट उद्देश्य सामाजिक प्रजननशीलता र प्रवर्तन हो । जब शिक्षा प्रणालीले सामान्य उद्देश्य पूरा गर्न सक्दैन, त्यसपछि शिक्षा व्यक्ति, समाज र राज्यका लागि भार बन्छ । दोस्रो उद्देश्य पूरा गर्ने त परको कुरा हो ।

नेपालमा शिक्षाको पहिलो उद्देश्य पूरा भएको छैन, जग नै नभएपछि दोस्रो उद्देश्य पूरा हुने नै भएन । शैक्षिक संरचना विस्तार, शैक्षिक जनशक्ति विस्तार र पहुँच विस्तार भएको छ । यसले सांख्यिक उपलब्व्धि पनि देखाएको छ । तर शिक्षाले जीवन निर्वाहको सीप, सामाजिक सहकार्यको सामर्थ्य र असल आचरण दिन सकेको छैन । नागरिक जीवनका लागि चाहिने ज्ञान, सीप र संस्कार याने कि सशक्तीकरणमा शिक्षा प्रणाली पछि परेकाले स्वयम् व्यक्तिका लागि शिक्षा भार भएको छ । व्यक्तिले ज्ञान त पाएको छ तर सीप र संस्कार पाएको छैन । शिक्षाको सहज पहुँचका लागि विस्तार गरिएका संरचानको भार राज्यमाथि छ । समाजले पनि शिक्षाका लागि ठूलो परिमाणमा खर्च गरेको छ ।

यस अर्थमा समाज र राज्यका लागि उपयोगिता सिर्जना गर्ने लगानी भएको छैन, भार बनेको छ । शिक्षित व्यक्ति श्रमिक बन्दैन, उद्यमी बन्दैन, संस्कारी बन्दैन भने त्यो प्रणालीको कमजोरी हो । शिक्षा प्रणाली सामाजिक सम्मिलनको माध्यम बन्नुपर्नेमा शिक्षा स्वयम् विभाजक बनेको छ । परिवारको हैसियतका आधारमा व्यक्तिले पाउने शिक्षा नै फरक भएकाले सामाजिक तहसोपान, शासकीय तहसोपान र विभेद विस्तार भएको छ । धनी र गरिब हुने कुरा स्वाभाविक वर्गभेद हो । धनी भाग्यमानी र गरिब अभागी बन्नुपर्ने वर्ग विभाजनको संरचना, संस्कार र सोचवृत्ति शिक्षाले भत्काएन भने समाज पछि पर्छ । शिक्षाविद् पाउलो फ्रेरेले भनेझैं, शिक्षा पाउनु भनेको आफ्नो ज्ञान र अनुभवले आर्थिक संरचनाबारे सोच्न सक्ने शक्ति पैदा गर्नु हो, गलत संस्कृतिको विरोध गर्नु हो, आफ्नो खट्टामा उभिन सक्नु हो ।

शिक्षाका उद्देश्यहरू शृंखलाबद्ध आबद्धतामा रहनुपर्छ । शिक्षाको पहुँच, पाठ्यक्रम र प्रविधिले ज्ञान बढाउने गर्छ । सीप विकास गर्ने कार्य ज्ञानप्राप्तिभन्दा अलि जटिल छ । जब ज्ञानको जग दरिलो बनाउन सकिन्छ, जीवनोपयोगी, कार्यमूलक, उद्देश्यकेन्द्रित र विशिष्ट अभ्यासमूलक कार्यबाट सीप विकास गर्न सकिन्छ । सीप विकासको पहिलो चरण जीवन निर्वाहको सीप हो, त्यसपछि प्रतिस्पर्धात्मकता र नवप्रवर्तनको सामर्थ्य त्यसले प्राप्त गर्छ ।

नेपालमा ज्ञानमूलक शिक्षाको बोलवाला छ, सीप गरिबले सिक्ने हो भन्ने सामाजिक सोच छ । उच्च तहको सीप शिक्षाका क्षेत्रमा पनि सीपको अभ्यासभन्दा सीपको ज्ञानलाई जोड दिन थालिएको छ, विशिष्टीकृत सीप अभ्यासमा उपेक्षित हुने क्रममा छ । असल शैक्षिक प्रणाली भएका मुलुकहरूमा शिक्षाको अभिमूखीकरण बुझ्नेभन्दा गर्नेतर्फ छ । सीपको उत्कृष्टता सिर्जनशीलतामा देखिन्छ । सीपले व्यक्तिलाई आर्जित स्वायत्तता दिन्छ र व्यक्तिले चाहेको सिर्जना वा आविष्कार गर्न सक्छ । त्यसपछि शिक्षाले दिने भनेको सामुदायिकता हो । व्यक्तिमा विकास भएको विशिष्ट आर्थिक चेतले समुदायको चाहना, प्राथमिकता र विश्वबन्धुत्वका लागि साझा मूल्यलाई संस्थागत गर्न लाग्छ । आफ्नो पृष्ठभूमि, इतिहास, भूगोललगायत सामुदायिक चेतको विस्तार गरी विश्वबन्धुत्वको फराकिलो दायित्वसम्म पुग्छ । अर्थात्, राष्ट्रिय पहिचानको विस्तार गर्छ । यसर्थ आफूलाई परिवर्तन, समाजलाई परिवर्तन र विश्वलाई परिवर्तन गर्ने शिक्षाले मात्र शिक्षाको फराकिलो आशय पूरा गर्छ । यस अर्थमा शिक्षा लगातार नवीकरणको प्रक्रिया हो । व्यक्ति, समाज र राष्ट्रलाई परिष्कार गर्दै लैजाने शिक्षा पद्धति आफैं गतावधिक हुँदा भारिलो, बोझिलो र भ्रमित देखिनु स्वाभाविक हो ।

असल शिक्षा प्रणाली स्तरीय पाठ्यक्रम, सिकाइमैत्री वातावरण, प्रवीण एवं समर्पित शिक्षक र अनुशासित विद्यार्थीको संयुक्त रूप हो । शिक्षकको प्रवीणता, तत्परता र अनुशासन विद्यार्थी, पाठ्यक्रम र अभिभावकबीच रहन्छ । यो सबैभन्दा महत्त्वपूर्ण हो । भनिन्छ, शिक्षक नै शिक्षा हो । त्यसैले असल शिक्षा प्रणाली भएका मुलुकमा शिक्षक तयारी र अनुशासनलाई निकै महत्त्व दिइन्छ । असल शिक्षा प्रणाली बसाउन संरचनात्मक परिवर्तनबाट मात्र पर्याप्त छैन, शिक्षण संस्कृति र शैक्षिक व्यावसायिकताजस्ता कार्यगत पक्षले साथ नदिए प्रणाली निर्माण नै हुँदैन । यसर्थ नेपालमा नीति वातावरण, शैक्षिक वातावरण र घर तथा समुदायको सोच बदल्नुपर्ने अवस्था देखिएको छ । यसलाई हामी शैक्षिक पुनर्बोधको आवश्यकता भन्न सक्छौं ।

शिक्षा प्रणाली उपयुक्त नहुँदा अहिलेको पुस्ता त बर्बाद भयोभयो, आउँदो पुस्तामाथि पनि अन्याय हुने महाभूल गर्नु हुँदैन । यस शताब्दीमा अर्थतन्त्र, जीवनशैली, रोजगारी, उत्पादन प्रणाली, आपूर्ति क्रियाकलापमा व्यापक परिवर्तन आएको छ । आउँदा दिनमा परिवर्तनको प्रक्रिया अनुमानभन्दा तीव्र हुने संकेत देखिएको छ । जनजीवन, शासन र अरू पक्षमा आर्थिक शक्ति अहंकारी हुँदै छ । शिक्षा प्रणाली यो परिवर्तनसँग निरपेक्ष रहन सक्दैन । परिवर्तन आकलन गर्ने, परिवर्तन सिर्जना गर्ने र परिवर्तनसँगै अनुकूलित हुने सीप र सामर्थ्य विद्यार्थीलाई दिन नसकिएमा समयले समाजलाई पाखा लगाइदिन्छ र पूरै समाज गतावधिक बन्न बेर लाग्दैन । आफू बाँचेको समयसँग अनुकूलित हुन नसक्दाको पीडा हामी कल्पना गर्न सक्छौं ।

अहिले विद्यालय शिक्षा र उच्च शिक्षा विधेयक संसदीय प्रक्रियामा छ । छिट्टै सीप शिक्षा ऐनको विधेयकले पनि संसदीय प्रक्रियामा प्रवेश पाउला । साथै त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति चयनको प्रक्रिया पनि सुरु भएको छ भने, मुलुक पाँचवर्षे विकास खाका निर्धारण गर्ने सोह्रौं योजना तर्जुमाका क्रममा छ । अन्तरसम्बन्धित विषयका रूपमा रहेको शिक्षा सुधारको थालनी गर्ने यो उपयुक्त अवसर हो । विद्यालय शिक्षा कानुनले शिक्षाको जग बलियो बनाउने संरचना, शिक्षक व्यवस्थापन र विद्यालय शैक्षिक वातावरण निर्माण गर्न लक्षित हुनुपर्छ । उच्च शिक्षा विधेयक सबै विश्वविद्यालयको साझा ऐन बन्नुपर्छ । यसले खण्डीकृत विश्वविद्यालय कानुनलाई एकीकरण गर्नुपर्छ । एकै विश्वविद्यालय सेवा आयोग, उच्च शिक्षाको मापदण्ड, पदेन कुलपति र सहकुलपतिको भारी राजनीतिक व्यक्तिलाई नबोकाउने प्रण र प्राज्ञिक उत्कृष्टताको द्योतन गर्ने हुनुपर्छ ।

विश्वविद्यालय स्थापनाको मापदण्ड घोषणा गरी रक्षा, स्वास्थ्यलगायत अन्य मन्त्रालयबाट विश्वविद्यालय सञ्चालन गर्ने प्रक्रिया खारेज गर्नुपर्छ । सीप शिक्षा ऐनको विधेयक जीवन सीप दिन, व्यक्तिलाई इलममूखी बनाई घरपरिवार तहदेखि आर्थिक संरचना चलायमान गर्न आवश्यक सीप दिने गरी ल्याइनुपर्छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिले प्राज्ञिक दृष्टिकोण र व्यवस्थापकीय क्षमता भएको, सन् १९९० को दशकपछि दीक्षित भएको, प्राज्ञिक छवि र नैतिक चरित्र भएको र यसअघि विश्वविद्यालय व्यवस्थापनको जिम्मेवारीको अवसर नपाएको व्यक्तिलाई प्राज्ञिक संस्थाको नेतृत्व दिइने सुरुआत भएको सन्देश दिन सक्षम हुनुपर्छ । यी सबैको केन्द्रबिन्दुमा नेपालीहरूको साझा भविष्यको विम्ब र शैक्षिक स्थललाई राजनीति गर्ने थलो नबनाउने कठोर राजनीतिक इच्छाशक्ति हुनुफर्छ ।


प्रकाशित : माघ २६, २०८० ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?