२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

महिलामाथि थोपरिएको मेकअप 

मेकअप गम्भीर आर्ट हो भने सम्पूर्ण महिलाले त्यो गम्भीर आर्टको हिस्सा हुनैपर्छ भन्ने छैन । गम्भीर आर्टलाई प्रयोग गर्न गच्छे नपुग्ने, ढंग नपुग्ने, समय नपुग्ने, कला नपुग्नेले कस्मेटिक संसारमा फस्नैपर्छ भन्ने छैन ।
सुशीला शर्मा

यात्राले व्यक्तिपिच्छेका फरकफरक जीवनशैलीबारे जानकार हुन मद्दत पुर्‍याउँछ । घरबाट बाहिर निस्कने भन्नेबित्तिकै व्यक्तिले पहिरन बदल्छ । महिलाहरू अलि समय लगाएरै सजधज गर्छन् । यद्यपि सजधजको मामिलामा पंक्तिकारको चाहिँ कहिल्यै ढंग पुग्न सकेको छैन । 

महिलामाथि थोपरिएको मेकअप 

हालै छालासम्बन्धी एक डाक्टरको अन्तर्वार्ता फेसबुकमा देखें । शीर्षक थियो— ‘महँगो क्रिम लगाउँदैमा अनुहार राम्रो हुने होइन’ । उनका अनुसार, मेकअपका प्रसाधन प्रयोग गर्न पनि डाक्टरको प्रेस्क्रिप्सन चाहिन्छ, बजारमा जे पायो त्यही किनेर अनुहार र छालामा लगाउँदा विभिन्न समस्या देखिन सक्छन् । संसारमा सौन्दर्य सामग्रीको यति विधि खपत हुन्छ, ती सबै डाक्टरले प्रेस्क्राइब गरेका होलान् त ? सौन्दर्य सामग्री प्रयोगकै खातिर विशेषज्ञकहाँ कति जना धाउलान् ? अनि नेपालमा ? कतिपय सामान्य लाग्ने स्वास्थ्य समस्या हुँदासमेत आर्थिक अभावमा उपचार गर्न नसक्ने हामी नेपाली कताबाट सौन्दर्य प्रसाधनमा डाक्टरको सरसल्लाह लिन जानु ?

यात्राकै क्रममा भेटिएका साथीहरूले बेलाबखत समय र फेसनको पनि अलिकति ख्याल गर्नुपर्ने सुझाव नदिएका/नदिने होइनन् । ‘फेसन सेन्स’ नहुनु आफ्नै कमजोरी हो । जिन्दगीको उत्तरार्द्धमा आएर शृंगार, पहिरनमा बदलाव ल्याउनु पनि एक किसिमको झाँकी नै होला कि भन्ने लागेर जस्तो छु त्यस्तैमा चलिआएकी छु । अर्को कुरा, आफूजस्तो छु त्यस्तै रहन पाउनुपर्ने अधिकार उत्तिकै छ, जति मान्छेलाई आफ्नो सौन्दर्य बढाउने परिधान प्रयोग गर्न पाउने अधिकार । तर बहसमा ल्याउन सकिने महिला सौन्दर्य प्रशाधनका कुरा भने थुप्रै हुन सक्छन् ।

एक दिन साझा बसमा यात्रा गर्दै थिएँ । निकै फरासिली र पढेलेखेकै लाग्ने महिलाछेउ बसेकी थिएँ । उनी मोबाइल फोनमा कसैसँग मेकअपका सर्जामबारे कुरा गर्दै थिइन् । आफूले सौन्दर्य सामग्रीमा कहिल्यै कम्प्रोमाइज नगर्ने, सौन्दर्य प्रसाधनका लागि बजेट व्यवस्थापन गर्न बरु मासु खान कम गर्ने गरेको पनि बताउँदै थिइन् । चुपचाप उनका कुरा सुन्न मलाई आनन्दै आईरहेको थियो । उनले सौन्दर्य प्रसाधनको प्रयोग सन्दर्भमा चिनजानकै अर्की महिलाले आँखीभौंमा शृंगार गरेको, ‘लो क्वालिटी’ का क्रिम–पाउडर लगाउने गरेको भन्दै आलोचना गरिन् । यो सुनेर मलाई पनि बोलूँबोलूँ लागिहाल्यो ।

मैले भनें, ‘आफ्नो रुचि र खर्च गर्ने क्षमताअनुसारको मेकअप होला नि त !’ उनले भनिन्, ‘होइन, जेजे भए पनि महिलाले मेकअपचाहिँ गर्नुपर्छ । मेकअपका सामग्रीहरू गुणस्तरीय हुनैपर्छ । तपाईं मेकअप गर्नुहुन्न रहेछ तर उमेर ढल्कँदै गएपछि झन् मेकअप गर्नुपर्छ नत्र स्किन बिग्रन्छ ।’ यो विषयमा आफू त्यति जानकार नभएकीले त्यति बोलिनँ । लाग्यो, महिलाले मेकअप पनि गर्नुपर्ने अनि त्यस्ता सामान गुणस्तरीय पनि हुनुपर्ने, यो कसरी व्यवस्थापन होला त ? पौष्टिक आहार, आवश्यक औषधिमूलो नै कटौती गरेर पनि ब्रान्डेड मेकअपका सामग्री प्रयोग या संग्रह गर्ने बानी लाग्यो भने के गर्ने होला ? सौन्दर्य सामग्री गुणस्तरीय प्रयोग गर्नुपर्छ भनिरहेकी ती महिलाले आफूले डाक्टरको सल्लाह लिएको या लिनुपर्छ भन्ने कुरा भने गरिनन् । अनि हामी कसरी भन्न सक्छौं, गुणस्तरीय सौन्दर्य प्रसाधन कुन हो या कुनचाहिँ कुन छाला भएकोलाई ‘सुट’ गर्छ भनेर ?

एउटा हिन्दी युट्युब च्यानलमा मैले पत्रकार कल्पना शर्माले मेकअपकै बारेमा बनाएको भिडियो केही समयअगाडि हेरेकी थिएँ । उनले आफ्नो प्रस्तुतिको सुरुआतमै भनेकी छन्, ‘एक पटक फेरि हाजिर भएकी छन्, बिनामेकअपकी महिला जसलाई हेर्न तपाईंहरूलाई बिस्तारैबिस्तारै बानी पर्नेछ ।’ उनी साँच्चै बिनामेकअप प्रस्तुत भएकी थिइन् ।

अन्य कार्यक्रममा पनि बिनामेकअप नै देखिने उनी भन्छिन्, ‘मञ्चमा, स्क्रिनमा, कार्यालयमा, न्युज च्यानलमा, सिनेमामा, पार्टीमा, बजारमा, मेलामा मेकअपवाला अनुहार देख्ने बानी नै भइसक्यो । कतिपय हिन्दी सिरियलमा त महिलाहरूलाई सुत्दा पनि हेभी मेकअपसहित सजधज भएर सुतेको देखाइन्छ । सन् २०२२ मा मिस इंग्ल्यान्ड ब्युटी पेजेन्टकी फाइनलिस्ट मेलिसा रौफले बिनामेकअप ब्युटी पेजेन्टमा भाग लिएकी थिइन् र मेकअप गर्दा मात्रै नर्मल देखिने आम मान्यतालाई तोडेकी थिइन् । उनी फाइनल राउन्डसम्म पुगेकी थिइन् । ब्युटी पेजेन्टकै मेनस्ट्रिम धारहरू छोड्दै मिस युनिभर्समा विवाहित महिलासमेत सहभागी हुन पाउने नियम बनेको छ ।’

भनिन्छ, ६ हजार वर्षपहिले नै प्राचीन इजिप्टमा महिला–पुरुष दुवै कस्मेटिकको प्रयोग गर्थे । मेकअप गरेर ईश्वरको प्रार्थना गरे राम्रो फल पाइन्छ भनिन्थ्यो । समयसँगै सुन्दर देखिन र सुन्दरताको कथित परिभाषामा खरो उत्रिने जिम्मेवारी महिलाको पोल्टामा गयो । तर यसमा केही सर्त थिए । मेकअपमा प्रयोग हुने केही कच्चा पदार्थलाई शुद्ध मानिँदैनथ्यो । तर महिलाहरूले साबुनको प्रयोगले पूरै शरीर सफा राख्नुपर्ने र शरीरका रौं हटाएर बस्नुपर्ने मान्यता पनि बस्यो । मेकअप गरे पनि नगरे पनि आकर्षक भने देखिनैपर्ने भयो । मेकअपलाई संसारले महिलाको अनुहारमा थोपरिदिएको छ ।

उदाहरणका लागि, चलचित्र अभिनेत्रीहरू बिनामेकअप आफ्ना तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे समाचार बन्छ— सेलेब्रिटीको अविश्वसनीय तस्बिर । मानौं, प्राकृतिक नै अप्राकृतिक हो । संसारभरि भएका विभिन्न अनुसन्धानले भन्छन्— अधिकांस महिला र पुरुष धेरै त होइन हल्का मेकअप गरेकै महिला सुन्दर र स्मार्ट हुन्छन् भन्ने सोच्छन् । अचेल पुरुषहरूले पनि मेकअप गर्न थालेका छन् । तर जसरी मेकअप नगरेका महिलालाई हेर्दा हाम्रा आँखा नीरस हुन्छन्, मेकअप लगाएका पुरुष देख्दा हामी उसै गरी अचम्मित हुन्छौं ।

ती पत्रकारले भनेझैं, हामीले मानव सभ्यतासँगसँगै विकास भएका चलनलाई महिलाले नै उपभोग गर्नुपर्ने, महिलाले लगाए मात्रै त्यो प्रयोगसम्मत हुने भनेर विभिन्न मेकअपका सामग्री थोपरिएका हुन् । आखिर मेकअप महिलाले मात्र अनुहार पेन्ट गर्न आविष्कार भएको होइन रहेछ ।

मेकअप गर्न नभ्याएका श्रमिक, किसान, मजदुर, शिक्षक, राजनीतिकर्मी, पत्रकारलगायत थुप्रै महिला पनि उत्तिकै तेजस्वी र सुन्दर देखिन्छन्, उनीहरूका कर्मका कारण । ती पत्रकारले भनेझैं, मेकअप गम्भीर आर्ट हो भने सम्पूर्ण महिलाले त्यो गम्भीर आर्टको हिस्सा हुनैपर्छ भन्ने छैन । गम्भीर आर्टलाई प्रयोग गर्न गच्छे नपुग्ने, ढंग नपुग्ने, समय नपुग्ने, कला नपुग्नेले कस्मेटिक संसारमा फस्नैपर्छ भन्ने छैन ।

प्रकाशित : माघ १०, २०८० ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?